रामेश्वर प्रसाद सिंह :परिचय

नेपाली जनआन्दोलनको इतिहास वीर शहीदहरुको बलिदानी गाथा र असंख्य नेपाल आमामा महान सपुतहरुको क्रान्तिकारी कथाले भरिएको छ । यस्तै क्रान्तिकारीहरुको लाममा आफ्नै विशिष्ट पहिचान बोकेर परैबाट प्रष्ट चिन्ह सकिने पहिचान भएका राजनीतिक आस्था, दृढ सैद्धान्तिक निष्ठा र संघर्षको आरनमा खारिएर इस्पात बने झै राष्ट्र र लोकतान्त्रिक मूल्य र मान्यताका लागि अनवरत संघर्षरत एक कर्मठ योद्धा हुनुहुन्थ्यो – रामेश्वर प्रसाद सिंह ।

सरलता, सहृदयता र समानताका प्रवल पक्षपाती रामेश्वर बाबू तराई मघेशका धरतीमा अवतीर्ण नेपाल आमाका एक सच्चा राष्ट्रवादी सपुत हुनुहुन्छ । नेपाली काँग्रेसको स्थापनाकाल देखि नै लोकतान्त्रिक आन्दोलनमा होमिनु भएका रामेश्वर बाबू नेपाली लोकतान्त्रिक आन्दोलनको जगको त्यो ईट हुन जसमा लोकतान्त्रिक समाजवादको सुन्दर घर निर्माण हुने अभिक्रममा छ । रामेश्वर बाबू निष्ठा, लोककल्याणकारी, समतामुलक समाज र संस्कृतिको स्थापनार्थ आफूले रोजेको र खोजेको मार्ग निर्माणका लागि कुनै पनि किसिमको निरंकुशता संग रत्तिभर सम्झौता नगरि बरु हाँसी –हाँसी– प्राण उत्सर्ग गर्ने त्यो धरोहर हुन जसको उत्खनन् र साक्षात्कार हुन अति आवश्यक छ – लोकतान्त्रिक आन्दोलनमा लाग्न चाहने युवा पुस्ताका लागि ।

स्व. रामेश्वर प्रसाद सिंह को जन्म सप्तरी जिल्लाको प्रसिद्ध गाउँ कोइलारी बरसाईन गाँउका सम्भ्रान्त राजपुत जमिन्दार परिवारमा भएको थियो । उहाँका हजुरवुबा राम चरण सिंहलाई मुलुकमा जमिन्दारी प्रथा प्रारम्म हुनु अघि नै १८ गाउँको मुखिया (चौधरी) बनाएका थिए राणाहरुले । तत्कालिन शासकहरुले रामेश्वर बाबूका पिता सत्य नारायण सिंहलाई राणाशासन कालका आम नागरिकले प्राप्त गर्ने सर्वोच्च पद सुव्वाको पदवी दिईएको थियो । एक समय पुर्वाञ्चलको सिराहा सप्तरी पुर्व देखि झापा सम्मको सरकारी राजस्व (मालपोत) उठाउने कार्यभार पनि सम्हालेका थिए रामेश्वर बाबूका पिता–पुर्खाले । रामेश्वर बाबूका

पिता–पुर्खाको राणा दरवारमा सहज पहुँच मात्र होइन बरु उनीहरुको आन्तरिक कलह र संघर्षमा पनि अहम् भूमिका हुने गर्दथ्यो त्यस बखतको परिवेशमा । फलस्वरुप राणा परम्परामा चलनचल्तीमा रहेर्को गिरोहवादीे वा पजन्नी’ संस्कार र प्रवृतिका कारण राणाहरु बीच चलिरहने द्धन्दको कोपभाजन पनि बन्नु प¥यो रामेश्वर बाबूको परिवारले ।

सन् १९१०, ३ डिसेम्बरका दिन स्व. सुब्वा सत्यनारायण सिंहका सुपुत्रका रुपमा रामेश्वर बाबूको जन्म भएको थियो । उहाँको प्राराम्भिक शिक्षा दीक्षा तत्कालिन सम्भ्रान्त परिवार अनुरुप सीमावर्ति भारत विहारको सूपौल स्थित विलियम हाईस्कुलमा भएको थियो । सन् १९२१ मा अध्ययन कै क्रममा त्यस वखतको असाध्य रोग ।।।काला ज्वरो’ ले थालिनु भयो रामेश्वर बाबू । कालाज्वरोको उपचारका लागि त्यस वखतको प्रख्यात कलकत्ताको कैम्प बेल मेडिकल कलेज अस्पतालमा उपचारका लागि भर्ना गर्नु प¥यो उहाँलाई ।

