कमला–कञ्चनरुप राजमार्ग खण्डको ५० प्रतिशत काम सम्पन्न

छिटो भन्दा छिटो राजमार्गको निर्माण कार्य सम्पन्न होस भन्ने कम्पनीको चाहना 

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको राजमार्ग विस्तार तीब्र रुपमा भइरहेको छ । एशियाली विकास बैंक (एडिबी) को सहुलियत व्याजदरको ऋण लगानीमा विभिन्न खण्डमा कल्भर्ट, पुल निर्माण र सडक बिस्तार भइरहेको हो । अहिलेसम्म राजमार्ग विस्तारको काम ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
    
सडक विभागको एडीबी निर्देशनालयका अनुसार करिब १५ अर्ब रुपैयाँमा काम सक्ने गरी चिनियाँ कम्पनी चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुपले राजमार्ग विस्तारको दुवै खण्डमा ठेक्का लिएको हो । कम्पनीले ठेक्का पाएसँगै निर्माणले तीब्रता पाएको छ । करिब ८७ किलोमिटरको यो सडकको बीचमा ‘मेडियन’ (डिभाइडर संरचना) निर्माण गरिनुका साथै दुईतर्फ ७–७ मिटर र एउटा लेन साढे ३ मिटरको रहने जनाइएको छ । 

कमला–कञ्चनपुर राजमार्ग खण्डको बजार क्षेत्र बाहिर पर्ने ६८ दशमलव ११ किलोमिटर खण्ड चार लेन र कञ्चनपुर, जन्डोल, बीरेन्द्रबजार, रुपनी, शम्भुनाथ, लहान, गोलबजार, मिर्चैया र बन्दीपुरमा गरी कुल ३२ दशमलव ६ किलोमिटर खण्ड ६ लेनको रहनेछ । लहान र रुपनीमा अन्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुल समेत बनाइने ग्रुपले जनाएको छ । 

चिनिया कम्पनीले निर्माणमा प्रयोग हुने केही सवारीदेखि अन्य सामान चीनबाटै ल्याएको छ । कम्पनीले राजमार्ग खण्डमा चाहिने प्रि–कास्ट कल्भर्ट र  प्रि–कास्ट ब्रिज कम्पनीको यार्डमा अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरेको छ । त्यसरी निर्माण गरिएको प्रि–कास्ट कल्भर्ट र ब्रिज सिधैं राजमार्ग निर्माणमा जडान गर्दै आएको छ । 

कम्पनीले स्थानीय जनशक्तिलाई पनि निर्माणमा खटाएको छ । राजमार्ग निर्माणमा चिनियाँ र नेपाली दुवै प्राविधिक जनशक्ति खटिएका छन् । कम्पनीको गत महिनाको तथ्यांक अनुसार १ हजार २ सय ८४ नेपाली जनशक्तिले काम गरेका छन् । 

राट्रिय गौरवको योजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका प्रशासनिक अधिकृत झु क्वीनसेङले राट्रिय गौरवको योजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

उनले यहाँको जनस्तर बढाउनमा कम्पनीको ठूलो विशेषता रहेको र अब कम्पनीले छिटो भन्दा छिटो राजमार्गको निर्माण कार्य सम्पन्न होस भन्ने ठूलो ईच्छा आफुहरुको रहेको बताए । राजमार्ग क्षेत्रमा बिधुत पोल लगायत संरचनामा खाली गराउन ढिलाई हुँदा काममा ढिलाई भएको कम्पनीले जनाएको छ । तर राजमार्ग विस्तार कार्य तीब्र रुपमा भइरहेको उनले जानकारी दिए ।