हेल्लो ! जिल्ला प्रशासन कार्यालय सिरहा

हामी जिल्ला बासी आम नागरिक कोभिड-१९ संक्रमणको पहिलो लहरबाट बल्लतल्ल बचेर हाल दोश्रो लहरको चपेटामा भयभित अवस्थामा छौं। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (CCMC) को आकस्मिक निर्णय बमोजिम प्रथम चरणमा बैशाखको पहिलो हप्ता नै काठमाण्डौ उपत्यका लगायत देशका १६ वटा ठूला शहरहरुका विद्यालयहरु बन्द गरियो। त्यसको लगत्तै २०७८ बैशाख १४ गतेबाट CCMC को देशभरका विद्यालयहरुको पठनपाठन भौतिक उपस्थितिमा बन्द गर्ने र पठन पाठनका अनलाइन लगायतका बैकल्पिक बिधिहरुको अबलम्बन गर्नु भन्ने अर्को निर्णय आयो र देश भरका सम्पूर्ण शिक्षण संस्थाहरु पनि क्षणभरमा नै बन्द भए। लगत्तै बैशाख १६ गतेबाट काठमाण्डौ उपत्यकामा पूर्ण रुपमा निषेधाज्ञा लागू गरियो।साथै काठमाण्डौ उपत्यकाले पून: बैशाख २९ गते सम्मकालागि निशेधाज्ञा लम्ब्याएको छ। सरकारको CCMC ले यो सब कोरोना भाइरसको चेन ब्रेक गर्नलाई नै गरेको हुनाले जो स्वागत योग्य छ।

यति बेला अर्थतन्त्र भन्दा नागरिकको जीवन रक्षा सरकार र सरोकारवाला सबैको प्राथमिकतामा पर्नुपर्ने हो। स्वास्थ्यका संरचनाहरु कमजोर भएको हाम्रो जस्तो देशमा निशेधाज्ञा एउटा राम्रो र भरपर्दो बिकल्प भएको स्वास्थ्य विद्हरुले बताइ रहेका छन्। २०७८ बैशाख २१ गते सम्म देशका ४२ वटा जिल्लामा निशेधाज्ञा जारी भै सकेको जगजाहेर छ। सिरहाका छिमेकी जिल्ला धनुषा, उदयपुर र सुनसरी, मोरड. जिल्लाहरुमा पनि यस अघि नै निशेधाज्ञा जारी भै सकेको छ।छिमेकी जिल्ला सप्तरीले समेत अत्यावश्यक सामग्रीको ढुवानी गर्ने साधन बाहेक सम्पूर्ण यातायातका साधनहरुमा कडाईंकासाथ जोर-बिजोर प्रणाली लागू गरि भिड कम गर्नलाई प्रयत्न गरेको छ।हामी भन्दा कम जोखिम भएको छिमेकी जिल्ला उदयपुरले समेत बेलैमा निशेधाज्ञा गरिसकेको छ।

सिरहा जिल्ला जसको दक्षिण तिर खुल्ला बोर्डर छ जहांबाट जो कोही पनि सजिलै संग नेपाल भित्रिन सक्छ। त्यस्तै सिरहाको जनघनत्व पनि उच्च छ।त्यसै गरि संक्रमणको दर उच्च रहेको काठमाण्डौ उपत्यकाबाट हजारौंको संख्यामा जिल्लाबासी नागरिकहरुको आगमन समेत भएको छ। त्यसै गरि जिल्लाभरका विद्यालय-कलेजहरु समेत बन्द भैसकेकाले घर बसेका विद्यार्थीहरु समेत मेला,हाटबजार गुदरी बजार,भोज-भतेर, विवाह, पार्टी आदिमा निस्किंदा समेत भिड त्यत्तिकै बढेकै छ।साथै सिरहाको नागरिकको चेतनाको स्तर पनि औसत कम भएको अवस्थामा कोभिडको जोखिम बढ्न सक्ने सम्भावना एकदमै उच्च छ। त्यसमा पनि नयां बर्षको बैशाख १ गते देखि नै सिरहा र सप्तरी जिल्लाहरु हुने मेला र पर्वहरुमा हुने बेफिक्री,मास्क र सेफ्टी बिनाको भिडले कोभिडलाई पक्कै पनि बल मिलेको हुनु पर्दछ। यहांको संक्रमणको दर भने न्यून देखिएको छ भन्ने तर्क पनि आउन सक्ला। यहां PCR टेस्टिड. अत्यन्तै न्यून छ। तसर्थ संक्रमण दर न्यून छ भनेर नाक फुलाउनु ब्यर्थ छ।

सिरहा जिल्लामा  बैशाख २१ गते सम्म हालसम्म २,४३७ जना नागरिकहरु संक्रमित भएका छन् भने २,२७५ जना संक्रमण मुक्त भैसकेका छन् र जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले उपलब्ध गराएको डाटा अनुसार आजसम्म जम्मा सकृय संक्रमितको संख्या जम्मा १६२ संक्रमित रहेका छन् ।सिरहामा हालसम्म २७ जना नागरिकको कोभिडका कारण मृत्यु भै सकेको छ।जिल्लाको एक मात्र सिरहा जिल्ला अस्पतालमा रहेको PCR मेसिनबाट औषतमा दैनिक १०-१२ जनाको PCR टेस्टिड. हुने गरेको छ।यो संख्या राष्ट्रिय तथ्यांकका अगाडि अत्यन्तै न्यून हो।तर जिल्लामा कोरोना परिक्षणका लागि PCR मेसिन छ भन्ने कुराको जानकारी पनि त कसैलाई छैन। देश भरीको  बैशाख २१ गतेको तथ्यांकले आज सम्म कै उच्च रेकर्ड कायम गरेको छ। संक्रमित संख्या ७,६६० र मृत्यु समेत हाल सम्मकै उच्च अर्थात् ५५ जना रहेको छ।

यस्तो परिवेशमा जनजीवन सामान्य रुपमा चल्न दिनु भनेको नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड. गरेको ठहर्छ। तसर्थ DCMC बाट निर्णय गरि कम्तिमा १० दिनकालागि अत्यावश्यक सेवा बाहेकका क्षेत्रलाई अबिलम्ब कडा भन्दा कडा निशेधाज्ञा गरि नागरिकको जावन रक्षाकालागि संबेदनशील बन्न आम सर्वसाघारण नागरिकको तर्फबाट हार्दिक आग्रह गर्दछु।