राजलवटको गुर्जो ‘महिमा’

भनिन्छ, ‘गर्व आफु भित्रबाट आउँछ, जसले जीत ल्याउँछ ।’ त्यही भएर ‘काम र काम गर्नेको गुणलाई छुट्टयाउन सकिदैन’ भनिएको होला । यस भनाइलाई चरित्रार्थ गरेका छन् आन्तरिक राजस्व कार्यालय लहान सिरहामा कार्यरत प्रमुख कर अधिकृत महोत्तरी जलेश्वरका कमल बहादुर राजलवटले । 

१० वर्षदेखि गुर्जो जडीबुटी सेवन गर्दे आएका राजलवट जडीबुटी सेवनले शरीरलाई स्वस्थ्य राख्ने विश्वास गर्छन । त्यही विश्वासले राजलवटको हिजोआज परिचय फेरिदिएको छ ‘सरकारी कर्मचारी’ बाट ‘निःशुल्क गुर्जो वितरण गर्ने स्वयंसेवकको रुपमा ।’ 

जडीबुटी सेवनमा विश्वास गर्ने उनले अरुलाई पनि स्वस्थ्य राख्न गुर्जोको बेर्ना उत्पादन सुरु गरे । र निःशुल्क वितरण थाले । पछिल्लो पटक कोरोना भाइरसले विश्वलाई नैं आक्रान्त पारिरहेकोबेला आर्युवेद विज्ञबाट यसलाई रोक्न गुर्जोको स्वास्थ्य महिमाबारे राजलवटले थाहा पाएपछि वैशाख दोस्रो सातादेखि गुर्जोको बेर्ना तयारीमा उनी तल्लिन भए ।

कार्यालय समय सकेर फुर्सदको समयमा उनी कार्यालयको प्रयोगविहीन क्षेत्रफलमा गुर्जोको बेर्ना तयार गर्न तल्लिन हुन्छन् । सुरुवाती दिनमा गाउँघरको झाँडीबाट गुर्जो संकलन गरेर बेर्ना उत्पादन सुरु गरेका उनले अहिले ८ हजारभन्दा बढी बेर्ना तयार गरी वितरण गरिसकेका छन् । यस काममा उनलाई उनको दाई अवकास प्राप्त सरकारी कर्मचारी रमेश बहादुर राजलवट, छोरा काब्या, पत्नी विनु र कार्यालयका कर्मचारी मनरथ उपाध्यायले सघाउँछन् । उनीहरु पनि फुर्सदको समय त्यही काममा सदुपयोग गर्छन् ।

आफ्नो सरकारी निवासकै कम्पाउण्डभित्र सुरुमा उनले २ हजार गुर्जोको बेर्ना उत्पादन गरेका थिए । त्यसका लागि एक ट्रयाक्टर माटो मगाएर उनले गाउँघरको झाँडीबाट गुर्जो खोजेर ल्याए ।  त्यसबाट पहिलो पटक उत्पादित ६ सय थान विरुवा उनले काठमाण्डौँ पठाए । त्यतिखेर २ सय सिंहदरबार, आन्तरिक राजश्व कार्यालयमा वितरण गरेको उनले सुनाए । उनले ३० हजार बेर्ना उत्पादन क्रममा राखेका छन् । 

आर्युवेद विज्ञहरुका अनुसार गुर्जोको रस र पाउडर नियमित सेवन गरे कालाजार, मुत्ररोग, पाइल्स, चर्मरोगबिरुद्ध लड्ने क्षमता अभिवृद्धि गर्छ । नियमित जडीबुटी सेवन गर्ने शाकाहारी राजलवट भन्छन् ‘गुर्जो निरोगिताको लागि बहुउपयोगी गुण भएको जडीबुटी हो ।’