इनफ इज इनफ

स्थिर सरकार भर्सेस अस्थिर सरकारको कुरा गरौं । नेपालमा लामो समयदेखि स्थिर र अस्थिर सरकारको बारेमा वहस चलिरहेको छ । प्रधानमन्त्री ओली कनीकनी स्थिर सरकारलाई घिसार्दै छन् । हामीले झन्डै अढाई वर्ष हेरिसकेको स्थिर सरकारले के ग¥यो ? ‘तल्लो तह’का नागरिकले स्थिर सरकारको अनुभुति गर्न पाएको देखिएन । दुवैखाले सरकार हुँदा सर्वसाधारणको भोगाइमा के फरक आयो ? बरु दैनिक जीवनका समस्या समाधान गरिदिने स्थानीय अगुवा सही अर्थमा नेता भएका छन् । राजधानीको सरकार स्थायी वा अस्थायी जे भए पनि चासो छैन समुदायका मानिसलाई । 

अन्यायपूर्ण यस समाजमा स्थिर सरकारले औचित्य गुमाउँदै गएको छ । गाउँको कुरा सुन्दा लाग्छ, स्थिर सरकारका नेतृत्वकर्ताहरुको काम गराइ, घुसखोरी र नागरिकलाई हेप्ने प्रवृत्तिले सिंगो प्रणाली दुर्गन्धित भएको छ । यस्तो अवस्थामा अब के गर्ने त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सजिलो उत्तर हुनसक्छ, क्रान्ति । तर क्रान्ति त धेरै पटक भइसके । किन आमजनताले र गाउँले नागरिकले क्रान्तिको अनुभूति पाएनन ?

उत्तर त्यति गाह्रो भने छैन् । परिवर्तनका नाउँमा मन्त्री र प्रधानमन्त्रीको अनुहार फेरियो । सांसद पनि केही हेरफेर भयो । व्यवस्थाको नाउँ फेरियो, तर शासनप्रणाली फेरिएन् । पुलिस प्रशासन, अड्डा अदालत उस्तै रहे । ती खास खास ठाउँमा नियम कानून पनि उस्तै रहे । ती ठाउँमा अनुहार पनि लगभग उस्तै रहे । आम जनताको सरोकारका यावत संस्थानहरुको कार्य प्रणानी अझै पनि उस्तै छन् । आउन भने प्रजातन्त्रको ठाउँमा गणतन्त्र आइसक्यो । एकात्मकका ठाउँमा संघात्मक आइसक्यो । तर जनताका सरोकारको वन्दोवस्त उस्तै छ, होइन र ?

उथलपुथलबाट परिवर्तन हुन्छ । उथलपुथल कष्टकर हुन्छ । क्रान्तिका पक्षधरहरुले उथलपुथलको कष्टलाई प्रसवपीडासँग जोडेका छन् । यो तुलना अति भएको हुन सक्छ । तर अलिकति सत्य पनि छ । फ्रान्सेली क्रान्ति ठूलो रक्तपातका साथ सम्पन्न भयो । रुसमा, चीनमा त्यस्तै भयो । नेपालमा माओवादीको नेतृत्वमा भएको हिंसा सम्झदा आङ्ग जिरिङ हुन्छ । मधेश आन्दोलनमा जनताले एक तर्फी दुःख पाए, गोली चल्यो, दर्जनौँ मानिस सहिद भए, सरकार हल्लियो, बल्ल मधेशले अधिकार पायो । तर, त्यो अधिकार पनि प्रयाप्त छैन । वर्गव्यवस्था, वर्णव्यवस्था र जातिउत्पीडन उस्तै छ । स्थिर सरकार समाज सढाउने माध्यम भएको छ । मानवको स्वभाव नै परिवर्तन र प्रगति हो । यसमा छेकवार भयो भने अस्थिरता आउँछ । त्यस्तो अस्थिरतासँग डराउँनु हुँदैन । अहिले पाँच–दश वर्ष नेपालमा अझै थप अस्थिरता होला जस्तो छ । यसमा डराउँनु पर्दैन् । युवा पिंढी सडकमा आएका छन् । इनफ इज इनफ भन्दैछन् । नयाँ पुस्ताको यो आवाज सुनौं, न तर्सौं । 

