ओरालो लागेको पूर्वी नेपालको गाउँ ‘बस्तीपुर’

बस्तीपुरका गिरि परिवार बसोबास गरेका घर । जुन अहिले खण्डहर बन्दै गएको छ । पूर्ननिर्माणको पर्खाईमा छ ।

सिरहा जिल्लाको एक गाउँ हो ‘बस्तीपुर’ । त्यसो त सिरहा जिल्लामा दुई तीन वटा बस्तीपुर छन् । व्यक्तिबाट परिवार, परिवारबाट समाज अनि समाजसँगै गाउँ, बस्तीको निर्माण हुन्छ । तर धेरैजसो बस्तीलाई ‘पुर’ जोड्ने चलन भने मधेसमा मात्र होइन पहाड, हिमालमा समेत पौराणिक चलन चल्तीको नै हो । बस्ती भएको ठाउँलाई ‘पुर’ किन जोडियो भन्ने खोज र अनुसन्धानको विषय बाँकी नै छ । यसतर्फ पनि अध्ययन अनुसन्धान हुन जरुरी छ । र, यसबारेमा पनि पछि खोज गरौंला । 

तर आज मैले उठान गर्न खोजेको विषय भने ‘पुर’ नभई ‘बस्ती’ को हो । अझ भनौं, त्यही ‘बस्ती’ र ‘पुर’ जोडिएको ‘बस्तीपुर’को बारेमा हो । चर्चित ‘बस्तीपुर’ अहिलेको रेखांकनमा लहान नगरपालिका–१४ नम्बर वडामा पर्छ । जसको  पृष्ठभूमि र इतिहासको हिसाबले बस्तीपुर एक ताका अत्यन्तै आभूषण बोकेको गाउँ थियो । उम्दो लहान सहरदेखि ५ किलोमिटर उत्तर पश्चिममा बस्तीपुर गाउँ अवस्थित छ । त्यही बस्तीपुरले देशको अनेकन राष्ट्रिय व्यक्तित्व देखि इतिहास बोकेको व्यक्तिहरुलाई जन्म दियो । त्यो गाउँ हो ‘बस्तीपुर’ । 

१९९७/९८ सालतिर यो गाँउको बसोबास सुरु भएको मानिन्छ । बस्तीपुरको संरक्षक र संस्थापकको रुपमा कुलदीप गिरि देखि गौरीनारायण गिरि, मित्रलाल गिरि सम्म थिए । राणा शासनकालको जुद्ध शमशेरको पालादेखि नेपाली कांग्रेसको शेरवहादुर देउवाको शासनकाल सम्म हरेक सत्ता र शासनमा यी गाउँका व्यक्तिहरुको उच्चतम पकड रहेको समाज र इतिहास साक्षी छ । 

कुलदीप गिरि खोटाङको सिम्पानि,बर्रेबाट सिरहाको बस्तीपुरमा बस्न थालेपछि उनले आफ्नो जीवनकालको उतराद्र्धसम्म ४२०० सय विघा जग्गा सम्पति जम्मा बनाएका थिए । कुलदीप गिरिको छोरामध्ये गौरि नारायण गिरि राणाशासन कालका शासकहरुको अत्यन्तै समीप र नजीकका व्यक्तिको रुपमा थिए । उनी त्यसताका पनि ठूलो समाजसेवीको स्पमा चर्चित थिए । जनकपुरको धार्मिक नगरीमा पनि अनेक धर्मशाला, धार्मिक कृतिहरु शिक्षा दिक्षातिर, समाजसेवातिर काम गरेका थिए । अहिले पनि मिल्स एरिया, रामाहोटलदेखि भानु चोकसम्म गिरिहरुको नै बर्चश्व रहेको बुझ्नेले बुझेका छन । तर अपसोचको कुरा उनी बस्तीपुरको मुख्य वासिन्दा हुँदा जति जनकपुर सहरलाई ध्यान दिए त्यत्ति बस्तीपुर लाई ध्यान दिएनन् । त्यसो त खासै नकारात्मक मूल्याङकन पनि उनको छैन लक्ष्मी नारायण मदीर, बस्तीपुर हाईस्कुल, नुहाईधुवाई गर्ने वस्तुभाउलाई पानी खाने स्थानको स्पमा सार्वजनिक पोखरी निमार्ण गरेका थिए ।

