‘राष्ट्रिय मेलमिलापको सान्दर्भिकता अझै उस्तै छ’

-

सिरहा । ४८ औँ राष्ट्रिय मेलमिलापको अवसरमा आइतबार सिरहाको लहानमा स्कुल अफ डेमोक्रेसी जिल्ला समितिले एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रको विकास र निकासको लागि अझैपनि राष्ट्रिय मेलमिलापको सान्दर्भिकता उस्तै भएको बताएका हुन । 
कार्यक्रममा प्रमुख अतिथि रहेका लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले तत्कालीन समयमा बीपी कोइरालाले राष्ट्र जोगाउनको लागि राजा र कांग्रेस मिलेकोे सन्दर्भ उल्लेख गर्दै अहिले पनि लोकतन्त्रलाई मजबुत बनाउनको लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने बताए । “लोकतन्त्रलाई मजबुत बनाउनको लागि कांगेस पार्टी मजबुत हुन आवश्यक पर्दछ,” उनले भने, “त्यसैले हामीले जनतासँग जोडिएर राम्रा काम गरि रोजगारी र विकासका काम अघि बढाउँन जरुरी छ ।” सम्पूर्ण कांग्रेसका कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न पनि उनले आह्वान गरे । 
त्यसैगरि राजनीतिक विश्लेषक डा. नमोनारायण झाले राष्ट्र समृद्ध भएमात्र कांग्रेसका संस्थापक नेता बीपीको  राष्ट्रिय एकता र मेलमिलापको औचित्यता हुने धारणा राखे । साथै उनले लोकतन्त्रको प्रमुख दुश्मन गरिबी र भ्रष्टाचार भएकाले सबै राजनीतिक दल, बुद्धिजिवी लगायत एकढिक्का भई देशलाई समृद्ध बनाउँन आवश्यक रहेको बताए । 
कार्यक्रममा प्राध्यापक धरणीधर अधिकारी, जनता समाजवादी पार्टी नेपालका नेता एवं अधिवक्ता जीतेन्द्र प्रकाश महतो, लहान नगरपालिकाका पूर्व नगरप्रमुख एवं एमालेका नेता प्रकाश केसी, नेपाल प्रेस युनियन मधेस प्रदेश समितिका उपाध्यक्ष रमिता नेपाल, स्कुल अफ डेमोक्रेसी सिरहाका सभापति उद्धव हमाल लगायतले बीपीले लिएको राष्ट्रिय एकता र मेलमिलापको औचित्यको बारेमा चर्चा गरेका थिए । 
पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४८ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।