सिंगो विश्वमा अस्थिरताको नयाँ युग आएको जस्तो छ । सबभन्दा जटिल असमानता महिला र पुरुषको छ । अमेरिकाका गोराले कालालाई घाँटी थिचेर मार्दैछन् । राज्यले जातीय हिंसालाई बढावा दिंदै छ । नव फासीवाद उर्लिएको छ । तथाकथित नवउदारवादले मुठ्ठीभर सेठ–साहुकारलाई रोतोरात अरबपति बनाएको छ । आमजनता रोजीरोटीका निमित्त तड्पीरहेका छन् । राज्यलाई आम जनतासँग मतलब छैन् । राज्यका सत्तासिनहरु कुर्सी छोड्न चाहादैनन् । बरु मुलुकभित्र र बाहिर घृणा फैलाएर सत्ता टिकाउँन चाहान्छन् । त्यसका निमित्त त्यस्तै परे विश्वयुद्ध गर्न तत्पर छन् । भारत, चीन, रुस, अमेरिका नागरिकको पेट काटेर सशास्त्र बनाउँदै छन् । जनतालाई विभिन्न नारा दिएर भुलाउँदै छन् । यही सब देखेर युवा पुस्ता चिच्याएको छ । इनफ इज इनफ ।


नागरिकतामा महिलाको अधिकार, आमाको नाममा नागरिकता अहिले पनि विवादास्पद छन् । अझ पहिल्याउँदै जाँदा देखिन्छ दलितको जीवनशैली । अझ, मधेशी दलितको जीवनशैली, मुसहरको जीवनशैली । सबै दुखद छन् । अधिकारको लडाइँ अभैm टुंगिएको छैन । त्यसैले स्थिर सरकार यहाँ के गर्छ भन्ने खासै बुझ्न सकिएको छैन । 

नेपालमा अहिले आएका सम्पूर्ण परिवर्तन र क्रान्तिबाट प्राप्त अधिकार कागजमा सीमित छन्, व्यवहारमा लागू भएका छैनन् । त्यसैले क्रान्ति कुनै निश्चित गन्तव्यमा पुगेको भन्न मिल्दैन । हामीले यो नेपाल बनाउन, बचाउन त्यत्रो बलिदान, सहादत दिएको होइन । यत्तिका लागि लहानका राम–लक्ष्मण मारिएका होइनन् । उनीहरुको विशाल सपना थियो । त्यसैले मलाई लाग्छ हाम्रो आजसम्मको परिवर्तन अझ ठूलो परिवर्तनको एउटा पूर्वाअभ्यास, अर्थात् रिहर्सल मात्रै हो । 

मलाई अहिले नेपाल साँचो अर्थमा स्थिर होला जस्तो पनि लागेको छैन । र, म यो नेपाल यसरी नै स्थिर होस भन्ने पनि चाहन्न । उथलपुथलबाटै नयाँ शक्तिको उदय हुन्छ । एउटा उथलपुथलले उपेन्द्र यादव जन्मायो । अर्को उथलपुथल हुन आँटेको थियो । बीचैमा भाग्यो सिके राउत । अर्को उथलपुथलले अर्को क्रान्तिकारी जन्माउन सक्छ । त्यसैले म अहिले नेपाललाई पुग्यो भन्ने पक्षमा छैन । 

हिन्दूस्तान पनि यसबीच अत्यन्त आन्तरिक अर्थ अव्यवस्थाबाट गुज्रिरहेको छ । त्यहाँ कश्मिर र  मुसलमानको विषय उठेका छन् । धेरै आन्तरिक समस्या सम्बोधन भएका छैनन् । हिन्दूत्व तथा हिन्दूराज्यको अवधारणामाथि चर्चा भइरहेको छ । 

चीनको त कुरै नगरौँ । चीनमा यो भयो भन्छन्, त्यो भयो भन्छन् । त्यसो भए चीन यत्रो ज्यादा किन डराएको छ त ? त्यसै चीनमा यो कोरोना किन उत्पन्न हुनुप¥यो त ? हरदम आतङ्कवादबाट किन चीन परेशान रहन्छ त ? किन आएर चीनका पुराना नेताहरुले आफ्नो ठूलो अनुभवबाट राष्ट्रपतिको पदलाई १० वर्षभन्दा बढी लम्ब्याउनु हुँदैन भनेर किटेरै संविधानमा लेखेका छन् ? वर्तमान राष्ट्रपतिले त आजीवन राष्ट्रपति हुन्छु भने । चीनले यसबाट सुरक्षाबोध गर्ने कि असुरक्षा ?

