गफाडीको गफ 

तस्विर : गुगलबाट

मानिसको सबैभन्दा फुर्सदको समयमा समय बिताउने कार्यमा आ–आफ्ना चुटकिला, कथा, कविता, साहित्य र अरु कुनै कलाहरु प्रस्तुत गरि फुर्सदिलो समयलाई आनन्दमय तरिकाले बिताउने (कटाउने)चलन छ । 

विशेषगरि यो कार्य अधिकांश रोजगारमा रहने कामको थकावट पछी  गर्ने र बेरोजगार ब्यक्तिहरुको लागि अधिक प्रयोग हुने गर्दछ । काममा ब्यस्त हुन नपाएकाहरुको बार्दली, बुर्जा, आँगन, अँगेना, घुर, चिया पसल, दारु पसल, कचहरि, फुलबारी, सडकपेटी, रिसोर्ट, खोला किनार, वन जंगलहरुमा समय कटनी गर्न जम्मा भएकाहरुले आफुले जानेका र भोगेका शिर्षकहरुलाई साथीहरुको माझ पस्कने चलन छ ।  

प्रायः प्रतिपक्षलाई होस वा सहपाठीलाई सचेतना वा ब्यङ्ग गरी भनिने गरिन्छ । स्थानिय भाषामा यसलाई थाङ्ने गफ पनि भन्ने चलन छ । मानिसले जब जब फुर्सद पाउँछ, तब तब आफ्ना समकक्षी, छिमेकी तथा साथीहरुलाई भेला गरी समयको सदुपयोग गर्न सर्वपक्षिय कुराहरुको टिकाटिप्पणी एवम समिक्षात्मक मन्थन गर्ने गर्दछन । मन्थनबाट निस्केको चुरो कुरो स्थानिय निकायमा निर्णयार्थ पेश हुने गर्दछ । 

मन्थनबाट निस्केको चुरो कुरो बाहेक अन्य कुराहरु सबै गफ गफमा मात्रै सिमित रहन्छ । चुरो कुरो गर्नेहरु समाजमा स्थापित रहन्छन,  गफै गफ गरेर समय बिताउनेहरु जति सबै गफाडीमा दर्ज हुने गर्दछन । 

चुरो कुरोको खोजी र मन्थनको लागि समाजमा सिमीत व्यक्तीहरु मात्र सकृय रहन्छन, सबैलाई चुरो कुरोको खोजी गर्ने अवसर र फुर्सदको भेउ रहन्न । परिवार र संस्कार अनुसारको मानवीय दिनचर्या रहने गर्दछ । अरुको खाएर गित भजन गाउँनेहरु समाजमा यत्रतत्र भेटिन्छन, ताई न तुईको गफ गरेर समाजलाई अन्योलमा राख्नेहरुको जमघटले गफाडीको गफमा मात्र सिमित राख्दछ । 
    गफाडीहरुको गफ कति उचित छ ? भन्ने विषय उसले जीवनकालमा घर बाहेक समाजलाई कस्तो मोडालिटि दिन सक्यो ? समाजका अगाडि गरेका गफहरुको कति तारतम्मे मिलाएको छ ?  साथै समाजलाई वा राष्ट्रलाई कस्तो योगदान दिन सक्यो ? भन्ने कुरा हामी गफमा लट्ठीनेहरुले बुझ्न आवश्यक छ ।

‘गफाडीको कथा’

एक जना व्यक्ती दाउरा लिन जंगल गएका थिए, जंगलमा पुगेर सुकेको रुख काट्न थालेछ । रुख काटेको आवाजले खोल्सामा सुतिरहेको बाघले टाउको उठाएर हेरेछ , र गर्जनका साथ उठेर रुख काट्ने तिर अघि बढेको देखेर ती रुख काट्ने व्यक्ती डरले त्यही रुखमा चढ्न थालेको देखेर बाघ रुख मुनि आई पुगेछ । बाघ रुख मुनि आईपुगेर रुख चढेको मानिसलाई झम्टने कोशिस गर्ने क्रममा रुखको आधाबाटो पुग्दै लड्दै गर्दथ्यो, जब जब बाघ उफ्रन्थ्यो तब तब रुखको मानिस अझ अझ माथी माथी चढ्ने क्रममा टुप्पैमा पुगि सकेको थियो ।  र, पनि बाघ सकि नसकि झम्टने क्रममा उफ्रिरहेको थियो, बाघको उफ्राई देखेर मानिसले डरले पिसाब फेर्न थालेछ ।  बाघले पनि उफ्रदा उफ्रदा दिक्क लागेर अब रुखबाटै चढेर मानिसलाई भेट्न सकिन्न भनेर बाघले मानिसले पिसाब फेर्दै गरेको धाराबाटै चढेर मानिसलाई भेटेर खाने सुर गरेर पिसाबको धाराबाटै चढ्न थालेछ । बाघ चढ्दा चढ्दै पिसाब आउने काम सकिएछ र बिचमा पुगेको बाघ लडेर मरेछ र मानिसको ज्यान जोगिएर भाग्न सफल भएको थियो रे ।         

