‘मेयर महेश चौधरीलाई बदनाम गराउन अफवाह फैलाइयो’

लहान । बर्दिवास र जनकपुर जस्तै म्याजिक र उइगंरलाई व्यवस्थित गर्न लहान नगरपालिकासँग माँ सखरा यातायात प्रालिले स्टेण्ड सञ्चालन गर्ने अनुमति माग्यो । सोही अनुसार नगरपालिकाले दियो । 

त्यसपछि लहानका सगरमाथा यातायात प्रालि, सलहेश यातायात प्रालि, लहान फुलबारी यातायात प्रालि सबै संयुक्त रुपमा बैठक बसी लहान–१ देखि पश्चिम चल्ने म्याजिक र उइगंर सवारीहरु माँ सखरा यातायात प्रालिको माध्यमले चलाउने सर्वसम्मतिले निर्णय गरेका छन् । सोही अनुसार म्याजिक र उइगंर यातायात व्यवसायीले सवारी साधन चलाउँदै आएका छन् । 

लहानबाट सञ्चालित म्याजिक र उइगंरलाई बर्दिवास र जनकपुरमा यात्रु बोक्ने पालो नदिएपछि यहाँपनि विवाद सुरु भएको छ । ‘मोहन कार्की अध्यक्ष रहेको माँ भवानी यातायात सेवा प्रालिले बर्दिवासमा स्टेण्ड सञ्चालन गरिरहेका छन् । जनकपुरमा अर्को छ,’ यातायात व्यवसायी राम अपतार महतोले भने,‘माँ सखरा यातायात प्रालिमा आवद्ध रहेका म्याजिक र उइगंरलाई बर्दिवासमा यात्रु बोक्ने पालो दिँदैन । जनकपुरमा १२ बजेपछि दिन्छ । कहिलेकाँही त्यो पनि दिदैन ।’ उनका अनुसार बर्दिवासमा चार्चिङ्ग स्टेसन छ । तर, म्याजिक रोक्न पनि दिदैन ।

‘जनकपुरमा प्रत्येक सवारीबाट १५० र बर्दिवासमा १०० रुपैयाँ लिने गरेको छ । पैसा तिरेर पनि हामीलाई पालो दिँदैन,’महतोले भने,‘हामीले सबै सवारी साधनलाई पालो दिन्छौँ । तर, वास्तविकता नबुझी लहानका मेयर महेश चौधरीलाई विभिन्न व्यक्तिहरुले सुनियोजित रुपमा लागेको छ ।’ रुट इजाजत यातायात कार्यालयले दिएको छ तर, नगरपालिकाले यस्तो दियो भनेर गलत प्रचार भइरहेको उनले बताए ।     
     
मेयर महेश चौधरीलाई बदनाम गराउन उइगंर र म्याजिकको लागि स्टेण्ड सञ्चालन विषयमा अनावश्यक रुपमा जोडेर विभिन्न व्यक्तिहरुले अफवाह फैलाउँदै आएको यातायात व्यवसायीहरुको भनाई छ । रुपैयाँ खुवाएको कुरा झुठो रहेको उनीहरुले बताए । यहाँका यातायात व्यवसायीको हितमा मेयर चौधरीले काम गर्दा केही गलत व्यक्तिहरुले सर्वसधारणमा भ्रम फिजाउने कार्य गरिरहेको उनीहरुको तर्क छ । सत्य तथ्य बुझी समाचार सम्प्रेषण गर्न उनीहरुको आग्रह छ ।