लामो विमारीका कारण औपचारिक शिक्षा अधुरो नै रहयो । रामेश्वर बाबूले स्वध्याय, लगन र व्यवहारिक अनुभवले उच्च शिक्षा प्राप्त गर्न नसके पनि आफुलाई राष्ट्रिय र अन्तरराष्ट्रिय जगतका यावत गतिविधिहरुमा पहुच पु¥याउन सफल र सक्षम हुनुहुन्थ्यो । त्यसबखत महात्मा गान्धीको नेतृत्वमा संचालित भारतीय स्वतन्त्रताको आन्दोलन उत्कर्षमा थियो । सन् १८५७ को ।।।गदर’ देखि अंग्रेज साम्राज्य बिरुद्धको भारतीय स्वतन्त्रता आन्दोलन सन १९४२ मा गान्धीजीले आव्हान गर्नु भएको ।।।भारत छोडो’ आन्दोलन सम्म पुग्दा निर्णायक मोडमा पुगि सकेको थियो । अंग्रेज साम्राज्य विरुद्धको ।।।भारत छोडो’ आन्दोलनले भारतीय उपमहाद्विपमा नवजागरणको अभूतपूर्व तरंग उत्पन्न गर्न सफल प्रमाणित भइ सकेको थियो ।

गान्धीजीको नेतृत्वमा संचालित भारतीय स्वतन्त्रता संग्राममा रामेश्वर बाबू आकृष्ट हुनु स्वाभाविकै थियो । अंग्रेजको दासता बाट भारत स्वतन्त्र नहुन्जेल अंग्रेजका पिछलग्गू निरंकुश राणाशाहीलाई पराजित गर्न सकिन्न भन्ने रामेश्वर बाबूको दृढ अठोट र राजनीतिक विश्लेषण थियो । फलस्वरुप उहाँ भारतीय स्वतन्त्रता आन्दोलनमा सशरीर होमिनु भयो । सन् १९४२ को ।।।भारत छोडो’ आन्दोलनको बखत आचार्य नरेन्द्र देव, जयप्रकाश नारायण, डा. राम मनोहर लोहिया लगायत दर्जनौ नेताहरुलाई गिरतार गरि हजारीबाग जेलमा राखिएको थियो । उहाँहरुले ।।।जेल ब्रेक’ गरि कांग्रेस सोसालिष्ट फोरम गठन गरेर भारतलाई स्वतन्त्र गर्ने उद्देश्यले छापामार गुरिल्ला युद्ध संचालनका गर्ने नीति बनाउनु भएको थियो ।

छापामार गुरिल्ला युद्ध संचालनका लागि जयप्रकाशजी लगायत नेताहरुलाई सुरक्षित राख्नु र गुरिल्लाहरुलाई प्रशिक्षण दिने उपयुक्त ठाउँको खोजिमा भारतीय क्रान्तीकारीहरु लागि परेका थिए । भारतका प्रख्यात समाजवादी क्रान्तिकारी नेता सुरज नारायण सिंहको बैनीको विवाह रामेश्वर वाबूको काकाका छोरा आनन्दी प्रसाद सिंहसंग भएको थियो । तसर्थ उहाँको बरसाइन आवत–जावत भई रहनथ्यो । यसै सम्पर्क शुत्रका कारण १९४२ को आन्दोलन कालमा जयप्रकाशजीलाई रामेश्वर बाबूको जमिन्दारी अन्र्तगत पर्ने बर्तमान सुनसरी जिल्लाको लौकही देखि उत्तर र्हिर्दवारी भन्ने ठाउँमा काँस र पटेरले ढाकिएको स्थलमा जयप्रकाशजी सहित अन्य भारतीय नेताहरुलाई राख्ने आश्रय (कजभतिभच) बनाईएको थियो । सप्तरीको कुशहा देखि उत्तर चुरेको श्रृंखलामा रहेको सुरुङ्गा पहाडमा छापामारहरुलाई हतियारवन्द प्रशिक्षण दिने व्यवस्था मिलाईएको थियो । पछि डा. राम मनोहर लोहियाजीलाई बम्वईबाट सुरक्षित सप्तरी ल्याएर जयप्रकाशजी संगै हर्दिवारी पु¥याउने काम गरियो । जयप्रकाशजी र लोहियाजीलाई सुरक्षित ।।।शेल्टर’ र छापामार गुरिल्लाहरुलाई चुरेको पहाडको सुरुङ्गामा प्रशिक्षण दिएर ।।।

