अस्ताए मधेस बिद्रोहका महानायक

नाम जस्तै बहादुर,सरल जीवन शैली, बिद्रोही र हठ्ठी स्वभाव,भाषणमा आगो ओकल्ने , अन्याय र अत्याचारका दुष्मन अर्थात तिनै कृष्णबहादुर यादब जसलाई कसैले मधेसी नागरिकका मसिहा भन्थे, कसैले नायक त कसैले मधेस बिद्रोहका महानायक। आज मधेसी नागरिकले जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा यिनको उल्लेख्य र अविश्मरणीय योगदान रहेको छ। पहिले मधेसी समुदायका मन्त्रीको नाम लिन सोच्नु पर्थ्यो अहिले सोच्नासाथ दर्जनौं नामावली आंउछ। मधेसी नागरिक शिक्षक, प्राविधिक सेवामा मात्र नाम कहलिएका थिए तर २०६४/६५ यता आएर मधेसी नागरिक लोक सेवा, प्रहरी सेवा, नेपाली सेना आदिमा समेत पहुंच प्राप्त छन्। जसका कारण कृष्णबहादुर जस्ता योद्धा।

उनको वास्तविक उमेर ६२ बर्ष रहेछ तर पनि उनको जोस् भने २६ बर्षे नै थियो। पिता स्व. फुलेश्वर यादव र माता बौवा देवीका कनिष्ट पुत्र कृष्णबहादुरमा उनका बुवाको गुण रहेको थियो। उनका पिता फुलेश्वर पनि समाज सुधारक थिए। परम्परागत कुसंस्कार, मधेसको समाजलाई जकडाएको माइनजन प्रथा, दहेज र अनावश्यक भोज-भतेरका समेत बिरोधी उनका पिताको गुण भन्दा उग्र तवरमा बिरोध गर्ने कृष्णबहादुरको बानी थियो।

बिहारको मधुबनीमा अवस्थित आर.के कलेजबाट बि.एस्सी. सम्म अध्ययन गरेका कृष्णबहादुर तिक्ष्ण बुद्धिका थिए। राष्ट्रिय- अन्तराष्ट्रिय राजनीतिका समेत जानकार थिए। नेपालको पंचायतकाल देखि नै बिद्रोही भएका उनी १५-१६ बर्षको उमेर देखि नै समाज र राष्ट्रमा भएको अन्याय र अत्याचारका सत्रु साबित थिए। उनी लोकतन्त्र प्रति कति क्रेजी थिए भन्ने कुरा उनका दुई वटा छोराहरुको नामाकरणबाट पनि प्रमाणित हुन्छ। जेठा छोराको नाम बिधानचन्द्र र कान्छाको नाम लोकचन्द्र राखेका थिए।जसले उनी अन्तरात्मा देखि नै लोकतन्त्रका पक्का हिमायती थिए भन्ने प्रमाणित हुन्छ।मधुबनीमा इन्टरमिडिएट पढ्दा देखि नै राजनैतिक चेतना भरपुर आइसकेको थियो।

२०३६ सालको विद्यार्थी आन्दोलनमा त उनी उदियमान विद्यार्थी नेता बनि सकेका थिए। २०४०-४१ साल मै उनी चर्चित गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका नजिकका विश्वास पात्र बनि सकेका थिए। रामराजाप्रसादकै प्रेरणा,संपर्क र प्रशिक्षणले २०४२ को सिंह दरबार बम काण्डमा समेत उनी प्रत्यक्ष संग्लग्न भएका थिए। जसका कारण रामराजाप्रसाद संगै उनी पनि निकै लामो निर्वासित जीवन यापन गर्न बाध्य भए।

२०४३ सालमा सुखीपुरमा अवस्थित एउटा बैंकको गार्डले एउटी दाउरा बेचेर निर्वाह गर्ने केटीलाई बलात्कार गर्ने प्रयास गरेको घटनामा सो बैंकको गार्डलाई कृष्णबहादुरले कुटपिट गरेको घटनालाई तत्कालिन शासकहरुले राजनैतिक प्रतिशोध लिनैका लागि एउटा अवशरका रुपमा निजलाई पक्रेर सिरहा प्रहरीमा घोर यातना दिइएको थियो।त्यो घटनामा कृष्णबहादुरलाई सबै औंलामा पिनले घोचेर घोर यातना दिइएको कुरा निजसंग पटक पटक भएको बातचितका क्रममा पनि उठाइरहन्थे।पछि उनको विवाहकालागि तत्कालिन तिन जना रापंस तथा पूर्व मन्त्री डा. डम्बरनारायण यादव, विश्वेश्वर मर्वैता याजव र गजेन्द्रनारायण सिंह समेतको जमानतमा यातना र जेल मुक्त भएका थिए।यो घटनाले उनमा झनै सत्ता बिरोधी चेत र भावनामा अभिबृद्धि गराएको थियो।

