सामुहिक बचतले फेरिदैँ अहालेका मुसहर महिलाको जीवन स्तर

लहान । गाउँघरमा जमिन पास(दृष्टिबन्धक) र कपाली कागज गरेर पनि ऋण पाउन मुसहर समुदायका गरिब मजदुरलाई धेरै कठिनाई हुन्छ । तर, गाउँमै समुह बनाएर धनगढीमाई नगरपालिका–१२ अहालेका महिलाहरु त्यस्तो झन्झटबाट छुटकारा पाएका छन् । 

उनीहरु समुहमै महिना/महिनामा पैसा जम्मा गर्छन । काम परेकोले त्यही समुहबाट बिना धितोको ऋण लिन्छ । काम सकाउँछ । कमाएर ऋण तिर्छन । ‘समुह गठन भएदेखि हामीलाई छोराछोरीलाई पढाउन र विरामी परेको बेला उपचार गराउन सहज भएको छ,’दुर्गा महिला छलफल केन्द्रका अध्यक्ष भुटी सदायले भनिन,‘आफु नपढेपनि छोराछोरीलाई विद्यालय पठाइरहेका छौँ । स–साना काम हामी समुहकै पैसाबाट काम चलाउने गर्छौ ।’

एक्सन–एड नेपालको सहयोगमा दलित जनकल्यण युवा क्लब लहान–१० गुदिगाउँले स्थानीय अधिकार कार्यक्रम अन्तर्गत यहाँका महिलाहरुलाई समुह बनाएर तरकारी खेती, ब्राखा पालन, बचत र अधिकारका विषयमा सचेतना जगाइरहेका छन् । 

संस्थाले घुम्ती कोष स्थापनाका लागि २५ हजार नगद, ब्राखा पालनका लागि ब्राखा र आयआर्जनका लागि समुहमा सिटी रिक्सा, खानेपानीका लागि ट्यांकी सहयोग गरेका छन् । 

पाँच हजार ऋण लिएर झबरी सदायले तरकारी खेती लगाएका छन् । २० हजार ऋण लिएर सिवर्ती सदायले गोरु किनेका छन् । ‘महिनाको ५ गते १०० रुपैयाँ दरले हामी बचत गर्छौ,’झबरी सदायले भनिन,‘ब्राखा पालनबाट ३०/३५ हजार घरैपिच्छे आम्दानी गर्न सफल भएका छौँ । समुहले पाएको सिटी रिक्साले गाउँका विरामीलाई पनि अस्पताल पुर्‍याउन सहयोग भएको छ ।’ गाउँका मुसहर समुदायका कोही विरामी पर्दा निःशुल्क सिटी रिक्साबाट अस्पताल पुर्‍याउने गरेका छन् । 

यहाँका २२ घरका महिलाहरु समुहमा आबद्ध छन् । ‘संस्थाको २५ हजार सहयोग र हामीहरुको बचतले ८९ हजार पुगेको छ,’ सोही समुहकी सिवर्ती सदायले भनिन,‘हामीलाई समस्या पर्दा समुहमै छलफल गर्छौ । ज्याला बढाउन आन्दोलन पनि गर्‍यौ । हाम्रो ज्याला पनि बढेको छ तर, महिला र पुरुषबीच ज्यालामा अहिले पनि पूर्ण रुपमा विभेद हट्न सकेको छैन ।’ समुहमा आबद्ध भएदेखि बानी व्यवहारमा परिवर्तन आएको महसुस भएको उनले सुनाईन ।