लागुऔषधसहित लहान लोट्स बोर्डिङ्ग स्कुल नजिकबाट महतो पक्राउ

लहान । अवैध लागुऔषधसहति लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतोलाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले उनको साथबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । 

डाईजापाम– १५३ एम्पुल, ब्युप्रोनोरफिम– १५४ एम्पुल, फेनारगन –१९० एम्पुल गरी ४९७ एम्पुल लागुऔषध महतोको साथबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए । 

गएराति लहान नगरपालिका–८ स्थित लोट्स बोर्डिङ्ग स्कुल नजिकै इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक हबल्दार देवकुमार यादवको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले महतोलाई शंका लाग्दा चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो ।  

पैदल यात्री महतोले बोकेको कालो रङको झोला भित्र प्लाष्टिकको  पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेका छन् । लागुऔषधसहित महतोलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।