पछि २०४६ को पंचायत बिरोधी अन्दोलनमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा उनको समेत सकृय सहभागिता भएको हुंदा कृष्णबहादुर समेत तत्कालिन प्रशासकबाट पटक पटक एरेष्ट भएका थिए। तत्कालिन राष्ट्रिय पंचायतको उम्मेदवार पंचायत बिरोधी नेता केदारनाथ यादव समेतलाई चुनावमा निकै सहयोग गरेका थिए।

नेपालको दोस्रो जनआन्दोलन पश्चात् गठित अन्तरिम ब्यवस्थापिकाद्वारा निर्मित नेपालको अन्तरिम संबिधान-२०६३ माघ १ गते प्रमाणिकरण र प्रकाशन भई जारी भए पश्चात् यसमा मधेसी,आदिबासी, अल्पसंख्यकका माग संबोधन नभएको साथै आन्दोलनको भावना बमोजिम संघियतालाई ओझेलमा पारी तत्कालिन दलहरुले जनतालाई भ्रममा पारेको भनि तत्कालिन मधेसी जनअधिकार फोरमले माघ २ गते अन्तरिम संबिधानलाई माईतिघर मण्डलामा जलायो र उपेन्द्र यादब लगायत मजफोका २८ जना नेता कार्यकर्तालाई ९० दिन सम्मको थुनुवा पूर्जी सहित धरपकड गरि मुद्दा लगायो। यो घटनाले देश भरी संबिधान जल्यो र आन्दोलनले जेहाद छेड्यो । लहान वार्ड नम्बर ७ का वडाध्यक्ष तथा जसपाका सिरहा जिल्ला उपाध्यक्ष समेत रहेका युवा नेता राकेश रोशन गुप्ताका अनुसार मजफोका तत्कालिन केन्द्रीय सदस्यका हैसियतले कृष्णबहादुर यादबले माघ ३ गतेका दिन मलाई पनि आन्दोलनमा समाबेश र सहभागी गराउनु भयो र हामीले ५/७ जना मात्रै भएता पनि हाइवेमा १ घण्टा चक्का जाम गर्यौं र मधेस आन्दोलनको शुरुवात लहानबाट भयो।यो कुरामा नेता केदारनाथ यादबको पनि समर्थन रहेको छ।


नेता केदारनाथ यादबका अनुसार २०६३ माघ ३ गते कृष्णबहादुर यादब मधेसी जनअधिकार फोरम मार्फत लहानमा पनि आन्दोलन चर्काउनु पर्यो तपाईंको साथ चहियो भनि करिब ४:०० बजे मेरो घर आउनु भयो र हामीले स्थानीय कार्यकर्ता सहित सांझ ६:०० बजे १ घण्टा चक्काजाम र मसाल जुलुस सहित गरि आन्दोलनको शुरुवात गर्यौं। त्यसको भोलि पल्ट माघ ४ पनि सोही क्रम रह्यो। माघ ४ गते सांझको कोणसभाबाट भोलि माघ ५ गते पनि ९ बजे देखि ११ बजेसम्म चक्का जामको घोषणा गरियो र ५ गतेका दिन ११:०० बजे बसेको कोण सभामाले नै अनिश्चित कालिन चक्का जामको घोषणा गरियो। सोहि क्रममा माओवादी नेता राम कार्कीको दलबल सहित पूर्वबाट आगमन भयो र निजले आन्दोलनकारीको संबेदना नबुझिकन जबर्जस्ती रुपमा आफ्नो सवारी चलाउन खोज्दा रमेश महतो लगायतका कार्यकर्ताले निज कार्कीलाई आन्दोलनको अवज्ञा गरेको भनि अबरोध गर्न खोज्दा राम कार्कीसंगै भएका माओवादी कार्यकर्ता सियाराम ठाकुरले गोली चलाउंदा रमेश महतोको हत्या भएको थियो।त्यसको भोलिपल्ट माघ ६ गते राती माओवादी नेता मातृका यादबले जबरजस्त रुपमा रमेश महतोको लाश लिएर गए पछि आन्दोलनको उभार अझै बढेको थियो।त्यस आन्दोलनमा लहानबाट रमेश महतो, बिजय सहनी, बेचन यादब, मो.अनिश, प्रमोद सदाय गरि ५ जना शहादत भएका थिए भने बिसनपूरका प्रमोद ठाकुर लगायत सिरहा जिल्ला भरिबाट ६ जनाले शहादत प्राप्त गरेका थिए।तत्पश्चात् लगातार रुपमा १९ दिन सम्म चलेको मधेस आन्दोलनमा ५४ जनाले शहादत प्राप्त गरेका थिए। २०६३ देखि हाल सम्म मधेशी नागरिकको अधिकारकालागि भएका पटक पटकका आन्दोलनमा सय भन्दा बढिले शहादत प्राप्त गरिसकेका छन्।