जनश्रुति र बूढापाका व्यक्तिहरुका अनुसार जुद्धशमशेर, पदम शमशेर र मोहन शमशेर सम्म राम्रो सम्बन्ध गौरी नारायण गिरिको थियो । उनले तन मनले चाहेको भए आफ्नो पालामा केहि न केहि उल्लेख कामहरु बस्तीपुरका लागि गर्न सक्थे । गिरि वंशको दोस्रो पुस्तामा रुद्रप्रसाद गिरि, डा. तुलसी गिरिहरुको २०१७ सालदेखि २०४५ सालसम्मको पञ्चायती शासनकालमा अत्यन्तै उच्चतम हालीमुहाली थियो । तिनीहरु पञ्चायती शासनकाल भरी नै आफ्नो वचश्र्व र प्रभुत्व कायम गर्न सफल थिए ।  राजादेखि प्रधानमन्त्री, मन्त्रीहरु, अञ्चलाधीशहरु, सी.डी.ओ., तत्कालीन जिल्ला पञ्चायत सभापतिहरु  डा. तुलसी गिरि र रुद्रप्रसाद गिरिको कुरा काट्न सक्तैनथे, तर बस्तीपुर उनीहरुको चलनचल्तिदेखि आजसम्म एउटा सामान्य गाउँ जस्तो छ । 

इतिहास निर्माणका सन्दर्भमा अवलोकन र समीक्षा गर्दा डा. ईश्वर बराल जो प्रथम श्रेणीको राष्ट्रका सहित्यकार तथा नेपाली कांग्रेसका संस्थापक सदस्य थिए । उनीद्वारा लिखित कृतिहरु आज पनि नेपाली साहित्यका विद्यार्थीहरुका लागि पी.एच.डी. र ए.म.ए. को पाठ्यकम मै छन् । उनका भाई त्यसबेलाका चर्चित इन्जिनियर अशोक बराल अमेरिकी सरकारको आहवानमा अमेरिकी योजनाहरु निमार्ण गर्न गएका थिए । जो आजपनि चर्चित इन्जिनियरको रुपमा अमेरिकामै छन । उनको अर्को भाई नेपालका सर्वश्रेष्ठ बाल विशषेज्ञ डा. मणिन्द्र रन्जन बरालको बारेमा सबैलाई थाहा छ । पदम नामेश्वर बराल जो २००४ सालदेखि बस्तीपुर हाई स्कूलको संस्थापक हेड मास्टरको रुपमा त्यसताका देशका १०–१५ जना नामी हेड मास्टरमा गनिन्थ्यो । 

साधारण आकडाका अनुसार कति इन्जिनियर र कति डाक्टर भन्ने गन्ति गरेर साध्य हुँदैन् । बराल परिवारमै डा. निर्मल बराल जो अहिले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन छन् । बराल परिवारकै निरन्जन बराल का.मु. गृह सचिव सम्म भएका थिए । खेमरन्जन बराल राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयमा महाप्रबन्धक सम्मको ओहदा पाएका थिए । गिरि परिवार कै अर्की चर्चित व्यक्तित्व प्रथम महिला चित्रकार डा. प्रमिला गिरि नेपाली कांग्रेसका ठूला नेता मित्रलाल गिरीका छोरी तथा वर्तमान सांसद प्रदीप गिरिका दिदी हुन् । पत्रकारिता विषयमा न्यूयोर्कबाट पी.एच.डी. गरेकी डा. मन्जुला गिरि समाज सेवाको नाउँमा आफ्नो सिंगो जीवन अविवाहित राखी हालसम्मा पत्रकारिता र महिला संस्थाहरु मार्फत लहान आश्रमदेखि लहान बजारसम्म हिडी रहनुभएको हुन्छ । राजेश अधिकारी एसएलसी बोर्ड सेकेण्डको रुपमा बस्तीपुरबाट उत्तीर्ण भैं नेपालको ठूलो अफिसरको रुपमा कार्यरत छन । 

