लहानको बानो गाउँमा मधेस प्रदेशको पहिलो ‘थारु होम स्टे’ 

लहान । सिरहाको लहान नगरपालिका–१५ बानो गाउँमा मधेस प्रदेशको पहिलो ‘होम स्टे’ सुरु भएका छन् । बानो गाउँ थारु सामुदायिक होम स्टे सञ्चालनमा आएपछि चहल पहल बढ्ेका छन् । घरका भिताहरु रंगिएको छ । स्थानीय स्तरमा रोजगारी सृजना, संस्कार र संस्कृति झल्काउने उद्देश्यले होम स्टे सुरु गरेका छन् । 

१०८ घर थारु समुदायको वस्ती रहेको यो गाउँमा सुरु चरणमा ११ घरमा आगन्तुकको लागि बसोबासको व्यवस्था मिलाइएको छ । होम स्टे सञ्चालनका लागि समिति बनाइएको छ । जसमा अधिकांश महिलाहरु छन् । उनीहरुलाई सुरुमा नगरपालिकाले तालिम र अन्त ठाउँठाउँका होम स्टेहरु निरिक्षण गराएका छन् । सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले ३५ लाख बजेट विनियोजन गरेका छन् । भवनका लागि २ कठ जग्गा स्थानीय मुक्ति चौधरी, अच्छमितलाल चौधरी र समुझलाल चौधरीले दान गरेका हुन् ।   

‘चितवन, उदयपुर लगायतका ठाउँठाउँमा घुम्दा आफ्नो वडामा पनि यस्तै होम स्टे स्थापना गरेर महिलाहरुलाई रोजगारीमा लगाउने सोच आएको थियो । सोही अनुसार काम अगाडी बढाएका छौँ,’वडा अध्यक्ष तेजनारायण चौधरीले भने,‘स्थानीय उत्पादनलाई अधिकतम प्रयोग गरी यहाँ खाने परिकारहरु बनाइन्छ । जसले आगन्तुकलाई स्थानीय स्वाद प्रदान गराउँछ ।’ थारु समुदायको परिकार तेलपुरी, चामलको भुजा, बगिया, घोघीँ, लोकल परेवा, कुखरा मासुलगायत उपलब्ध रहेको उनले सुनाए । 

आधुनिकीकरणले गाउँमा रोजगारी गुम्दै गएकोले होम स्टेले आशा पलाएको स्थानीय रुद्रनारायण चौधरीले सुनाए । ‘हामीले यहाँ ढिकीमा कुटेको च्युरा खुवाउँछ । जुन मिल आउँदा पाउन मुस्किल भएको छ । अर्गायानिक तरकारीहरु होम स्टेमा रहेको छ,’चौधरीले भने,‘यस वडाका सबै पर्यटकीय स्थल पनि होम स्टेबाट घुम्न सजिलो हुन्छ ।’

यस वडामा हात्ती दह, राजदेवी मन्दिर, गोसाई डाँडा ताल, नमूना मुसहर वस्ती छन् । ‘लहान बजारबाट नजिकै छ । यहाँका महिलाहरु पनि जागरुक छन् । बजार भन्दा गाउँमा रोजगारी सृजना हुनेछ,’मेयर महेश चौधरीले भने,‘हामीले होम स्टेका रहेका ठाउँमा सडक पूर्वाधार पुगाएका छौँ । अझैपनि बाँकी रहेका ठाउँमा काम हुँदैछ ।’ बाटो सहज भएकोले होम स्टे प्रगति गर्ने उनको विश्वास छ ।