गर्भवति महिलालार्ई लहान नगरपालिकाको पोषण प्याकेज ‘सनेस’ : ठूलो सन्देश

लहान । लहान नगरपालिकाले गर्भवति महिलालाई पोषण प्याकेजमा हरेक महिनाको २२ गते खाद्यान्न वितरण गरिरहेका छन् । बिहिवार पनि वडा नम्बर १६ र १७ का गर्भवति महिलाहरुलाई पोषण प्याकेज वितरण गरेका छन् । वितरण कार्यक्रममा मेयर महेश चौधरीसँगै वडा–१७ का वडाअध्यक्ष प्रथमलाल चौधरी पनि सहभागी थिए ।  

स्वास्थ्य चौकीमा वितरण गरिएका पोषण प्याकेज ३० जना गर्भवति महिलाले पाएका छन् । स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य चेकजाँच गराइरहेका महिलाहरुको रेकर्डको आधारमा वितरण भएको छ । प्याकेज वितरण भइरहेको खबर पाएपछि थप केही महिलाहरु स्वास्थ्य चौकीको सम्पर्कमा आएका छन् । उनीहरुको रेकर्ड नगरपालिकामा पठाएर थप खाद्यान्न वितरण गरिने जनाएको छ । 

पोषण प्याकेजमा १० किलो चामल, दाल, तेल, नुन, मटर, चना वितरण गरिएका छन् । यो पोषण प्याकेजमा थोरै खाद्यान्न देखिएपनि यसले ठूलो सन्देश प्रवाह गरेको मेयर महेश चौधरीले बताए । 

‘प्याकेज वितरण नभइरहेको सयममा गर्भवति महिला दिदीबहिनीहरु स्वास्थ्य संस्थामा नियमति स्वास्थ्य चेकजाँच गराउन झन्झट मानिरहेका थिए,’उनले भने,‘यो प्याकेजले उहाँको नियमितता गराएको छ । भविष्यमा जन्मिने बच्चा स्वस्थ्य रहन कस्तो खानपान रहनुपर्ने जानकारी पनि सन्देशको रुपमा दिइदै आएको छ ।’ यो गर्भवति महिलालाई आफन्तबाट आउने ‘सनेस’ कै रुपमा खाद्यान्न वितरण बुझ्न आग्रह गरेका छन् ।

आफु मेयरमा निर्वाचित भएदेखि नै यो पोषण प्याकेज लागु गरेको उनले जानकारी दिए । हाल सम्म २४ वटै वडामा एक/एक पटक यो प्याकेज पुगेको उनले बताए । यो निरन्तर चलिरहने उनले सुनाए ।