नसुध्रेको हो कि, कालो कांग्रेस हो ?  

मुलुकको सबभन्दा पुरानो प्रजातान्त्रिक पार्टी, वर्तमानमा सत्तारुढ नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ । यो पार्टी जति पुरानो र सत्तामा रहेपनि उति सार्हो कमजोर बन्दै गएको आभास हुन्छ । भर्खरै उसले आफ्नो क्रियाशील सदस्यताको विवाद टुंगिएको भन्दै तत्कालीन तेर्हौ महाधिवेशनका प्रत्यासी तथा तीन गुटका शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझेको सार्वजनिक भएको तीन घण्टा नबित्दै असन्तोष बढेको छ । 

हुँदाहुँदा अहिले पौडेल पक्षीय जिल्ला सभापतिहरु सक्रिय सदस्यता नामावली विवरण सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यालय बीपी नगर सानेपामा अनशन बसेका छन् । चौधौं महाधिवेशनमा भाग लिन युवाहरू आतुर हुँदाहुँदै बुढा नेताहरू आ– आफू सभापति हुने झगडामा युवाहरूलाई सक्रिय सदस्यता दिनबाट बंचित गरेको दृष्टान्त दुर्भाग्यपूर्ण छ । 

चौधौं महाधिवेशनमा युवाहरू चाहन्छन् नेतृत्व परिवर्तन हुनुपर्छ । बुढा नेतृत्व चाहन्छ कि आफैं दोहोरिने ? ७ पटकसम्म मुलुकको नेतृत्व लिने ज्योतिषी भविष्य गर्छन् । प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि बुढो राङ्गोले भैंसी, बुढो साँढेले गाई बहाल नगए झैं अब बूढो नेतृत्वले कांग्रेस थेग्न सक्दैन । आ–आफै कचकच ,झगडा, सार्वजनिक समारोहमा घोचपेच मात्रै होइन झन्डै मंच मै हात हालाहाल देखिएकै हो । त्यतिखेर मंचको बीचमा रहेको विमलेन्द्र निधिले देउवा र पौडेललाई सम्हालेको श्रव्य÷ दृश्य संचार माध्यममा देखिएकै हो । 

शीर्षस्थ कहलिएका सम्माननीय नेताहरू नै तल्लो स्तरको झगडामा ओर्लेको देखिनु, २१ औं शताब्दीका पार्टी सभापति भइसकेका शेर बहादुर देउवाको बोली बुझिदैन भने एकपटक सम्माननीय पद सभामुख हासिल गरिसकेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चित्त सानो छ । उनको चित्त बुझाउन सकिदैन । प्रष्ट बोली नबुझिने र सानो चित्त भएका यी दुवै बुढा नेतृत्वको २१ औं शताब्दीको कांग्रेसमा काम छैन । 

यतिमात्रै नभएर वडादेखि केन्द्रीय सभापतिसम्म नयाँ नेतृत्व आजको आवश्यकता हो, युवाहरू यही चाहन्छन् । अनि बुढो नेतृत्व केन्द्रमा रहुन्जेल जाबो सक्रिय सदस्यमा समेत नेताको फेरो समात्नुपर्ने , उनको वरिपरि परिक्रमा गरिरहनुपर्ने, उनीहरूले तेरो, मेरो भनी उर्जावान युवाहरूलाई सक्रिय सदस्य समेत नदिइ अन्य पार्टीमा पलायन हुनुपर्ने बाध्यता सिर्जना गर्ने गरेका छन् । 

भनिन्छ, उत्पादन र वितरण तादत्मयता भएन भने सन्तुलन बिग्रन्छ । अहिले देशको आर्थिक अवस्था बिग्रनु पनि तत्कालीन केपी ओली नेतृत्व सरकारको केबल वितरण मात्रै गर्ने वितरणमुखी बजेटले प्रत्येक नेपालीको थाप्लोमा २८ हजारबाट बढेर ५३ हजार ५ सय ऋणभार थोपरेर गएका छन् । उद्योगधन्दा, कलकारखाना, रोजगार सिर्जनाभन्दा वैदेशिक ऋणमा चुर्लुम्म डुबेर देशको समृद्धि हासिल गर्ने गलत सपना देख्ने बुढो साँढेहरुको काम छैन । यिनले गाई रुङेर बस्ने गरेझै बुढो नेतृत्वले पनि देश र पद रुङेर रुङेर मात्रै बस्ने हुन् । 

नयाँ सोच, नयाँ दृष्टिकोण, उर्जा सहित उद्योगधन्दा,कलकारखाना ,रोजगार सिर्जना सिर्जना गर्नै नसक्ने केबल झुठो आश्वासन, दम्भ,अहंकार, टुटफुट, जालझेल, झै–झगडाको नाङ्गो प्रहसन मात्रै देखियो । 

यसबाट भावी नेतृत्व अनि युवा पुस्ताले के शिक्षा ग्रहण गर्न सक्छन् ? यी र यस्ता बुढा नेतृत्वबाट वर्तमान के नै अपेक्षा राख्न सकिन्छ र ? कुहिएको भोटो बरु थाङना बनाएर घर पुस्न र तातो भाँडो समात्न टालोको रूपमा काम लाग्छन्, सबै पार्टीका अहिलेको समकालीन नेतृत्व कुहिएको भोटोभन्दा पनि काम नलाग्ने भएका छन् । न समाउन मिल्ने, न त घर पुछ्न नै । सम्मान पाइसकेका नेताहरू एक अर्कोलाई गद्दार, झेली, राष्ट्रघाती , देशद्रोही भनेर सराप्छन् । त्यसैले यिनीहरूको कुनै काम छैन । जसले एक अर्कोलाई सम्मान गर्न सक्दैनन् तिनले अरुको अपमान पनि गर्नु हुँदैन । यहाँ त थिति नै बस्यो कि झै भान हुन्छ । जो जति झुठ,उग्र उ त्यति नै राष्ट्रवादी अनि त्यति नै देशभक्त ।

पृथ्वीनारायण शाहले सम्मान र भीमसेन थापाले न्याय पाउन नसक्ने देश र संविधानले जनताको लागि के उपलब्धि हासिल गर्न सक्नेछन् र ? जनतालाई सधैं भेडाबाख्रा सम्झिने लोभी पापी, पद लोलुप नेतृत्व परिवर्तन अब सनिकट चौधौं महाधिवेशनको मूल ऐजेण्डा हुनुपर्छ । युवाहरूलाई नेतृत्व र सक्रिय सदस्यता दिनबाट बन्चित गर्ने असहिष्णु नेतृत्व परिवर्तन गर्न जरुरी छ । नेविसंघ पूर्व केन्द्रीय सदस्य तथा कांग्रेसका युवा नेता संजय यादवले भने झै के कांग्रेस नसुध्रेको हो कि कालो कांग्रेस हो ? यसको पनि छलफल र बहस वडा,क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनहरुमा हुनुपर्दछ ।