वैदेशिक रोजगारमा खटिएका युवाहरु समाज परिवर्तनमा अग्रसर हुनुपर्छ : मेयर महेश चौधरी

लहान । वैदेशिक रोजगारमा खटिएका युवाहरु समाज परिवर्तनमा अग्रसर हुनुपर्ने मेयर महेश चौधरीले बताएको छ । 

मंगलबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रिटर्नी स्वयंसेवकहरुको लागि क्षमता अभिवृद्धि तालिमलाई सम्बोधन गर्दै मेयर चौधरीले वैदेशिक रोजगारबाट आएका रकम उत्पादक क्षेत्रमा प्रयोग गर्नुपर्ने पनि बताए । 

‘लहान नगरपालिकाको ३ वटा वडामा सामीको परियोजना सञ्चालनमा छ । यसलाई अझै विस्तार गर्छौ,’मेयर चौधरीले भने,‘नगरपालिकाबाट थप सहयोग गर्छौ । गाउँगाउँमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरेर वैदेशिक रोजगारको पैसा प्रवद्र्धन गर्न सहयोग पुगेको छ ।’ यो कार्यक्रमले गाउँघरमा देखिएका हानिकारक परम्परालाई पनि चिर्ने कार्य गरिहेको उनले सुनाए । 

वित्तिय साक्षरता कक्षा पाएर महिलाहरुले बचत गर्न थालेको कुरा देखेर आफु खुशी भएको मेयर चौधरीले बताए । ‘गाउँगाउँमा महिलाहरुले खुत्रुक्के बचत गर्दैछ । यो राम्रो कार्य हो । आफु पनि यसमा रकम थपेका छौ,’उनले भने,‘यसै विस्तार गरेर अगाडी बढ्नुपर्छ ।’ महिलाहरुलाई रोजगारमा लगाउन विभिन्न कार्यक्रमहरु लागु गरेको उनले सुनाए । 

मेयर चौधरीका अनुसार लहान नगरपालिकाले ५० जना युवालाई ५०/५० हजार रुपैयाँ स्वरोजगार बन्नुलाई सहयोग गरेको छ । यसैगरी ४ वटा महिला समूहका २४ जना महिलालाई २५ हजारको दरले रकम उपलब्ध गराएको छ । यो कार्यक्रमलाई निरन्तरण दिने मेयर चौधरीले जानकारी गराए । 

हेल्भेटास नेपालले सामी परियोजना सिरका विभिन्न स्थानीय तहरुसँग मिलेर सञ्चालन गर्दै आएको छ ।