पूर्व–पश्चिम राजमार्गको कमला–कञ्चनपुर सडक समयमै पूरा गर्न कांग्रेसको माग

लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुर सम्मको सडक खण्ड विस्तारमा ढिलाई हुँदा सर्वसधारणले सास्ती खेपिरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस लहान नगर कार्यसमितिले बिहिबार इलाका प्रशासन कार्यालय लहान मार्फत प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । कांग्रेसले समयमै काम सम्पन्न हुनुपर्ने माग गरेका छन् ।  

‘यो सडक खण्ड विगत तीन वर्षदेखि निर्माण व्यवसायी चाइना रेल्बे इन्जिनियररिङ्ग कम्पनी–२ले विस्तार गर्दै आइरहेको छ । पहिलो पटकको म्यादभित्र काम सम्पन्न नभएपछि फेरी एक वर्षको म्याद थप भएको बुझिएको छ । सो म्याद पनि सकिन लाग्दा काम गति लिएको छैन्,’ कांग्रेस लहान नगर सभापति संजय कुमार यादवले भने,‘सम्झौता अनुसार सडक खनेको स्थानहरुमा पानी छर्किरहेको छैन् । पानी नछर्किपछि अत्यधिक धूलो उडिरहँदा यहाँका सर्वसधारण जनताहरु मारमा परेका छन् । विरामी पर्न थालेका छन् ।’ सडकको काम समयमा नसकिएपछि छेउछाउँका व्यवसायीको व्यपार ठप्प भएको उनले सुनाए । 

सम्झौता अनुसार समयमै काम पूरा गर्न हामीले माग गरेको उनले बताए । उनका अनुसार यस कम्पनीले लहान नगरपालिकाको खुट्टिबाट नदी जन्य पदार्थ ढुवानी गरिरहेको छ । यहाँका वडा ११ र १४ का वस्तीहरुबाट ढुवानीका सवारी साधनहरु दिनँहु गुडाउँदा धुलोले स्थानीयहरु आक्रान्त भएका छन् । कम्पनीले गरेका सम्झौता अनुसार बाटोमा पानी नछर्किएको उनको गुनासो छ । 

हामीले उठाएको जनताको मागमा निर्माण व्यवसायी र सरकार गम्भीर नभए आन्दोलनमा उत्रिने नगर सभापति यादवले जानकारी गराए । आन्दोलनबाट हुने सम्भावित क्षतिको जिम्मेवार राज्य र कम्पनी हुने उनको भनाई छ ।

यही ध्यानाकर्षण पत्र लहान नगरपालिकाका मेयर महेश चौधरी र उपमेयर रामचलितर महतोलाई पनि बुझाएको छ ।  ध्यानाकर्षण पत्र बुझँदै मेयर र उपमेयरले चाइना कन्सट्रक्सनलाई तत्कालै सहमति अनुसार सडकमा पानी छर्किन ताकेदा गर्ने प्रतिक्रिया जनाएका छन् ।