किसानले रसायनिक मलको सट्टा झोलमल किन प्रयोग गर्ने ?

प्रकृतिको नियम नै हो ‘एकले अर्कोलाई आफ्नो शरीर दिएर बचाउ गरेको हुन्छ’ तर कसरी ? यसका लागि हामीले सर्वप्रथम प्रकृतिको नियमभन्दा माथी उठेर मनुस्यले काम गरेको हँुदा प्रकृतिको अन्त्यको सुरुवात हुदैछ भन्ने गरेका छौं । तर कसरी ? साच्चिकै भन्नु पर्दा प्रकृतिमा एक जीवले अर्को जीवको जीवन निर्माणको काम गरिराखेको हुन्छ । सुन्दा त मीठो नै लाग्छ यी कुराहरु । तर व्यवहारमा पनि यो अवलम्बन गर्ने बेला आइसकेको छ । 

साकाहारी जीवले मान्साहारी जीवलाई आफ्नो शरीर दिएर पुरागरी राखेको हुन्छ । बाघले कुनै पनि जीवको शिकार गर्छ तर हिंसा गर्दैन । प्रकृतिले पनि यही जीव जीवश्री जीवनम प्रकृया पूरा गरिरहेको हुन्छ । त्यसैले हामी यसलाई  इकोलाजी  भन्ने गर्छौ । यो इकोलाजिमा बाघले यदि अहिंसाको पाठ पढ्यो भने के हुन्छ ? साकाहारी जीवले सारा जङ्गल बोट बिरुवा खाएर सक्छ्न ।

प्रकृतिमा जनावरको बिचमा बाघले जे गरिरहेको हुन्छ, माटोमा पनि त्यही काम किरा फटेङ्ग्रा  र चराचुरुङ्गीले गरिराखेको हुन्छ । त्यहीकाम माटोमा भएको जिवाणुमा सोडोमोनास जिवाणुले गरेको हुन्छ । प्रकृतिमा जसरी सोडोमोनास जिवाणु घट्दै जान्छ त्यसरी नै बाघ, किरा, फट्यांङ्ग्रा, चरा चुरुङ्गी आदिको संख्या घटदै जान्छ । 

प्रकृतिको १ ग्राम माटोमा असख्य शुक्ष्म जीवाणुको घर हुन्छ । किसानले उत्पादन गर्ने माटोमा रासायनिक बिसाक्त हालेर मित्र मान्साहारी जिवाणु ( सोडोमोनास बिसेरिया मेटाराइजियम )को सखाप पारियो भने प्रकृतिले दिएको माटोमा शुक्ष्म साकाहारी जीवाणु ( फ्युजेरियम फाइटोपथोरा रैजोक्टोरिया पिथियम ) को संख्याले माटोमा घर बनाउने छन् । 

अब किसानहरुले आफै बुझ्नुहोस  की प्रकृतिको माटोमा शुक्ष्म साकाहारी जीव धेरै भयो भने हुवाइटफ्लाई, बग इलिया आदि किरा बढने छ र प्रकृतिको माटोमा मान्साहारी जीव घट्छ ।  माटोमा पनि शुक्ष्म जीव घटने पक्का हुन्छ । 

त्यही भएर हामीले रासायनिक मल बिसादी  हालेर प्रकृतिमा शुक्ष्मजीव किरा, फटयांग्रा आदिलाई रोक्नु हुदैन । माटो र बालीकै हीतका लागि धेरै खाले किराहरु हुन्छन् । जसलाई सरायनिक मलले मार्न सक्दछ । माटो र बालीको एउटा दुश्मन मार्ने बहानामा सय मित्रलाई पनि संगै मार्ने काम कत्तिको जायज हो । किसानले यो कुरा बुझ्न जरुरी छ । विरामी परेको माटो र बालीलाई सही उपचार नगरेर जस्तोपायो त्यस्तै औषधीले मानिसलाई रियाक्सन भएजस्तै माटो र बाली पनि  तपाईले प्रयोग गर्ने रसायनिक मलले कायल कायल भइरहेका छन् । 

यसका लागि अर्गानिक कृषि अभियान नेपालले झोल मल बनाएर माटो र बालीको सही उपचार गर्ने विधिलाई प्रचार प्रसार गर्दै आएको छ ।  हामी सबैलाई अर्गानिक उत्पादन गर्नुहोस बजारको समस्या छैन भन्ने गरेका छौं । 

