यस कारण रामचन्द्र यादव कांग्रेस सिरहाका फेरी सभापति बन्नु हुदैन

०७४ को स्थानीय तह निर्वाचन ताका जनकपुर स्थित सिता प्यालेस होटलमा कांग्रेस निकट प्रेस युनियन आबद्ध पत्रकार र मधेश प्रदेशमा ८ वटै कांग्रेस जिल्ला सभापति लगायत नेताहरुको भेला बोलाइएको थियो । पार्टीको केन्द्रिय नेता रमेश लेखक अतिथिको रुपमा आएका थिए । स्थानीय तहमा प्रचार प्रसारको लागि प्रतिनिधि खटाउने छलफल भयो । जिल्ला स्तरमा मिडिया सेन्टर स्थापना गर्ने कुरा भयो । त्यो कामको लागि केन्द्रले केही रकम पनि खर्चिने जनाइएको थियो । थप खर्च जिल्ला सभापतिले व्यवस्थापन गर्ने बतायो । त्यहाँ सबै जिल्लाका सभापतिले आफ्नो जिल्लामा यती/उती स्थानीय तह जिताउने पार्टीका केन्द्रिय नेतालाई फेहरिस्त सुनाइरहेका थिए । आ–आफ्ना बखान गरिरहेका थिए । 

यो पंक्तिकार पनि त्यो कार्यक्रममा सहभागि थिए । सिरहा कांग्रेसका पार्टी सभापति रामचन्द्र यादवले आफ्नो मन्तव्यमा कम्तिमा १० वटा स्थानीय तह सिरहामा जिताउने भाषण ठोके । सिरहामा १७ स्थानीय तह छन् । आफ्नो नेतृत्वमा कांग्रेसलाई अत्यधिक तहमा विजयी गराउने उनले दाबी नै गरे । तर दाबी अनुसार सिरहामा केही पनि भएन ।

त्यसको केही दिन लगत्तै स्थानीय तहको टिकट को पाउने विषयमा दौडधुप सुरु भयो । उम्मेदवारहरु नेता कहाँ धाउन थाले । टिकट जिल्लामा आयो । पार्टी सभापति यादवले आफ्नो रजगज देखाउन थाले । आफ्ना गिरोहका मान्छेलाई टिकटको आवश्वासन बाडेका थिए । लविङ्ग त्यही अनुसार गर्न थाले । पार्टीका अन्य स्थानीय नेताहरुसँग छलफल नहुँदै उनका गिरोहका केही व्यक्तिले टिकट म पाउने तय भएको भन्दै प्रचार प्रसार गर्न थाले । नेताहरुबीच तिक्ता बढ्दै गयो । 

झन निर्वाचन कार्यालयमा उम्मेदवारको मनोनय दर्ता गर्ने दिन सिरहा नगरपालिकाको टिकट वितरण विषयमा पार्टी कार्यालयमै सभापतिको स्वयं उपस्थितिमा कुटाकुट भयो । क्षेत्रिय सभापति संजय प्रकाश यादवसहित व्यक्ति गम्भीर घाइते भए । उनीहरु जिल्ला सभापति रामचन्द्र यादवको लठैतबाट कुटिए । त्यसपछि नगरका वडाअध्यक्ष र वडा सदस्यलगायतका उम्मेदवारहरु तत्कालिन महामन्त्री शंशाक कोइरालाले पठाएको पत्र लिएर टिकट लिन पार्टी कार्यालय पुग्दा, घेराउ गर्दा आफैँ रामचन्द्र यादवलाई भाग्नुपर्यो । मेयरको उम्मेदवार डाक्टर सुभाषचन्द्र यादवको घरमा प्रहरी लगाएर टिकट तपाईलाई पुगाउनु पर्यो । त्यहाँ वडा, नगर र क्षेत्रिय कार्यसमितिको निर्णय सिफारिस भन्दा बाहिरको व्यक्तिलाई वडाको टिकट दिनुपर्ने झमेला खडा तपाई सभापतिले गरेको हो कि होइन ? अब, रामचन्द्रजी भन्नुस पार्टी कार्यालयमा त्यस्तो घटनाको जिम्मेवार तपाई हो की होइन ?

पार्टीको निर्देशन, विधिअनुसार टिकट वितरण भएको भए त्यस्तो झगडा हुन्थ्यो ? त्यही झगडापछि नेताहरुबीच बढेको तिक्ताले सिरहा नगरपालिकामा हार भयो । तपाईको कार्यकालको जिल्ला सचिव उपेन्द्र यादवले निर्वाचन आयोगको कार्यालयलाई एउटा वडा सदस्यका उम्मेदवारी फिर्ता गरिदिन आग्रह गर्दै पत्र नै लेख्यो त्यो गलत थियो कि थिएन ? सिरहा नगरपालिकामा तपाईको इसारामा खुल्लमखुल्ला अन्तरघात भएको हो कि होइन ? के त्यहाँ अन्तरघातीलाई कारवाहीको सिफारिस जिल्ला कार्यसमितिबाट गर्नुभयो ?

औरही गाउँपालिकामा तपाईको गिरोहले योग्यलाई पाखा लगाउँदा पार्टी हारेको छ । जिल्ला अधिवेशनको सन्दर्भमा एक ठाउँको वडा भेलामा तपाईले बोल्नु भएको छ कोही केन्द्रीय नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुईमा लड्न तयार भए म छोडछु । के सुरेशचन्द्र दासलाई त्यही चुनाव लड्न नदिएर तपाईहरुले पाखा लगाएको होइन ? औरहीको दास परिवार कांग्रेसबाट बाहिरिएपछि जिल्ला भरिमा कांग्रेसले क्षति ब्यहोरेको छ । हेक्का छैन तपाईलाई ?

धनगढीमाई नगरपालिकामा चुनाव लडेका पंचलाल महतोलाई वाइपास गर्दै आफै तपाईले मेयरको उम्मेदवार बन्ने निकटहरुसँग घोषणा गर्नुभएको छैन ? त्यसको वास्तविकता तपाईले कार्यकर्तालाई जवाफ दिनै पर्छ । स्थानीय तहको निर्वाचनको बेला पनि उपमेयरको टिकट केन्द्रबाट एउटाले पायो यहाँआएर अर्को कसरी उम्मेदवार भयो ? त्यो कसले गर्यो ? तपाई जिम्मेवारी लिने कि नलिने ?

तपाईको कार्यकाल कुन कुन रुपमा सफल भयो जवाफ दिनुपर्छ ? पार्टी कार्यालयको अवस्था झन हाल बेहाल छ ? अहिले त्यहाँ बस्ने लायक रहेनन । तपाई असफल पार्टी सभापति हुनुभएको छ । कार्यकर्ताबीच झन फाटो ल्याउने काम गर्नुभएको अनेक दृष्टान्तहरु छन् । 

त्यही भएर तपाई यसपाली नेतृत्वबाट पछि हट्नुस । नयाँ व्यक्तिलाई नेतृत्वमा ल्याउनु । केही महिना भित्रै स्थानीय तहको निर्वाचन हुदैँछ । कांग्रेसलाई जिताउन नयाँ नेतृत्व चाहिन्छ । तपाईबाट पार लाग्ने बाला छैन् । किनभने तपाईको नेतृत्वमा एक पटक स्थानीय तहको निर्वाचन कांग्रेसीले हेरिसकेको छ । सर्मनाक हार खेपिसकेको छ । जय नेपाल । 

लेखक एसकुमार नेपाली कांग्रेसका क्षेत्रियप्रतिनिधि हुन् ।