सिरहामा खुल्यो प्रदेश २ कै दोस्रो अत्याधुनिक राइस मिल

सिरहा । सिरहामा प्रदेश नम्बर २ कै दोस्रो अत्याधुनिक राइस मिल सञ्चालनमा आएको छ । सिरहाको धनगढीमाई नगरपालिका ९ स्थित सञ्चालनमा आएको कौशल एग्रो राइस मिलको मंगलबार उद्घाटन गरिएको छ ।

यो वीरगञ्जपछिको दोस्रो ठूलो र अत्याधुनिक राइस मिल हो । मिल समुद्घाटन समारोहलाई सम्बोधन गर्दै एनसीसी बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालले सिरहामा ठूलो लगानीको मिल सञ्चालन हुनु यहाँको लागि मात्र नभई देशकै लागि गौरवको कुरा भएको बताए । झण्डै ४० करोड लगानीको यो मिलमा एनसीसी बैंकले नै ऋण उपलब्ध गराएको छ । उनले व्यवस्थित तरिकाले उद्योग सञ्चालन गर्न शुभकाममा पनि दिए ।

एनसीसी बैंकले यस क्षेत्रको आर्थिक समृद्धिको लागि लक्ष्य अनुसार नै अगाडी बढिरहेको पनि उनले बताए । यस्तै, खाद्यान्न व्यापार तथा वाणिज्य विभागका महाप्रबन्धक नेत्र सुवेदीले यस्ता उद्योगहरुबाट अरुले पनि प्रेरणा लिनुपर्ने र स्वदेशमै श्रम गरेर देशको समृद्धिको यात्रामा योगदान गर्न सबैलाई आग्रह गरे ।

त्यसैगरी, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले उद्योगलाई नाफामुखीभन्दा जनमूखी बनाउन सकिए मुख्य सफलता त्यो हुने बताए । उद्योगका सञ्चालक महेश साहले ४० करोडको लगानीमा सुरु भएको राइस मिलमा ७० जना कामदारले रोजगारी पाउने बताए । उद्योग व्यापार संघ गोलबजारका वरिष्ठ उपाध्यक्षसमेत रहेका सञ्चालक साहले विगत लामो समयदेखि गोलबजारमा राइस मिल चलाउँदै आएका छन् ।

अब ठूलो नयाँ मिल सञ्चालनमा आएपछि यहाँबाट उत्पादित चामल देशमा मात्रै नभई बाहिर पनि निर्यात गर्नेगरी उत्पादन गरिने उनको लक्ष्य छ ।