उत्पादन गर्दा फाइदाभन्दा पनि  स्वस्थ उत्पादन गरौ । हामीले जे उत्पादन गरे पनि हुन्छ । ठाउँ हेरेर धान, मकै, तोरि, फलफुल आदि जेमा पनि फाइदा छ । अर्गानिक उत्पादन को स्वादै अर्को हुन्छ । अर्गानिक खेती गर्न हिजो हाम्रो बुबा, हजुरबुबालाइ कसैले सिकाएको थिएन । आफै सरायनिक मल नहाली उत्पादन गर्नु हुन्थ्यो । अहिले सरायनिक मलले माटोको उर्वराशक्ति घटाएको छ । माटोमा पानी पस्नका लागि बनेका छिद्रहरु टाल्ने काम सरायनिक मलले गर्दैछ । किसानहरुले रसायनिक मल प्रयोग गरेर आफ्नै खुट्टामा आफै बन्चरो हानी रहेका छन् । यसबाट बच्न झोल मल बनाउने उपाय पनि सरल र पैसा पनि नगन्य लाग्ने गरेको छ । हामीले देशका केही भागहरुमा यसको सफल प्रयोग गरेर हेरिसकेका छौं । 

झोलमलको प्रचार अभियान गर्दै सरकारी निकाय, मन्त्रीहरु संग पनि कुरा राख्ने गरेका छौं । तर सबै खेल कमिशनमा गएर रोकिन्छ । सबैले यो राम्रो मल रहेछ भन्न त भन्दछन् । तर अन्त्यमा यसमा के गरेर कति कमिशन बचाउन सकिन्छ ? भन्ने प्रश्न आउँछ । एउटा नगरपालिकाले वा गाउँपालिकाले आफ्नो क्षेत्रका सही किसानहरुलाई तीनदिन तालिममा बोलाएर यो मल बनाउन सिकायो भने गुँड, दाल र पानी हालेर सजिलै बनाउन सकिने भएकोले यसले फाइदै फाइदा छ । भारतले मल दिएन पनि भन्नु परेन । र, करोडौ खर्च गरेर रसायनिक मलको उद्योग नै सञ्चालन गर्नु पनि परेर । बढीमा पाँच सय खर्च गरेर झोलमल बनाउन शुरुवात गर्न सकिन्छ । 

गाउँघरमै पाउने सख्खर, दलहन र पानी प्रयोग गरेर यसबाट जोरनको रुपमा करिब २५० रुपैयाँमा पाइने सानो सिसिको झोलले सधैंका लागि पुग्छ । जोरन हालेर दुधलाई दही बनाउने र फेरी त्यही दहीबाटै फेरी जोरन राखेजस्तै हो यो अर्गानिक मलको बनाउने विधि पनि एउटा सिसिको जोरन एकपटक किनेपनि जुगजुगका लागि त्यस्तो सिसिको जोरन आफै बनाउन सकिन्छ । 

हामी बुढा पाकाको कुरा सुन्दैनौं । आधुनिकताको र मल्टीनेशनल कम्पनीको चक्करमा फस्न पुग्दछौं । कमसल सरायनिक मल किन्दछौं । प्रचार र विज्ञापनले हामीलाई परनिर्भर बनाइसकेको छ । 

विदेशीको चलखेलमा हामी फस्यौ  । हाइव्रिड बीऊ र रसायनिक मलको लत बसेकाले विस्तारै हामी सिद्धिदै छौं । किसान प्रेमी केही नगरपालिकाले हामीसंग सम्पर्क गरेर किसानलाई झोल मल बनाउने तालिम दिन शुरु गरेको पनि छ । हामी चाहन्छौं स्थानीय सरकारले झोलमलको प्रयोगलाई व्यापकता दिओस । किसानको विग्रको खेतबारी सपारोस । 

बिदेशीको चलखेलले रसायनिक मल किन्दा पैसा पनि विदेश जान्छ । यसलाई रोकेर अर्गानिक नेपाल बनाउने अभियानमा हामी सबै लाग्नु जरुरी छ । यसमा राजनीतिक शक्तिको ठूलो भूमिका हुन्छ । गाउँ नै गाउँले भरिएको नेपालमा झोल मलको उपयोग ह्वात्तै बढेर जानेछ । यसले किसानका सुकेका ओठहरु रसाउने त छदैछ, साथै मल नपाएर हुने मानसिक तनावबाट समेत मुक्ति पाउनेछन् । 

