उपमेयर रामचलितर महतोको व्यवहारबाट आजित भएर लहान नगरपालिकाका कर्मचारी र शिक्षक आन्दोलित

लहान । स्थानीय सरकार सञ्चालन ऐनले तोकेको कार्यक्षेत्र भन्दा बाहिर गएर लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कर्मचारी र शिक्षकहरुलाई अभद्र व्यवहार गर्न थालेपछि कर्मचारीहरु आजित भएर आन्दोलित भएका छन् ।

सोमबार कार्यालयको समयमा प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको कार्यकक्षमा नै गएर उपमेयर महतोले रकम लेनदेनको झुठा, तथ्यहीन आरोप लगाएको कर्मचारीहरुको भनाई छ । कर्मचारी शिक्षकहरुले मगंलबार  ज्ञापन पत्र बुझाउँदै आरोप प्रमाणित गर्न वा प्रमाणित गर्न नसके सम्पूर्ण आरोप लगाएका शब्दहरु अबिलम्ब फिर्ता लिन अनुरोध गरेको छ ।

उपमेयर, मेयरलाई ज्ञापनपत्र बुझाइएको छ । विद्यालयका शिक्षक, नगरपालिकाका शाखाका कर्मचारीहरुलाई उपमेयरबाट पटक पटक अपमानजनक व्यवहार भइरहेको ज्ञापनपत्रमा उल्लेख छ । 

यसैबीच, ज्ञापन पत्र बुझेपछि तत्कालै कार्यपालिका बैठक बोलाएको मेयर महेश चौधरीले जानकारी गराए । कर्मचारी र शिक्षकहरुको मागलाई कार्यापालिका बैठकबाट निक्र्यौल गर्ने उनले सुनाए ।

कार्यापालिका बैठकबाट उचित निर्णय नभए थप आन्दोलित हुने कर्मचारीले बताएका छन् । आन्दोलनबाट पर्ने असुविधाको जिम्मेवारी उपमेयर महतोले लिनुपर्ने उनीहरुले सुनाए ।