मदन गिरि पञ्चायत कालका चर्चित अञ्चलाधीश पनि बस्तीपुरका गिरिहरुका खासै कुटुम्ब नै थिए । डाक्टर बानिरा गिरीजस्तो ठूला साहित्यकार पनि बस्तीपुरकै बुहारी हुन् । सरिता गिरि जो अनेक पटक सांसद र एक पटक मन्त्री हुँदा पनि नीजको बस्तीपुरसंग बुहारीको नाता भए पनि भावनात्मक सम्बन्ध कहिले पनि रहेको आफूलाई थाहा नभएको वताउँछन राम परिक्षण महतो । आफू १५ वर्षसम्म उनीसँग मधेसी पार्टीमा सँगै काम गर्दा पनि बस्तीपुरको विकासको वारे चर्चा पनि गरेको थाहा नभएको बताउँछन । 

स्थानिय ज्योतिष रामवृक्ष महतोका अनुसार राणाशासन, पञ्चायतकाल, बहुदल र लोकतन्त्र एवं गणतन्त्रकालमा पनि उनीहरुको उच्च पकड रहँदा पनि कहिले पनि उनीहरुले बस्तीपुरको उत्थानको बारे ध्यान दिएनन । खेलकुदका पूर्व अधिकृत एवं स्थानीय वुद्धिजीवि शिव नारायण साहका अनुसार बस्तीपुरमा एक से एक राष्ट्रिय व्यक्तित्वहरु भए पनि सामान्यरुपमा पनि बस्तीपुरमा एउटा राम्रो धर्मशाला, पाटी पौवा, विश्राम स्थल, मनोरञ्जन स्थल, संग्राहलय, पुस्तकालय, गाउँमा कालोपत्रे, कारखाना, अस्पताल स्थापना हुन सकेनन् । तर भयो के भने ‘खोलो तर्यो, लौरो बिस्र्यो’ भनेजस्तै भएको छ । 

अर्का वुद्धिजीवी अजय कुमार पासवानका अनुसार हाम्रो तीन पुस्ता गिरिहरुको कारिन्दाको रुपमा काम गर्दा आफुले यहाँका व्यक्तिहरुको विकास तथा जीवन व्यवस्थापन देखि बस्तीपुरको विकासमा समेत रत्तिभर ध्यान नदिएको बताउँछन । 

अर्को गिरिहरुको नजिकको पात्रको रुपमा रहेको व्यक्तिको रुपमा दाबी गर्ने फूलेश्वर रायका अनुसार  प्रदीप गिरिले चाहेको भए प्रधानमन्त्री जस्तै काम गर्न सक्थे तर उनले नचाहेर होला भन्नुपर्छ जनताले सोचेजस्तो काम नगरेको बताउँछन । आजपनि बस्तीपुर गाउँ विकास र उत्थानको बाटोको प्रतिक्षामा छ । स्थानीय अनिल साहका अनुसार गिरि र बराल परिवार देश विदेशमा चर्चित छन् तर ‘बत्तिमुनीको अध्यारो’ भने झैं बस्तीपुरको दुदर्शा ‘कालो वादल मडारिए’ झैं मडारिएको अवस्थामा गुज्रिरहेको छ ।

लेखक राउत अधिकारकर्मी हुन् । उनी लहान नगरपालिका २४ गोविन्दपुर झुटकी निवासी हुन् ।