मधेश आन्दोलन पक्कै पनि नेपालको इतिहासमा उल्लेखनीय घटनाका रुपमा रहनेछ।राकेश रोशन गुप्ताका अनुसार मधेशी जनताको अधिकार र मधेश आन्दोलनका बारेमा जहांजहां कुरा चल्छ त्यहां त्यहां कृष्णबहादुर यादबको नामको उल्लेखनीय चर्चा हुनेछ। उनलाई इतिहासले स्वर्णाक्षरले लेख्नेछ। उनको योगदान अविश्मरणीय र अतुलनीय रहेको छ।

२०६३ माघको मधेश आन्दोलनको मात्र हैन त्यस पछिको झण्डै ७-८ बर्ष चलेको मधेश र मधेशीका अधिकारका आन्दोलनमा समेत कृष्णबहादुर अग्रपंतिमा रहेका हुन्थे। साथै २०७७ पौष ५ गते केपी ओलीले आफ्नो दुई तिहाई बहुमत रहेको संसद बिगठन गरि प्रतिगमन गरेको घटनाको बिरोधमा समेत कृष्णबहादुरको लहानमा उल्लेख्य भूमिका रहेको थियो। उनी भन्थे प्रतिगमन नसच्चिए सम्म यो आन्दोलन जारी रहन्छ।

कृष्णबहादुर यो पनि पटक पटक भनिरहन्थे कि मधेशी नेताले मधेश र मधेशी जनताका अधिकार सम्बन्धी मागलाई सत्ता र सुबिधासंग साटेर बेइमानी गरिरहेका छन्। नभन्दै हालसालै सत्ताकालागि महन्त ठाकुर र राजेन्द्र महतोका क्रियाकलापलाई नियाल्दा पनि कृष्णबहादुरको भनाई अझै पुष्टि हुन्छ। प्रतिगमनका बिरुद्ध झण्डै २ महिनाको आन्दोलनमा आगो ओकल्ने राजेन्द्र महतोलाई केपी ओलीको किन र कुन कुराले उनकै सत्ता जोगाउन प्रेरित गर्यो? आज आम मधेशी नागरिक प्रश्न गरिरहेका छन्। साथै ओलीको फुटाऊ र राज गर भन्ने राजनैतिक दाउ प्रति मधेशी नेताहरुमा चेत नभएको भनेर कसरी भनुम्। यो त सत्तासंगको सौदाबाजी नै होला। मधेशी नेताहरुले बरु कांग्रेस, माओवादीलाई साथमा लिएर सत्ताको नेतृत्व आफ्नो हातमा लिएको भए बुद्धिमानी हुन्थ्यो कि? जसले नयां इतिहास पनि त रचिन्थ्यो नि हैनर?

यो त भयो मधेश आन्दोलन र मधेश आन्दोलनमा कृष्णबहादुर यादबको योगदानको कुरा कृष्णबहादुर यादब जसले आफ्नो सारा जीवन राजनीतिमा ब्यतित गरे, समाजका कुरीतिका बिरुद्ध लडे। तर पद, सत्ता, सुबिधाको भोग कहिल्यै गरेनन्।अत्यन्तै सादगी जीवन बिताए।डाइबिटिज रोगबाट पिडित कृष्णबहादुरको वास्तब मै उपचार बिना मृत्यु भयो।राज्य सत्ताले अलिकति पनि चासो राखेको भए उनलाई अरु २० बर्ष बचाउन सक्थ्यो। उनका दुबै मृगौला फेल भइसकेको अवस्थामा पनि मृगौला ट्रान्सप्लान्ट गर्ने सफल प्रबिधि नेपालमा आइसकेको छ। स्वयं प्रम ओली समेतको नेपाल मै दुई-दुई पटक सम्म मृगौला प्रत्यारोपण भइसकेको छ। उनकै नेतृत्वबाट सत्ताको सिडी चड्नेहरु निजको स्वास्थ्यलाभको लागि अस्पताल जानुको त कुरै छोडौं, स्वास्थ्य लाभको एउटा बिज्ञप्ति निकाल्न समेत उचित ठानेनन्। धन्य राजनीति।