के तपाई आफ्नो स्थानीय सरकारलाई भनेर झोल मल बनाउन सिक्ने होइन ? आउनुस हामी हाम्रो खेतबारीको गुमेको रौनकतालाई पुर्नजीवित गर्ने अभियानमा हातेमालो गरेर अघि बढौं । 

साच्चै भन्नु पर्दा प्रकृतीले सन्सारमा भएका बनस्पती, प्राणी, मानव र  सुस्म जीव लाई बाच्नको लागी सबै चिज दिएको छ । यही प्रकृतिमा सबैकुरा प्राप्त छ । तर पहिचान गर्न नसक्दा वा पुरानो परम्पाराको संरक्षण नभएकोले हामी विदेशीको व्यापारिक रणनीतिमा फसेका छौं । 

सुर्य आफै सिस्टममा चलेको छ र त त्यसको महत्व छ । त्यसैगरी सन्सार चल्ने एउटा  सिस्टम छ । माटो, पानी, बाली नाली, किट पतंगहरुको पनि आफ्नै प्रक्रिया छ । तर हामी सबकुरा उल्टापुल्टा पारेर आफै बर्बाद हुँदैछौ । 

कुनै पनि बोटबिरुवाले हावा, सूर्य र पानीबाट ९६.२% खाना वा पोसक तत्व लिएको हुन्छ । बाँकी ३.८% बिरुवाले पोसकतत्व माटोबाट लिन्छ  । यो बैज्ञानिक तथ्य हो ।

हामीले माटोसंग खेती गर्ने क्रममा ऋण लिने काम मात्र गरिरहेका छौं । ऋणलाई व्याज सहित वा साँवामात्र तिर्नेकाम गर्न सकिरहेका छैनौ । अथवा तिर्ने तौरतरिका नै बेढंगले गरिरहेका छौं । 

त्यसैले माटोमा रासायनिक मल हालेर माटोलाई कडा गराइ राखेका छौं । यसबाट माटोमा पोसक तत्व छ, तर बिरुवालले लिन नसक्ने स्थिति सृजना गरिदिएका छौं ।  निःशुल्क  पाइने ९६.२% हावा पानी र सूर्यबाट  लिन नसकेको कारण आज हाम्रो बाली नाली कमजोर भइरहेको छ ।  हाम्रो बाली नालीमा बिभिन्न किसिमको रोग किरा लागेको हो । यसको समाधान रासायनिक मल र बिषादी र पेष्टीसाइड होइन । यो बुझ्न र बुझाउन जति ढीलो ग¥यो उति किसानहरु गरिबीको खाडलमा धकेलिदै जान्छन् । 
प्रकृतिले निःशुल्क दिने पोसक तत्व बिरुवाले पाउने छ । रोग किरा लाग्न बाट बच्ने छ । किसानको रासायनिक मल, बिसादी पेष्टीसाईडको खर्च घटाउने छ । उत्पादन बढाउने छ । 

निर्वामूखी कृषि नै व्यवसायीक कृषिको पहिलो खुडकीलो हो । अहिले राजनिती दलका नेता तथा समाजका अगुवा भनाउँदाहरुले कृषिलाई २ भागमा बिभाजन गरेका छन् । 

(१) निर्वामूखी कृषि  (२)व्यवसायिक कृषि 

हिजो हाम्रै बाउ बाजेले निर्वामूखी कृषि गरेर हाम्रै पालामा हाम्रै आँखा अगाडी छोराछोरीलाई डाक्टर इन्जीनीयर पढाए । सहरमा घडेरी जोडे । घर बनाए । ती सबै अहिले पनि गाँउघरमा उदाहरण भेटिन्छन् । तर अहिले कृषि पेशा गर्नेहरुको घर व्यवहार चलाउन गाह्रो छ । त्यो किन भयो ? के हामीले यूरोप अमेरिका, इजराइल, जापान जस्तो आधुनिकीकरण गर्न नसकेर हो ? राज्यले आधूनिकीकरण गर्‍यो भने पनि कृषिमा देखिएका समस्या समाधान हुन सक्छ ? पढाई भोगाई, गराई र भनाईमा फरक हुन्छ । त्यसैले अहिलेबाटै सचेत होऔं । आफ्नो जीवन निर्वाहको एकमात्र आधार जग्गा जमिनलाई कमशल बनाउने खेलबाट बचौं । व्यापारीको कालाबजारी र विदेशलाई पोस्ने कामबाट तत्काल पछि हटौं र झोल मल प्रयोग गर्ने अभियान नै सञ्चालन गरौं । 

हिजो निर्वामुखी कृषि गर्न किसानलाई सिकाउँनु पर्दैन थियो । उनीहरुले टमाटर, फर्सी, कोभी, धान, मकै, गहँुलगायत फलफूल आँप, कटहर, कागती, सुन्तला, सिजन अनुसार समय हुनासाथ आफै लगाउँथे । तर, आज ५०/६० ओटा तालिम लिएर पनि कुनै कृषि प्रविधि र रसायनिक मलको प्रयोग नगरी खेती गर्न किन सक्दैनन् ? 