आजाद दस्ता’ बनाउन कार्यमा रामेश्वर बावूको भूमिका उल्लेखनीय रहेको थियो । त्यस बखत रामेश्वर बाबूको भूमिगत छँदाको नाम ।।।सेतु बन्ध’ थियो । रामेश्वर बाबूले आफ्नो यसै भूमिगत नामबाट नेपाल र भारतमा रहेका क्रान्तिकारीहरु सम्पर्क शुत्र स्थापित गर्नु भएको थियो । ।।।भारत छोडो’ आन्दोलनको समय हजारौ भारतीय क्रान्तिकारीहरु नेपालका सिमानामा भूमिगत रुपमा एकत्रीत हुदै थिए । यसरी भारतीय नेताहरुको उपस्थिति बढ्दै जाँदा जयप्रकाशजी र डा. लोहिया उत्साहित भई काँग्रेस सोसलिष्ट पाटीर्क ो सम्मेलन सप्तरीमा गर्ने निधो गर्नु भयो । यस कार्यका लागि उहाँहरुले रामेश्वर बाबूलाई आग्रह गर्नु भयो । उहाँले बडो जोखिम कार्य भएता पनि आफ्नै निजी खर्चमा भूमिगत रुपमा सप्तरीको पश्चिमी भेगमा पर्ने राजपुर गाँउमा भारतीय काँग्रेस सोसालिष्ट पार्टीको सम्मेलन बडो सफलतापूर्ण ढंगले सम्पन्न गराउन महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । यसरी जयप्रकाशजी र डा. लाहियाको नेतृत्वमा भूमिगतरुपमा संगठन विस्तार र गुरिल्लाहरुलाई प्रशिक्षण दिई ।।।आजाद दस्ता’ निर्माण कार्य अघि वढिरहेको थियो । त्यहि समयमा राणा शासकहरुले आफ्ना सुराकी मार्फत भारतीय क्रान्तिकारी नेताहरुले कुशहामा आश्रय स्थल बनाई भूमिगत रुपमा आफ्ना क्रान्तिकारी गतिविधि संचालन गर्दै आएको सूचना पाए र सैनिक पठाई जयप्रकाशजी र डा. लोहिया लगायत नेताहरुलाई पक्राउ गरि सप्तरीको हनुमाननगर गौश्वाराको गारथ जेलमा बन्दी बनाईयो । यो कुरा सप्तरी जिल्ला भरि डढेलो साल्किए झै फैलियो । यो खबर सुरुङ्गा पहाडमा प्रशिक्षणमा रहेका ।।।

आजाद दस्ता’ का गुरिल्लाहरुले पनि चाल पाए । उनीहरु प्रशिक्षण स्थलबाट रातारात बरसाईन स्थित रामेश्वर बाबूको घरमा आई पुगे । यही नै गौश्वाराको गारथ जेलमा फौजी आक्रमण गरि भारतीय नेताहरुलाई मुक्त गर्ने निर्णय गरियो । रामेश्वर बाबूले आफ्ना भतिजा तारिणी प्रसाद सिंहलाई पथप्रर्दशक नियूक्त गरि त्यस तर्फ पठाउनु भयो । क्रान्तिकारीहरुले चारैतिरबाट हनुमाननगर स्थित बडा हाकिमको निवासमा धावा बोले । बडा हाकिम सुरक्षित भाग्न सफल भएता पनि गौश्वरा कब्जामा लिई आन्दोलनकारीहरुले जयप्रकाशजी र डा. लोहिया लगायत भारतीय नेताहरुलाई मुक्त गरि सुरक्षित भारतीय सीमा पारि आश्रयस्थलमा पु¥याउन सफल भए । यस घटनाले राणाशाहीको मुटुमा ढयाङ्गो ठोकियो । सोम शमशेरको नेतृत्वमा सेना परिचालन गरि हनुमाननगर पठाईयो ।

हुनमाननगर जेलबे्रेकका प्रमुख योजनाकार रामेश्वर बाबूलाई ठहर गर्दै राणाशाहीले उहाँ लगायत उहाँका ठूल्दाजु शत्रुघन प्रसाद सिंह, भतिजा तारिणी प्रसाद सिंह लगायत दर्जनौ व्यक्तिलाई पक्राउ गरि गम्भीर यातना दिन थालियो । रामेश्वर बाबूलाई काठमाण्डौ जेलचलान गरियो । सन् १९४३ को १५ जुन देखि १९४६ अप्रिल सम्म चारवर्ष रामेश्वर बाबूलाई काठमाण्डौको केन्द्रीय जेलमा कडा पहराका साथ राखियो । अन्ततः भारतमा स्वतन्त्रता आन्दोलनको सफलतापछि अन्तरिम सरकारको गठन पश्यात राणाशाही रामेश्वर बाबूलाई कारामुक्त गर्न बाध्य हुन पुग्यो । यसपछि रामेश्वर बाबू सन् १९४७ दखि १९४९ सम्म भारतको सोसालिष्ट पार्टीमा आवद्ध भई संगठन विस्तारको कार्यमा सक्रियताका साथ लाग्नु भयो ।

