पाँच बुुँदे घोषणा पत्र जारी गर्दै हरवा चरवा सम्मेलन सम्पन्न

सिरहा । मुक्त घोषित हरवा चरवाहरुले उनीहरुको तथ्यांक संकलन गरी प्रमाणिकरण र परिचय वितरण गर्न सरकारसँग माग गरेको छ । हरवा चरवाहरुको सिरहाको लहानमा सम्पन्न जिल्ला सम्मेलनले हरवा चरवाहरुको तथ्यांक संकलन गरी प्रमाणिकरण र परिचयपत्र वितरण गर्न मागसहित शुक्रबार पाँच बुँदे लहान घोषणा पत्र जारी गरेको हो ।


मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्थानीय सरकारको समन्वयमा मधेस प्रदेशको सबै जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन गरी प्रमाणिकरण र परिचयपत्र वितरण गरिने उल्लेख गरेको थियो । घोषणा पत्र सार्वजनिक गर्दै हरवाचरवा अधिकार मञ्च सिरहाका अध्यक्ष चलितर मण्डलले मुक्त घोषित हरवा चरवाको लगत संकलन, प्रमाणीकरण, वर्गीकरण र परिचयपत्र वितरण तत्काल थाली पुनः स्थापनाको प्याकेजसहित काम थालिनु पर्ने माग गरे ।  


सम्मेलनमा जारी ‘लहान घोषणा पत्र–२०८०’ मा जिल्लाका विभिन्न स्थानीय तहहरुमा विकास निर्माण, बाटो बिस्तार लगायतको नाममा भइरहेको उठीबासका घटना तत्काल रोकी बिकल्पसहित हरवा चरवा, भूमिहीन  दलित, भूमिहीन  सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गरिनु पर्ने माग गरेको छ । 


मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्रबाट हरवा चरवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि सामूहिक खेती कार्यक्रमका लागि हरवा चरवाले दिएको निवेदनको आधारमा छनौट गरिनु पर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको वार्षिक नीति कार्यक्रम तथा बजेटमा हरवा चरवाको बैकल्पिक रोजगारीका लागि आवधिक सीपमूलक तालिमको व्यवस्था गरिनु पर्ने घोषणा पत्रमा माग गरिएको छ । 


त्यस्तै, हरवा चरवा बस्तीमा आधारभूत सेवा अन्तर्गत पर्ने खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य चौकीको व्यवस्था गरिनु पर्ने, नागरिकताविहीन हरवा चरवा दलितहरुलाई यो वा त्यो नाममा नागरिकता नदिने षड्यन्त्र तत्काल बन्द गरी सहज ढंगले नागरिकता दिने व्यवस्था गरिनु पर्ने माग गरिएको छ । 


मण्डलको नेतृत्वमा नयाँ नेतृत्व


सम्मेलनको बन्द सत्रले आगामी तीन वर्षे कार्यकालका लागि चलितर मण्डलको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा जमुनी सदा, सचिव राधा चौधरी, कोषाध्यक्ष ईश्वरवती राम, सहसचिव हरी राम चयन भएका छन् ।


त्यसैगरी सदस्यहरुमा सुनीता सदा, पुकारी मोची, परमेश्वर मण्डल, सविता पासमान, जीतनी सदाय, श्यामसुन्दर सदाय, पानोदेवी सदाय, विष्णुदेवी सदाय, प्रमिलादेवी राम र अमेरिका सदाय चयन भएका छन् ।