लहान नगरपालिकाद्वारा मेनहर्बा मुसहर समुदायलाई नयाँ घर हस्तान्तरण

लहान । सिरहाको लहान नगरपालिकाले सुरक्षित आवास कार्यक्रमअन्तर्गत मुसहर समुदायलाई नयाँ घर हस्तान्तरण गरेका छन् । वडा–१५ मा ३८ र वडा–१२ मा १२ गरी ५० घरपरिवारलाई उक्त घर हस्तान्तरण गरिएको हो । घर पाएपछि उनीहरू खुशी भएका छन् ।

आर्थिक वर्ष ०७९/०८० मा नगरपालिकाले १ करोड रुपैयाँ घर निर्माणका लागि विनियोजन गरेको थियो ।  त्यसमा गैरसरकारी संस्था हिल्टी फाउडेशनको सहयोगमा ह्याबिटेट फर हुम्यानीटि नेपालले १ करोड थप सहयोगले घर निर्माण भएको मेयर महेश चौधरीले सुनाए । उनका अनुसार यसवर्ष फेरि ६० वटा घर निर्माण गरिने बजेट विनियोजन भएको छ । घर निर्माणमा भावनी एकिकृत विकास केन्द्रले प्राविधिक सहयोग गरेका थिए ।  

हस्तान्तरण गरिएको घरमा दुई बेड रुम, भान्सा कोठा र शौचालय छन् । हस्तान्तरण कार्यक्रममा मेयर चौधरीसहित उपमेयर रामचलितर महतो, वडा अध्यक्ष तेजनारायण चौधरी, बद्री चौधरी, रासलाल राय र दातृ संस्थाका प्र्रतिनिधिहरुको उपस्थिति थियो ।  चालु आवमा वडा १३, २१ र २२ मा ६० घर निर्माण गरि मुसहर समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको मेयर चौधरीले जानकारी गराए । 

घर जग्गाको लालपुर्जा वितरण उद्देश्यले नगरपालिकाले वडा–१५ मा ६७६ र वडा–१६ मा ३७६ जनालाई निस्सा वितरण गरेका छन् । केही महिनाभित्रै सबैलाई लालपूर्जा प्रदान गरिने जनाएको छ ।