हिजो हुने खेतीबाली आज नहुनुको कारण के रासयनिक मल नभए र नै हो ? की आधूनिक कृषि अवधारणा ल्याउन नसकेर हो ? हिजो राज्यले एउटा नियममा किसानलाई बाध्ने काम भयो । जुन समूह बनाएर खेती गर अनुदान आँउछ, कृषि सहकारी खोल अनुदान दिन मिल्छ आदी इत्यादी भन्यो । किसानको उत्पादनलाई बढाउन सरकारले सूपर जोनको अवधारणा ल्याइर काम समेत अगाढी बढायो तर, त्यसले अहिले कति प्रतिशत कृषि अघी बढ्यो लेखाजोखा हुन जरुरी छ । त्यस्तै उदेश्य अनुरुप सफलता मिलिरहेको छैन भने अब यसरी विभिन्न बहानामा किसानहरुलाई झुक्याउने खेल बन्द गर्नुको बिकल्प छैन ।

कृषि पेशालाई राज्यले एउटा ट्रयाकमा हिडाउने हो । किसानलाई राज्यको मुठ्ठीमा बाधने होइन । कुनै पनि किसानले कृषि निर्वाहमुखी गरोस् की व्यावसायिक तरिकाले गरोस् त्यसमा राज्यको हस्तछेप हुनुहुँदैन । त्यही निर्वाहमुखी कृषि गर्नेहरु नै कृषि क्षेत्रमा खारिएर आएका हुन्छन र उनीहरुलाई नै सुपरजोनको मोडेलमा लान्छन् की सहकारीको अवधारणा ल्याएर लान्छन् की सामूहिक गर्छन् उनीहरुको कुरा हो । उनीहरुको सहजता र क्षमता अनुसार कृषिलाई लान खोज्छन्  । 

सक्कली साधूले धेरै खरानी धसी राख्नू पर्दैन नक्कली साधुले धेर खरानी धस्ने हो । तसर्थ हिजो निर्वाहमुखी कृषि गर्ने लाई नै नक्कली साधू जस्तै कृषि बनाईएको छ । त्यही निर्वाहमुखी कृषि गर्नेलाई नै व्यवसायिक तिर मोडन सक्ने भिजन राजनीतिक दलले दिन सकेका छैनन् । राजनीतिक दलसंग त्यो क्षमता पनि छैन र क्षमता भएका सही कर्मचारी, बिज्ञको सल्लाह सुझावबाटै कृषिकोे योजना बजेट बनाउने हो । तर,सही कर्मचारी, बिज्ञको कुरा राज्यले सुन्दैन । राज्य र त्यससंग सम्बन्धित निकायले जहाँ कमिसन आउँछ त्यसैको सल्लाह सुझाव लिने र सुन्ने मात्र त हो ।

राजनीतिक दलको हरेक भाषणमा जनताको स्वास्थको कुरा आउँछ । तर, स्वास्थ्य कहाँबाट बिग्रीयो त्यसको खोज छैन । खोज भएपनि बुझ पचाएर बसे जस्तो देखिन्छ । अर्को कुरा जनतालाई रोजगार दिने कुरा छ । के राज्यले कल कारखना खोलेर रोजगार दिने हो ? कि अहिले भएका जति पनि सरकारी कार्यालयहरु छन् त्यसलाई अझै थपेर रोजगार दिने हो । त्यो सम्भव कति सम्भव छ ? तसर्थ नेपाल जस्तो कृषिप्रधान देशमा जनतालाई समृद्धि, स्वास्थ्य र आत्मानिर्भर बनाउने एक मात्र आधार कृषि मात्रै हो । जसको लागि झोलमल नै सही विकल्प हो । स्थानीय गाउँघरबाटै यसको शुरुवात गरौं । जसका लागि स्थानीय सरकारलाई घचघचाउने काम किसानले गर्नुपर्दछ ।  अर्गानीक कृषि अभियान नेपाल