यस्ता गफका दन्त्य कथा अनुसारका गफहरु सुन्नलाई मानिसहरुको झुण्ड समाजमा सर्वत्र पाईन्छन । समाजमा कसै कसैको गफले नै दैनिकी चिया, नास्ता, पान, सुपाडी, चुरोट, बिडी, सुर्ति, खैनी, गुट्खा लगायत साँझको झिलिमिलि वाला नास्ताको व्यवस्थापन अरुबाटै टारेर आफ्नो दिन काटेको पनि देखिन्छ, त्यस्ताहरुले नजानेको विषय नै हुन्न, सबै पार्टिको घोषणा–पत्र देखि सरकारको नीति नियम, मन्त्री, 
जि एम, कानुनी दफा उपदफा सबैको जानकार भए अनुसार नै गफको तारतम्मे मिलाउँन खप्पिस देखिन्छन । 

त्यस्ता व्यक्तीहरुले समाजको त के कुरा गरौ आफ्नो घरको सिन्को पनि भाँच्न भ्याएको देखिदैन । अर्काको खान पाए पछी, ख्वाउनेले जे जे गर्न लगाउँछ त्यहि त्यहि गरेर समाजलाई धुमिल बनाउँने गर्दछ । अनि हामीहरु जस्तालाई रणभुल्लमा राखेर कूलती व्यवहारमा फसाईएका हुन्छौ । 

गफले ढाल्ने पनि कला हो ! चिप्लो घस्ने पनि कला हो ! सिद्धान्त परिवर्तन गर्ने पनि कला हो  !  हुनै नसक्ने कुरालाई पनि हुने जस्तै पार्न सक्नु पनि कला हो ! गर्न नसकिने कुरा पनि गरेर देखाई दिन्छु भन्ने पनि कला हो !  यस्ता कला भएका व्यक्तीहरु हिजो आज सबै समाज, पार्टी सबै दल र तिनका भातृसंगठनहरुको कार्यकर्तामा अधिक पाईन्छ । 

गफ गर्ने र गराउनेहरु प्रायः समाज र राष्ट्र हितमा देखिदैनन्, बरु मनोरन्जनमा मात्र स्थापित रहन्छन । यहाँ मनोरन्जन दिनेहरु भन्दा पनि उपल्लो पदमा बसेर हावादारी गफ गरेर समय व्यतितमा अल्झेका देखिन्छन ।

तर, त्यसो भन्दै गर्दा पनि सरकारको उच्च पदस्थहरुले पनि हावा खाले गफ गरेर जनतालाई ठुल्ठुला सपना बाँड्दै हिडेको पाईन्छ । यति सम्मको सपना बाँड्छन की ३ करोड जनतालाई प्रती व्यक्ती १० कट्ठा जग्गा बाँड्ने रे,  १०×३. ३० करोड ÷ २. १५ करोड बिघा जग्गा बितरण हुन्छ, जबकी आधा भन्दा बढी वन जंगल, खोला नाला कटाउँदा बाँकी रहने जग्गाले प्रति व्यक्ती १ कट्ठा जग्गा पनि नपुग्ने हुन्छ । हो यस्ता खाले भ्रमित तथ्याँकले जनतालाई पिरोलेको छ, घर  घरमा चुलो बाल्ने ग्यास छोटो अवधिमै पूरा गर्ने वाचा र पहाडी ईलाका सबै तिर केवलकार, पानी जहाज, रेल सञ्चालन गर्ने जस्ता सपना बडाईले जनता वाक्क दिक्क भई आजित छन, भ्रष्टाचार हुनै दिन्न भए त्यस्तालाई तुरुन्तै कारवाही गरेर देखाउने प्रतिबद्धताहरु राख्न नपाउँदै भ्रष्टहरुको संरक्षण गर्ने कार्यशैलीले जनता आजित छन । 

हरेक व्यक्ती, हरेक कार्यकर्ता तथा समाज सेवी भनाउँदाहरुले अब भ्रामक, गफाडीहरुको दोहोलो काढ्ने गरी देशको अग्रगामी सन्देश बाँड्न सक्नु पर्दछ । साचो व्यवहार हुने र गर्नेहरुलाई बिरानो भए पनि स्थापीत गर्न सकौ, गफाडीहरुको गफमा लट्ठ पर्न छाडौ, हामी धेरै पछी परि सकेका छौ ।  धन्यवाद ।