कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना छ : डा. डिला संग्रौला

लहान । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना प्रवल भएको बताएकी छन् । यस विषयमा पार्टी र बाहिर पनि चर्चा सुरु भएको उनले सुनाईन । 

मंगलबार सिरहाको लहानमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएको बताएकी छन् । ‘कांग्रेसलाई दुई र एमालेलाई एक पटक माओवादीले धोका दिएको छ । जनताको माइण्डेड अनुसार काम पनि प्रचण्डले हुन दिएको छैन,’उनले भनिन,‘अब कांग्रेस र एमालेले मिल्नुपर्ने मत र प्रतिक्रिया आइरहेको छ । सोही अनुसार अब पार्टी मुभ गर्ने सम्भावना छ ।’

सुन तस्करी र सहकारी पीडितलाई न्याय दिन अपराधमा संग्लन सबै अपराधीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताईन । सहकारी ठगीमा गृह मन्त्री रवि लामिछानेमाथि उजुरी परेकोले तुरुन्त राजीनामा गर्नुपर्ने कांग्रेसको माग रहेको उनले जानकारी दिए । 

जनताको मुद्दालाई सम्बोधन गर्ने कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने उनले पत्रकारहरुलाई सुनाएका छन् । कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ । 

पत्रकार भेटघाटमा अर्का केन्द्रीय सदस्य मन्जु यादव, कांग्रेस क्षेत्र नं. १ सभापति तथा मेयर महेश चौधरी, प्रदेशसभा (क) सभापति सन्तोष उपाध्याय, प्रेस युनियन मधेस प्रदेश उपसभापति रमिता नेपाल, जिल्ला सभापति निर्मला दाहाल लगायत अतिथिहरु उपस्थित थिए ।