स्वतन्त्र भारतमा बसेर राणाशाहीको जनविरोधी काम कार्वाहीको प्रत्यक्षदर्शी एवं भुक्तभोगी रामेश्वर बाबू निरंकुश राणाको दासताबाट मातृभूमिलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने चिन्तामा निरन्तर तल्लिन रहनु भयो । यसै क्रममा भारतको कलकत्तामा उहाँको सम्पर्क बीपी कोईराला र सुवर्ण शमशेर संग भयो । नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको एकीकरण भई नेपाली काँग्रेसको स्थापना भयो । रामेश्वर बाबू ।।।सेतु बन्धु’ को भूमिगत नामबाट भूमिगत रहि २००७ सालको क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । वि.सं. २००७ सालको जनक्रान्तिको सफलता पछि दिल्ली सम्झौता भयो । त्यस पछि राणा र नेपाली काँग्रेसको संयुक्त सरकार गठन भयो । दिल्लीमा बीपी लगायतका नेताहरु रामेश्वर बाबूलाई मंत्रीमण्डलमा सामेल गराउन निरन्तर सम्पर्क राख्ने प्रयासमा हुनुहुन्थ्यो । यता भने सत्तामोहबाट परै बस्न रुचाउने रामेश्वर बाबू गरिब–गुरुवाका झोपडीमा लोकतन्त्र सन्देश बांडन व्यस्त हुनुहुन्थ्यो । यसै सन्दर्भमा बीपी कोईराला आफ्नो आत्मवृतान्तमा लेख्नु हुन्छ “तराईबाट म रामेश्वर बाबूलाई लिन खोजिरहेको छु । त्यो अलहदिया मान्छे सबै जना पुगिसकेको छन् । टेलिग्राम माथि टेलिग्राम दिइरहेको छु तर त्यो रामेश्वर प्रसाद सिंह आउदैन । ...........एक जनालाई दिनै पर्छ भनेर भद्रकाली मिश्रलाई राखे ।......... आखिरमा सहमति के भयो भने सबैलाई मिलाएर लिनुपर्छ । तराई पहाड सबै मिलाएर लिनु पर्छ ।”

वि.सं. २०१५ सालको आम निर्वाचनमा आफ्नो पकडको क्षेत्रको साटो अन्यत्र बाट बाध्यतावस निर्वाचनमा उम्मेदवर हुँदा उहाँ पराजित हुनभयो । वि.सं. २००३ देखि अनवरत नेपाली कांगे्रशमा आवद्ध उहाँ २००७ साल देखि २०१७ साल सम्म सप्तरी काँग्रेसको नेतृत्व पंक्तिमा रहनु भयो । उहाँले आफ्नो संगठनिक कौशलकै कारण पहाडिया मित्रलाल गिरिलाई सप्तरी कांगे्रशको सभापतिमा विजयी गराउनु भयो । हुन त त्यस समय पहाडीया मधेशीको नारा नलागेको पनि होइन । साम्प्रदायीक सोच र संस्कारका विरुद्ध सतीसाल झै सुदृढ रामेश्वर बाबू धाराप्रवाह शुद्ध नेपालीमा भाषण गर्न खप्पिस हुनुहन्थ्यो । २०१७ साल पौष १को राजा महेन्द्रको तानाशाही कदम पछि उहाँ भारत निर्वासनमा जानु भयो । उहाँ २०१७ देखि २०२६ सम्म प्रवासमा बसी पार्टीले दिएको निर्देशनमा एक अनुशासित र इमान्दार कार्यकर्ताका रुपमा कार्यरत रहनु भयो । सुवर्ण शमशेरको वक्तव्य पछि २०२६ मा स्वदेश पर्कनु भयो ।

२०२८ सालमा पंचायत शासन अन्र्तगत हुने स्नातक क्षेत्र निर्वाचनमा रामराजा प्रसाद सिंहले उम्मेद्वारी दिनु भएको थियो । रामराजा प्रसाद सिंहको निर्वाचन प्रचारको अभियानमा राजविराजमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा तत्कालिन अंचलाधिसको इशारामा पुलिसद्वारा निर्मम लाठीचार्जमा गम्भीर घाइते हुनुभयो रामेश्वर बाबू । तैपनि लोकतन्त्र प्राप्तिको संग्राममा पुरा सर्मपण भावका साथ लागि रहनुभयो । २०३६ को जनमत संग्रहमा वहुदलको प्रचार प्रसारमा सक्रियता पूर्वक लाग्नु भयो । सन् १९७६ मा रामेश्वर बाबू क्यान्सर रोगले थलिनु भयो । त्यस वखत भारतको भेलौर स्थित प्रख्यात अस्पतालमा उहाँको उपचार पनि भयो । तर अन्तत : २९ जुन १९७९ मा उहाँले मृत्यु वरण गर्नुभयो ।