अमेरिकालाई महान् प्रजातन्त्र मानिन्छ । समृद्ध पनि छ । त्यहाँको राष्ट्रपति ८ वर्षभन्दा बढी राष्ट्रप्रमुखको भूमिकामा रहन पाउँदैनन् । यी शक्तिराष्ट्र एकअर्कासँग असुरक्षाबोध गर्छन् । 

त्यसैले मलाई लाग्छ एक्काइसौं शताब्दीको अन्त्य हुँदासम्म तेस्रो विश्वमा खासगरी एसिया र अफ्रिकामा ठूलाठूला उथलपुथल हुन्छन् । ती उथलपुथललाई मध्यनजर राखेर हामीले अस्थिरताको पनि स्वागत गर्नका लागि माला लिएर उभिनुपरेको छ । अस्थिरता नै परिवर्तनको मूल हो । परिवर्तनको जननी हो । अस्थिरताबिना परिवर्तन हुँदैन । विगत १५ वर्षको इतिहासले पनि यही बताएको छ । र, यो १५ वर्षले नै इतिहासलाई टुङ्ग्याइसकेको छैन । क्रान्ति अन्त्यमा पुगेको छैन । 

दुर्भाग्यवश यस समय नेकपा र नेपाली काँग्रेसका अधिकांंश नेताहरु स्थिरताको नाममा एउटा अल्पकालीन सङ्किर्ण राजनीति गरिरहेका छन् । दीर्घकालिन सोच कसैसित छैन । दीर्घकालिन सोच भएका कुनैपनि व्यक्तिले स्थिरताको पक्षमा कुरा नबुझी ताली पड्काउँदैन । नयाँ क्रान्ति अपरिहार्य छ । तर नयाँ क्रान्ति मात्रै भनेर पुग्दैन । यो नयाँ किसिमको क्रान्ति हुने छ । यस क्रान्तिले नेतावादलाई वढावा दिने छैन् । व्यक्तिवादलाई वढावा दिने छैन् । विद्यार्थी र युवाले आफै अघि सरेर स्थानीय सत्तालाई बलियो बनाउँनु पर्छ ।

नेपालको इतिहासमा हाम्रा राजनीतिक दलहरुको ठूलो महत्व रहेको छ । राजा महेन्द्रले लोकतन्त्रको हत्या गरे । दलहरुको दीर्घकालिन संघर्षले त्यसलाई पुनःवहाली ग¥यो । राजा ज्ञानेन्द्रले तानाशाही सुरु गरे आम जनताले उनलाई विस्तापित गरे । गणतन्त्र कायम भयो । दोस्रो महान् जनआन्दोलनमा दलहरुको ठूलो भूमिका थियो । तर यता आएर दलहरुले आफ्नो सिमा बिर्सिएको देखिन्छ । शिक्षा, स्वास्थ्य, सडक, सहकारी सबै क्षेत्रमा दलिय भागबण्डा भएको छ । कोरोनाले समाज पिडीत र आतंकित छ । तर राहत बाड्दा पनि दलिय भेदभाव देखिएको छ । त्यसैले जागरुक विद्यार्थीले दलका भूमिकाका बारे नयाँ किसिमले सोच्नु परेको छ । राज्य, सरकार र पार्टी अलग अलग कुरा हुन । यिनलाई एक अर्काको पर्याय बनाउँनु हुँदैन् । तर अहिले त पुलिस, सेना, निजामती सेवा, लोकसेवा, न्यायालय, अख्तियार दुरुपयोग सर्वत्र दलीय प्रदुषण छ । नयाँ आन्दोलनले यस विषयका उपर बेलैमा दृष्टि पु¥याउनु पर्छ । उपर्युक्त संस्थानहरुमा देखिएको कुसंस्कार विरुद्ध आजैदेखि संघर्ष गर्नु पर्छ । यो काम सजिलो नहोला तर गर्नै पर्छ ।

