संसद छलेर अध्यादेशबाट मुलुक हाँक्ने दुस्साहस

जनताद्वारा निर्वाचित संसदलाई एक्कासी बन्द गरेर अध्यादेशबाट शासन चलाउने दुस्साहस देउवा सरकारले पनि गर्दैछ । संसद छलेर हिजो केपी ओलीको सरकारले ल्याएको अध्यादेश फिर्ता लिन विरोध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेस र तिनका नेता हालका प्रधानमन्त्री शेर बहादुर देउवा अहिले आफू सोही पद चिन्हमा हिडेका छन् । 

केपीलाई प्रतिगामी ,संविधान मिच्ने मसिहा भन्नेले अहिले किन अध्यादेशबाट शासन सत्ता हाँक्न खोज्दैछन् ? संसद छ्लेर हिजो केपी ओली सरकारले ल्याएको अध्यादेश पनि गलत थियो अहिले देउवा सरकारले ल्याएको अध्यादेश पनि गलत छ ।  नियमित संसद नचलेको बेला कार्यसम्पादनमा अप्ठ्यारो पर्दा मात्रै अध्यादेश ल्याउन पाइने सुविधालाई नियतबस राजनीतिक दल फुटाउन संसदीय दल वा केन्द्रिय समितिमा २०% ( बीस प्रतिशत ) भए हुनेगरी जुन राजनीतिक दल सम्बन्धि विधेयक ल्याइएको छ , यो लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण छ ।

लोकतन्त्रमा पार्टीहरू कमजोर हुनु, टुट्नु÷ फुट्नु शुभ संकेत होइन । पार्टी र तिनका भ्रातृसंगठन जति बलियो भयो त्यति नै लोकतन्त्रको जग बलियो भएको मानिन्छन् । यहाँ त भ्रातृसंगठन तथा जनवर्गीय संगठनहरुलाई नेताको पिछलग्गू बनाएर रचनात्मक विरोध समेत गर्न नसक्ने हनुमान ,बाँदर , कलमुखे ढेडु बनाएर प्रदर्शन गरिन्छ । कहिले अरिङ्गाल बन्न त कहिले बाँदर बन्न उत्प्रेरित गरिन्छ । कहिले युवाहरूलाई शान्तिसेना , कहिले लालसेना, कहिले अरिङ्गाल सेना, कहिले बाँदरसेना बनाएर तिनका शक्तिलाई राजनीतिक दुरुपयोग गरिएको पाइन्छ । 

अब दलहरूले युवाहरूलाई रचनात्मक एवम् सिर्जनात्मक रोजगारीमा लगाउनु जरुरी छ । पार्टी विधान र घोषणापत्रमा युवाहरूलाई सर्वत्र उचित स्थान , उचित सदुपयोग ,उचित रोजगारी ,उचित उत्प्रेरणा,उचित सीप र प्रविधि ,उचित तालिम दिनेगरी नीति ल्याइनुपर्दछ । सानो छदा हेटौंडा कपडा उद्योगको मोटो खदरको नीलो हाफपेन्ट लगाएर हामी स्कुल जान्थ्यौ । जताततै हेटौंडाको स्वदेशी कपडा लोकप्रिय थियोे । हामी नेपालीहरुको माग धानेकै थियो अर्थात् उतिबेला कपडामा आत्मनिर्भर थियौ । अहिले उक्त उद्योग बन्द छ , त्यहाँका हजारौंको रोजगारी गुमेका छन् । गुमेको रोजगारी र नेपाली कपडाले नेपाली आत्मनिर्भर बन्ने स्थिति फर्काउने कसले ? महाउत्पादन गर्नुपर्ने ठाँउमा पार्टीको महासम्मेलन गरिन्छ । अनि, देशका युवाहरू खाडी मुलुकहरू अरब,कतार, मलेसिया,दुबई, जोखिम मोलेर अफगानिस्तान जान बाध्य भएका छन् । 

हालै अफगानिस्तानलाई तालिबान विद्रोहीले कब्जामा लिइसकेपछि सबै नेपालहरुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउनुपर्ने कुरामा सरकार अझैपनि ढिलासुस्तीमा छ । केही नेपालीहरु राजधानी काबुल बाहिर रहेकोेले उनीहरू सम्पर्कविहीन रहेको बुझिएको छ , उनीहरूलाई अविलम्ब उद्धार गरिनुपर्छ । मेरा लागि मेरो राज्य छ भन्ने महशुस संकटमा फसेका हरेक नागरिकले गर्न पाउनुपर्छ । अनुकूल परिस्थितिमा उनीहरूले पठाएका रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र जोगिएको हो , चलायमान भएको हो । आज तिनको उद्धार राज्यको पहिलो कर्तव्य हो । 

आफू सत्तामा हुँदा संसद छलेर कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि विधेयक आपत्तिजनक रं दुर्भाग्यपूर्ण छ । आज देउवाले पाँच दलीय गठबन्धनको उक्साहटमा उक्त विधेयक ल्याएर कमजोर जगमा निर्मित सरकार जोगाउन तथा गठबन्धन सहयात्री तत्कालीन एमाले नेता माधव नेपाललाई पार्टी फुटाउन सजिलो हुनेगरी सुविधाजनक संख्या पुग्नेगरी जुन विधेयक अध्यादेशबाट ल्याइएको छ, यो भनेको छिमेकीको घरमा आगो झोसर आफू सुरक्षित छु भने झैं हो ।

सामान्यतया ४ वर्षमा गर्नुपर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेस सभापति देउवाले आफ्नो घर झन्डै ६ वर्षसम्म लथालिङ्ग पारेर अरुको घरमा आगो लगाउने जुन राजनीतिक हर्कत गरेका छन् । उनले लगाएको यहीँ आगोले भोलि उनको घर पनि जल्यो भने आश्चर्य नमाने हुन्छ । भनिन्छ , मलाई खाने बाघले तँलाई पनि खान्छ किनकि बाघले कहिल्यै घाँस खादैन बरु भोकै बस्छ , प्रतिगामी देउवा र तिनका राजनीतिक कोटरीलाई । चेतना भया ।