इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

लहान । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आजबाट खुलेको छ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । 

सर्वसाधारणले बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रूपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । 

यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

इमर्जिङ नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानून बमोजिम २०७२ साउन ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भै २०७२ चैत २६ गतेदेखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर काठमाडौंमा रहेको छ । 

नेपाल सरकार, अर्थ मन्त्रालयको समेत लगानी रहेको यस कम्पनीले पूर्वाधारको निर्माण तथा विकास (इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट) निर्माण सम्बन्धी कार्य गर्दै आइरेहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन गरेर संकलन भएको ५ करोड ५५ लाख ६० हजार रूपैयाँमध्ये आर्थिक पुर्वाधारको क्षेत्रमा २ करोड रुपैयाँ, उर्जा क्षेत्रमा ३ करोड रुपैयाँ र कम्पनीको उखेश्य अनुसार विविध क्षेत्रमा ५५ लाख ६० हजार रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्ने र कम्पनीले हाल गरिरहेको कारोबारको क्षेत्र विस्तार गरी सर्वसाधारण जनताहरुलाई समेत यस कम्पनीले आफ्नो उद्देश्य अनुरुपको कार्य सम्पादन गर्नको लागि सर्वसाधारणहरुलाई सहभागी गराउन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।