'उपभोक्ताले हामीलाई चुनाव जिताउनेमा म ढुक्क छु'

सिरहा । मिर्चैयाको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावी माहोल तातेको छ । यही आउँदो चैत २० मा हुने खानेपानी संस्थाको नेतृत्वका लागि चुनावी मैदानमा होमिएका विभिन्न चार प्यानलले आफ्ना गतिविधि तीव्र बनाएका छन् । यतिबेला उम्मेदवारहरुले उपभोक्तालाई शुद्ध खानेपानी दिने र लथालिङ्ग अवस्थामा रहेको खानेपानी संस्थालाई उद्धारको काम गर्ने प्रतिबद्धतासहित चुनावी प्रचारप्रसारमा सक्रिय बनेका छन् ।

चुनाव नजिकिँदै गर्दा बजारमा आकांक्षीहरुले आफ्नो भेटघाट बाक्लो बनाएका छन् । लामो समयपछि हुन लागेको आसन्न चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरुमध्ये कतिपय पुरानै अनुहार छन् भने कतिपय नयाँ, नयाँमा पनि वृद्ध र युवा छन् । मिर्चैया खानेपानीको हालको उपभोक्ता अर्थात् भनौ, मतदाता २४ सय ६१ रहेका छन् । चुनावलक्षित गरेर यतिखेर उम्मेदवारहरु आ–आफ्नै चुनावी मुद्दाहरूका साथ चुनावी मैदानमा छन् । 

यसैमध्येका एक हुन्, नयाँ र युवा अनुहार अंजय साह । तत्कालीन राजपाका मिर्चैया नगरध्यक्षसमेत रहेका उनी हालको जसपा, राप्रपा, एमाले (ओली समूह) र बसपा संयुक्त गठबन्धनको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हुन् । उनी मिर्चैया खानेपानी संस्थाले सक्षम नेतृत्व पाउनुपर्ने र यहाँको खानेपानीको समस्यालाई हटाउनुपर्ने आवाज उठाउने मध्येका फ्रन्टलाइनर अनुहार हुन् । उनले चुनावमा आमूल परिवर्तनको एजेण्डा र खानेपानी विस्तारको प्रतिबद्धताका साथ नयाँ भिजन बोकेर आम उपभोक्तामाझ विश्वासको मत माग्दै घरदैलोमा पुगिरहेका छन् । यस क्षेत्रमा युवा नेताका रुपमा परिचीत साहसँग चुनावी सन्दर्भमा लिइएको ताजा अन्तरवार्ता प्रस्तुत छ :

अध्यक्ष पदका लागि तपाईको उम्मेदवारी किन ?

उपभोक्ताहरुलाई स्वच्छ खानेपानी घरघरमा चाहिएको छ । तर, पछिल्लो वर्षमा यस खानेपानी संस्थाको जस्तो हालत बन्यो, उपभोक्ताहरुमा जसरी पानीको हाहाकार भएको छ, जसरी यसको व्यवस्थापन भइरहेको छ, यो एकदमै दु:खद हो । अहिले मिर्चैयाको ४, ५, ६, ७ र ८ गरी ५ वटा वडामा मात्रै यहाँको खानेपानी सीमित मात्रै छैन, उनीहरूले पानी पनि पाइराखेका छैनन् । यहाँ अझै यस्ता वडा र बस्तीहरु छन्, जहाँ खानेपानीको हाहाकार छ, खानेपानीको पहुँच र विस्तार हुन सकेको छैन । धेरै पुरानो शैलीमा चलिरहेको संस्थालाई यदि सुधार गर्ने हो भने नेतृत्व नयाँ चाहिन्छ । नयाँ मात्र भएर पनि पुग्दैन, नयाँ भिजन भएको चाहिन्छ । साधन स्रोत जुटाउन सक्षम, जुझारु र पारदर्शी चरित्र भएको नेतृत्व चाहिन्छ । आम उपभोक्ताले संस्थामा आमूल परिवर्तन चाहेका छन् । हाम्रो उम्मेदवारी त्यही परिवर्तनका लागि हो, आमूल सुधारका लागि हो । हाम्रो प्यानलमा सबैजना नयाँ भिजनका साथ आएका छौं । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने म अंजय साहले मिर्चैयाको सामाजिक प्रगतिका लागि पनि काम गरिरहेको यहाँको हरेक उपभोक्तालाई अवगत छ । मैले समाजमा इमानका साथका सेवा गर्दै आएको हुँदा खानेपानी संस्थाको नेतृत्वका मत मागेको हुँ ।

तपाईले हिजोको दिनमा मिर्चैयामा उपलब्धिपूर्ण के–के कार्य गर्नुभयो र रुचाएका होलान् यहाँका उपभोक्ताले ?

