टयुसन कक्षाले पढ्न उत्साहित हुँदैं दलित बालबालिका

-

लहान । धनगढीमाई नगरपालिका–१ बाखरका अन्जनी कुमारी पासमानको घर छेउँकै विद्यालयमा कक्षा ४ मा नामांकन छ । जनता आधारभूत विद्यालय बाखरमा अध्ययनरत छात्रा रोल नम्बर २ की उनी कहिलेकाही मात्र विद्यालय टेक्थिन । विद्यालयमा नामांकन भएपनि उनी केही समय पहिले पढ्न र स्कुल जानुपर्छ भनेपछि झर्को मानेर आकलझुकलमात्र विद्यालय पुग्थिन् । 
तर उनी अहिले बिहान सबेरै उठ्छिन, ७ बजेदेखि दुई घण्टा ‘टयुसन कक्षा’ भ्याउँछिन, फेरि १० नबज्दै विद्यालय पुग्छिन् । एक वर्षदेखि उनको दिनचर्यासँगै अन्जनीमा आएको परिवर्तन देखेर उनका बुबा गोविन्द र आमा बुधनी दंग छन् । कक्षा ५ का रितिक कुमार पासमान पनि गाउँछेउँमै विद्यालय भएपनि  आकलझुकलमात्र विद्यालय पुग्थे । 
अन्जनी र रितिकमात्र होइन ५० घरधुरी दलित पासमान समुदायको बसोबास रहेको बाखरका ४५ बालबालिका विद्यालयमा नामांकन भएपनि कहिलेकाही मात्र विद्यालय टेक्थे । अभिभावक दिनभरी मजदुरी गर्न बाहिर जाँदा उनीहरु टोलमैं खेलेर दिन बिताउँथे । तर अहिले पासमान टोलका विद्यालय नजाने बालबालिका भेटिन्दैनन बस्तीमा । 
दलित बस्तीका यी बालबालिकालाई रमाइलो मानेर स्कुल जाने र ट्युसन पढ्ने वातावरण भने दलित जनकल्याण युवा क्लबले बनाई दिएको हो । विविध समस्याका कारण विद्यालय जान र पढ्न खासै रुची नगर्ने दलित समुदायका बालबालिकालाई ‘द फ्रिडम फण्ड’को आर्थिक सहयोगमा पठनपाठनदेखि आवश्यक शैक्षिक सामग्री सहयोग गर्न थालेपछि परिवर्तन देखिन थालेको क्लबका अध्यक्ष उमेशकुमार बिसुन्केले जानकारी दिए ।
अभिभावक काममा जाँदा खाली समय खेलेर नै बिताउने गरेका दलित बालबालिकाले अब त्यो समयमा ट्युसन पढ्न थालेपछि विद्यालयमा पनि नियमित जान थालेको उनले बताए । बाखरमा सञ्चालित ट्युसन कक्षामा ३० बालबालिका पढ्छन् । सबै बालबालिका जनता आधारभुत विद्यालयमा बाखरमा पढ्छन् । 
सुरु सुरुमा पासमान, मुसहर बालबालिकालाई विद्यालय पठाउन हम्मे हम्मे परेको उनले सुनाए । ‘विद्यालयमा भर्ना गराएपनि पढ्न नियमित जादैनथियो,’ उनले भने ‘त्यसपछि उनीहरु पढ्नलाई आकर्षित होस भनेर निःशुल्क रुपमा ट्युसन कक्षा सञ्चालन ग¥यौं ।’ 
कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुची नगर्ने गुनासोपछि क्लबले हरवाचरवा, सुकुम्बासी, भूमिहिन दलित समुदायका बालबालिकालाई स्कूल पोशाक, स्टेशनरी र झोला वितरण गर्न थालेको अध्यक्ष बिसुन्केको भनाइ छ । ‘विद्यालय बाहिर रहेका, नाम लेखाएर पनि स्कूल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गरी विद्यालयमा पहुँच पु¥याउनु हाम्रो मुख्य उद्देश्य थियो’, उनले भने, ‘सानो सहयोग गर्दा पनि अहिले विपन्न दलित बस्तीका बालबालिकामा पढ्न र नियमित विद्यालय जान केही सहयोग पुगेको छ ।’
बालबालिकाका अभिभावकले पनि ट्युसन पढ्न र विद्यालय जान आवश्यक सहयोग प्राप्त भएकाले आफूहरुलाई सहज भएको बताएका छन् । अन्जनीका बुबा गोविन्द पासमान भन्छन् ‘दैनिक गुजाराको लागि ज्यालामजदुरी गर्नुपर्ने बाध्यताका कारण छोराछोरीको पठनपाठनमा लगानी गर्न समस्या हुने गरेको थियो, तर अहिले सहज भएको छ ।’
स्कूलमा खेलकुद सामग्रीको उपलब्धता, दिवा खाजा कार्यक्रम, छात्रवृत्तिमा पहुँच, विद्यालय पोशाक, झोला र स्टेशनरीको उपलब्धता तथा बस्तीमा गठन भएका हरवाचरवा महिला समूह र तीनको परिचालनले पनि दलित समुदायका बालबालिकालाई विद्यालय जान आकर्षित गरेको जनता आधारभूत विद्यालय बाखरका प्रधानाध्यापक विनोद साहले बताए ।
प्रधानाध्यापक साहले दलित समुदायका बालबाललिका सकेसम्म स्कूल नआउने र आए पनि बीचमै कक्षा छोड्ने समस्या रहेकामा अहिले धेरै सुधार भएको बताए । ‘करिब ५० प्रतिशत दलित विद्यार्थी बीचमै कक्षा छोड्थे’, उनि भन्छन, ‘अहिले क्लबले सहयोग गरेका कारण नियमित विद्यालय आउने संख्या बढेको छ ।’