नयाँ राजनीतिक दल खुल्यो ‘नेपालका लागि नेपाली’ (प्रेस विज्ञप्तीको पूर्णपाठसहित)

लहान । नेपालमा थप नयाँ राजनीतिक दल खुलेका छन् । डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपालका लागि नेपाली पार्टीको नामको दल खुलेका छन् । जसमा राष्ट्रिय अध्यक्ष बालकृष्ण न्यौपाने र प्रवक्तामा डाक्टर विजयप्रसाद मिश्र रहेका छन् । 

उक्त राजनीतिक दलले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्रीय प्रणाली, निर्वाचन प्रणालीमा व्यापक सुधार र भ्रष्टाचारीलाई निर्वाचनबाटै परास्त गर्ने नारा दिएका छन् । 

हामी नेपालका लागि नेपाली निर्वाचन आयोगमा विधिवत दर्ता भई नागरिकको घरदैलोमा नयाँ सोचका साथ मुलुकमा हिंसा, भ्रष्टाचार र लुटतन्त्रमा आधारित राजनैतिक बेथितिलाई अन्त्य गरी मानवतावाद स्थापित गर्न अपरिहार्य भएको महसुस गरी मुलुकको राजनैतिक बिकल्प मात्रै नभएर मौलिक राजनैतिक मूलधार पार्टीको रुपमा स्थापित हुने लक्ष्य साथ अघि बढेको पनि जानकारी विज्ञप्तीमा गराइएको छ । 

सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था कायम गर्ने, सांसद मन्त्री बन्न नपाउने व्यवस्था कायम गर्ने, विदेशमा बस्ने नेपाली नागरिक समेतले मतदान गर्न पाउने, सांसद संख्या ११५ सम्म मात्रै कायम गर्ने र स्थानीय तहको निर्वाचन दलिय आधारमा नभएर व्यक्तित्वको आधारमा गर्ने लगायत आफ्ना उद्देश्यहरु विज्ञप्तीमा उल्लेख गरेका छन् । 

पंचायतकालदेखि आजसम्म सत्तामा बसेका राजनीतिज्ञ र उच्च तहका कर्मचारीहरुको सम्पतिको छानबीन गरी दोषीलाई कानून बमोजिम कडा सजाय गरी घुष खाएर, भ्रष्टाचार गरेर वा राज्य संयन्त्रको दुरुपयोग गरेर कमाएको सम्पति जफत गरी गरीबी निवारण, युवाहरुको रोजगारी एवं शिक्षा र स्वास्थ्यमा लगाउन एक शक्तिशाली र निष्पक्ष नागरिक आयोग स्थापना गर्ने बताएको छ ।