म बुझ्ने भएदेखि नै सामाजिक रुपान्तरणका चिन्तित रहँदै आएको छु । सामाजिक सेवाको विभिन्न कार्यमा निरन्तर लागिरहेको छु । यहाँको हितका लागि हुने गरेका तमाम गतिविधिमा सरिक रहँदै आएको छु । खानेपानी संस्थाकै सन्दर्भमा कुरा गर्नुपर्दा यसमा पहिलेदेखिकै हाम्रो परिवारिक योगदान छ । मेरा पिता रामप्रताप साह १० वर्ष जति यस संस्थाको अध्यक्ष भएर काम गर्नुभयो । त्यतिबेला श्रोतसाधनको अभाव झेलेर पनि बुवाले जसोतसो ठीकै चलाउनुभयो । पछि उहाँ शारीरिक अस्वस्थताका कारण नयाँ अनुहारहरुलाई नेतृत्व सुम्पिन चाहनुभयो । तर, अहिले चुनाव लडेकाहरुमध्येकै केहि व्यक्तिहरुले त्यसबेला खानेपानी चल्दैन, विना काम तनाव किन लिनु भन्दै पञ्छिन खोज्नुभयो । तैपनि बुवाले यहाँका भद्रभलाद्मीहरुलाई बसाएर यसलाई निरन्तरताको लागि एउटा रुप दिनुभयो, समिति गठन भयो । त्यसपछि पनि जसोतसो ठिकै चल्यो, तर पछिल्लो दुई वर्षयता भद्रगोल छ । दुष्ट मनसायले तदर्थ समिति गठन गरी यसलाई भाँडो बनाउन खोजियो । त्यसपछि म लगायतका अगुवाहरूले खानेपानीलाई व्यवस्थित बनाउन निरन्तर आवाज उठायौं । सुरुमा सहमतिमै निकास दिलाउन पहल गर्यौं, तर हाम्रो त्यो प्रयास केहि लोभीहरुले सफल हुन दिएनन् । चुनावी प्रक्रियामै जान बाध्य हुनुपर्यो । खानेपानीलाई खराब मनसायका व्यक्तिहरुबाट बचाउन मैले मेरो जरुरी ठाने, त्यसैले मैले अध्यक्षको लागि उम्मेदवारी दिएको हुँ । म जुन जुन संस्थामा काम गर्ने अवसर पाउँछु, त्यसको अहित हुने र आम उपभोक्ताको शीर निहुरिने काम कहिल्यै गर्दिन । चुनाव भनेको जनताले जसलाई विश्वास गर्छन्, उसैले मत पाउने प्रणाली हो । आजसम्म मिर्चैयामा रहेर समाजका लागि मैले जे योगदान लगातार रुपमा गर्दै आएको छु, आम उपाभोक्ताले त्यसको अवश्य मूल्यांकन गर्नुहुनेछ भन्ने मलाई विशवास छ । यहाँको खानेपानीको समस्या विकराल बनेको छ । त्यसलाई फेर्ने आम उपभोक्ताको चाहना छ । विद्यमान अवस्थामा रहेका तीन वटै तहका सरकारसँग समन्वय गरी संस्थाको विकास र विस्तार गर्ने क्षमता म आफुमा रहेको ठान्दछु । यही नै उपभोक्ताको रोजाइ र मेरो चुनाव जित्ने मुख्य आधार हो, यसमा म ढुक्क छु ।

तपाई राजनीतिक नेता पनि हो । खानेपानीमा राजनीति प्रवेश राम्रो होला र ?

नेतृत्व चयन, चुनाव र सामाजिक सेवा भनेकै राजनीतिसँग अभिन्न रुपमा गाँसिएका विषय हो । राजनीति भनेको सामाजिक चेत हो । जोसँग राम्रो सामाजिक चेत हुन्छ, उसले समाज हाँक्न सक्छ । खानेपानी संस्था उपभोक्ताहरुको हित गर्ने साझा थलो हो । नेतृत्व चयनका सन्दर्भमा राजनीति हुँदा नराम्रो हुँदैन । तपाईहरु नै खोज्नुस् त, राजनीतिभन्दा टाढाको उम्मेदवार कसलाई भेट्नुहुन्छ ? आज कोही पनि राजनीतिको प्रभावभन्दा टाढा रहेको हुँदैन । तर, सवाल के हो भने चुनाव जितेर म खानेपानी संस्थाको अध्यक्षको पदभार सम्हाल्न थालेपछि राजनीतिक भेदभाव हुन्छ कि हुँदैन ? म अहिले नै प्रष्टसँग भन्छु, चुनाव जितेर गएपछि राजनीतिक आधारमा कसैमाथि भेदभाव गर्दिन । जब चुनाव जितेर जिम्मेवारी सम्हाल्न पुगिन्छ, राजनीतिको चश्मा र जुत्ता खानेपानी कार्यालयको ढोकाबाहिरै फुकाल्नेछु । यो मेरो बाचा हो । जुत्ता बाहिर नै खोलेर मन्दिरमा प्रवेश गरे जस्तै स्वच्छ भावनाले काम गर्नेछु । चुनाव जितेपछि यो कार्यकाल मेरो लागि अवसर र चुनौती दुबै हुनेछ । मैले मेरो भविष्य राजनीतिमा खोजेको छु । खानेपानीको नेतृत्वमा रहेर यहाँका जनताको मन जित्नुपर्ने चुनौती मेरो रहनेछ । र, मैले यो चुनौतीलाई अवसरको रुपमा लिनेछु । मेरो अरु जस्तो होइन, काम देखाएर, जनताको मन जितेर मात्रै नेता बन्ने चाहना छ ।