मृत्यु पश्चात् निजलाई श्रद्घान्जलि र निजका परिवारजन प्रति समबेदना प्रकट गर्न प्रदेश दुईका ढिकुटी (अर्थ)मन्त्री माननीय बिजय यादब, पूर्व पर्यटन राज्य मन्त्री सत्रुघन सिंह, प्रदेश सभासद सुनिता राम, बाबुराम भट्टराई प्र. म. हुंदा बखतका उनका प्रेश सल्लाहकार एवं बुद्धिजीवि रामरिझन यादब, नेता नरेश यादब, सुखीपुर नगरपालिकाका मेयर रामावतार यादब हरुको उपस्थिति रहेको जानकारी भयो तर वहांहरुले के कस्तो कमिटमेन्ट गर्नुभयो सो जानकारी भएन। यदि उहांहरुले परिवारदनका पक्षमा कुनै कमिटमेन्ट नगरिकन कृष्णबहादुरको परिवारजनले आयोजना गरेको श्राद्ध भोज मात्र ग्रहण गरि फर्किनु भयो भने त्यो ब्यर्थ हुनेछ। त्यसमा पनि ढिकुटी मन्त्रीलाई त्यो क्ष्यम्य हुने छैन।अहिले पनि समय बांकी छ। नेताहरु उनलाई सांचो श्रद्धान्जलि दिन चाहन्छन् भने दुबै छोराहरु बिधानचन्द्र र लोकचन्द्र अनि छोरीहरु श्वेता र मिशाको शिक्षा अनि रोजगारीको पूर्ण प्रत्याभूति गरुन्।

निजको योगदानको कदर गर्दै लहान एभरेष्ट कलेजले दुबै छोरालाई कक्षा ११-१२ (बिज्ञान संकाय) सम्म नि:शुल्क अध्यापन गराइ सकेको छ। साथै दुबै छोरीहरु हाल एभरेष्ट कलेजमा नै नि:शुल्क रुपमा ब्याचलर (बी.बी.एस.) अध्ययनरत छन् र अब उप्रान्त पनि दुबै छोरीहरुरुको नि:शुल्क अध्ययनको निरन्तरता रहनेछ। तर राज्यको तर्फबाट के त? छोरा-छोरीको शिक्षा र उनीहरुको रोजगारीको ग्यारेन्टी गरि राज्यले अबिलम्ब उनीहरुको अविभावकत्व निर्वाह गर्नु पर्दछ। यदि त्यसो भयो भने मात्र कृष्णबहादुरलाई सम्झिएर गरिएको श्रद्धान्जलि सांचो श्रद्धान्जलि हुनेछ।अनि परिवारजनमा सांचो अर्थको समबेदना हुनेछ। नत्र कृष्णबहादुर यादबले राज्यसत्तालाई जीवन भर बिरोध गरिरहे भने मरणोपरान्त पनि उनको आत्माले समेत सराप्ने छ।

कृष्णबहादुर मधेशी नेता मात्रै रहेनन् किनकि सबै आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीलाई राज्यले संबिधान मार्फत ग्रहण गरि सकेको छ। त्यस अर्थमा संघीय सरकार र प्रदेश दुई सरकार उनको परिवार र उनको योगदान प्रति संबेदनशील हुनु पर्दछ। उनको स्मृति प्रतिष्ठान बनाइनु पर्दछ। शालिक राखिनु पर्दछ।पाठ्यक्रममा उनको जीवनी लेखेर भावि पिढिंलाई इतिहास बोध गराउनु पर्दछ। किनकि उनी मधेश बिद्रोह र मधेश आन्दोलनका जिउंदा शहीद पनि त थिए।

अन्त्यमा,आज स्वर्गीय कृष्णबहादुर यादब दाइको १३ औं पूण्य तिथिको अवशरमा निजको आत्माको चीर शान्तिको कामाना सहित हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दछु। साथै निजकी धर्म पत्नी रितादेबी यादब, छोराद्वय बिधानचन्द्र र लोकचन्द्र, छोरीद्वय श्वेता र मिशा अनि ज्वाइं रन्जित यादब समेतमा हार्दिक समबेदना ब्यक्त गर्दछु।