एउटा बच्चा हिँड्न जान्दैन । हिँड्नभन्दा पहिले कुद्न खोज्छ । कुद्ने क्रममा लड्छ । त्यो लड्नु नै उनको शिक्षाको अनिवार्य अङ्ग हो । लडेन भने न हिँड्न जान्दछ, न कुद्न जान्दछ । गाउँविकासलाई अहिले दिइएको अधिकार ठिक छ । तर अधिकारीले हिड्न जानेका छैनन् । तर अभ्यासले एक दिन सिपालु बनाउँछ भन्ने आशा राख्नु पर्छ ।

गाउँ तथा स्थानीय निकायलाई अधिकार दिएर मात्र हँुदैन, कर्तव्यबोध पनि गराउनुपर्छ परेको छ । त्यस्तै वडा छन् । वडा भित्रपनि टोलहरु छन् । त्यहाँ वास्तवमा आफ्ना अधिकारका लागि जागरुक व्यक्ति निस्किन्छन् । उनीहरुले स्थानीय आवश्यकता बुझ्छन् । उनीहरुको बुझाइ अर्गानिक हुन्छ । आप्mना गाउँ तथा टोल सुहाउँदो हुन्छ । पुस्तकका आधारमा होइन, संगत र व्यवहारले उनीहरुको बुझाइ बढाएको हुन्छ । अधिकारको जागरुकताको अर्थ के हो भन्ने बुझ्न आफ्नो खुट्टामा उभिएर टोलका सबैको प्रभावकारी सहभागिता गराएर सहमतिका आधारमा काम गर्नुपर्छ । स्थानीय समाजका प्रत्येक घरको अवस्था बुझेर सबैको समस्याहरुलाई सामुहिक रुपमा समाधान गर्ने नयाँ तरिकाको खोजी गाउँबाटै गर्नुपर्दछ । उत्पादनमुखी युवा तयार गर्नका लागि संस्कार, शिक्षा र बानीबेहोरामा क्रान्तिको आवश्यकता छ । कृषि उत्पादनमा क्रान्ति, स्वास्थ्य र शिक्षामा क्रान्ति, परम्परागत पेशामा परिवर्तनका लागि क्रान्ति, स्थानीय स्रोतसाधनमा, स्थानीय अधिकार र संरक्षणका लागि क्रान्ति अनिवार्य भएको छ । यसैले युवाहरुको नारा सर्वथा जायज छ इनफ इज इनफ । 

आज किन नेपाल यस्तो भयो ? जे पनि माथिबाट ।  हामीले सरकारबाट पाउनुपर्दछ  भन्ने । सरकारले विदेशबाट कर्जा लिने । अनि, नेपालीको थाप्लोमा कर्जा थपिने । त्यसैले क्रान्तिले तय गर्ने नेतृत्व अहिलेभन्दा उल्टा हुन्छन् । माथिबाट तल आउँदैनन् । बरु तलबाट माथि जान्छन् । त्यसैले नयाँ क्रान्तिले उत्पन्न हुने नेता पुरानो प्रकारका हुँदैनन् । सकेसम्म कोही नेता हुँदैनन् । सबै सेवाभावबाट सिँगारिएका हुन्छन् । म होइन, हामी भन्ने लयबाट चलेका हुन्छन् । 

मानिस प्रश्न गर्छन् जनता तयार छन् ? छन् पनि, छैनन् पनि । गर्दै जादा सिख्दै जाने हो । लड्दै जाँदा सिख्दै जाने हो । उदाहरणका लागि हाम्रो बस्तीमा एउटा गाउँ छ । त्यहाँ महिलालाई नजान्ने भन्छन् । महिलाको कामको महत्व बुझ्दैनन् । एक महिलाले जति योग्यतापूर्वक घर चलाउँछिन्, त्यही काम पुरुषले सक्दैन । महिलालाई सक्रिय हुने अवसर जुटाउनु परेको छ ।  

हामीबीच महिला र निरक्षरका प्रति हेपाइ छ । अंग्रेजी नपेढेका प्रति उपहासको भावना छ । भोट भने उनीहरुकै चाहिने । तर उनीहरु नै हेपिने । उनीहरुको क्षमतालाई हामीले जानाजानी कुण्ठित गरेका छौँ । उनीहरुको आत्मविश्वासलाई क्षतविक्षत बनाएको छौ । अहिले हामीले नयाँ आन्दोलनले मुख्यतः उनीहरुसँगै सिख्नु पर्छ । अनिमात्र उनीहरुलाई सिखाउने सोच्न सकिन्छ ।