प्रतिष्पर्धीलाई कुन रुपमा लिनुभएको छ ?

लोकतान्त्रिक संस्कारमा हुर्किएको मान्छे हुँ म । चुनावी प्रतिष्पर्धालाई सहज रुपमा लिन जान्दछु । जोसूकै उम्मेदवार छन्, व्यक्तिगत रुपमा सबैप्रति मेरो सम्मान छ । उहाँहरु सबै यहीँका बासिन्दा हुन् । म पनि यहीँकै भएकाले हामी सबै कुनै न कुनै हिसाबले सामाजिक रुपमा नातामै पर्छौं । जति प्यानलका जो जो उम्मेदवार छन्, उहाँहरुमा अनि म र मेरो प्यानलमा के फरक छ, उपभोक्ताले थाहा पाइसकेका छन् । उपभोक्ताहरुले मतादेशमार्फत साँच्चिकै सेवकलाई अवसर दिनुहुनेछ भन्ने आशा छ ।

भावी योजना कस्तो छ ?

मैले अघि नै भनिसकेको छु कि मिर्चैया खानेपानीमा नयाँ सोच र उर्जा भएको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने आम उपभोक्ताको चाहनालाई सम्बोधन गर्दै हाम्रो प्यानलको उम्मेदवारी छ । हामीसँग एउटा दुईवटा होइन, दर्जनौं राम्रा योजना छन् । जे गर्न सकिन्छ त्यो मात्र हामीले टिमको प्रतिबद्धताको रुपमा उपभोक्ता समक्ष पुर्याउने कोशिस गरेका छौँ । सुरक्षित खानेपानी र उचित सरसफाईका लागि खानेपानी उपभोक्ता संस्थाको नेतृत्व अत्यन्त महत्वपूर्ण सवाल हो । म र मेरो टिमले जितेको खण्डमा मुख्यतः खानेपानी वितरण र सरसफाई देशकै नमुना बन्ने गरी काम गर्नेछौं । मिर्चैया क्षेत्रका बस्तीहरुलाई खानेपानीको कमि हुन दिने छैनौं । खानेपानी उत्पादन र वितरणमा उदाहणीय बन्ने काम गर्नेछौं । चुहावट नियन्त्रण गर्नेछौं, यहाँ हुने फजुल खर्च कटौती गर्नेछौं । अहिले अव्यवस्थित तरिकाले वितरण गरिएको खानेपानीको मासिक महसुल र जडान खर्च ज्यादै महँगो भएको आम उपभोक्ताको गुनासो छ । हामी जित्नासाथ महसुल र जडान खर्च घटाउनेछौं । महसुल घटाए पनि सेवाको दायरा र स्तर भने बढाउनेछौं । धारा जडानका लागि निवेदन आउनासाथ दिनेछौं, किनकि शुद्ध पिउने पानी पाउनु नागरिकको मौलिक अधिकार हो । खानेपानीको गुणस्तर नियन्त्रणका लागि आवश्यक जनशक्ति, उपकरण सहितको प्रयोगशाला सञ्चालनमा ल्याउनेछौं । आगलागी जस्ता आकस्मिक दुर्घटना न्युनीकरणका लागि अलर्ट रहनेछौं । खानेपानीको समग्र वितरण व्यवस्थापनमा आधुनिक प्रविधिको व्यवस्था गर्नेछौं । खानेपानी संस्थालाई उपभोक्ताको सर्वोपरि हितमा लोकतान्त्रिक विधिबाट सञ्चालन गरी सुशासन कायम राख्नेछौं । साथै, खानेपानीलाई मौलिक हकको रुपमा स्थापना गर्दै समग्र वितरण व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र सहभागिताको सिद्धान्तमा आफुलाई समर्पित गर्नेछौं ।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

सम्पूर्ण मतदाता महानुभावमा मेरो हृदयदेखि अनुरोध छ कि एकपटक मेरो नेतृत्वमा रहेको टिमलाई मतदान गरी विजयी बनाउनुहोस् । हामी तपाईहरुको मतलाई खेर जान दिने छैनौं । इमान्दारीपूर्वक काम गर्नेछौं । मलाई विश्वास छ, यस्तै हुनेछ ।