घरभित्रै गुम्सिएको समानता

-

के तपाईहरुले घरभित्रको असमानतालाई देख्नु भएको छ ? पक्कै पनि देखेर पनि नदेखे झै गर्नुभएको छ होला । हो म त्यही असमानताको कुरा गर्दै छु जुन छोरा र छोरीबिच अझ सम्म पनि कायमै छ । जसलाई हाम्रो घर, परिवार र समुदायले अझसम्म पनि निरन्तरता दिईनै राखेको छ । 

हो म यही घर, परिवार र समाजको कुरा गर्दैछु जसले दावी गर्ने गर्छ की हामी असमानताका विरोधी हौं, जसले ठूला–ठूला भाषण छाट्दै हिंडछ  र भन्छ छोरा–छोरी दुईटै एक समान हुन् भनेर, तर फेरि, किन त्यही घरमा छोरीले मात्र अथवा भनौ महिलाहरुले मात्र घरको सम्पूर्ण काम गर्नुपर्ने हुन्छ, जबकी छोरा भनाउँदा पुरुष पात्रहरु खाएर, गेम खेलेर, मोवाईल चलाएर, टि.भी. हेरेर,रमाइलो गरेर मात्र दिन व्यतित गरिरहेका हुन्छन् वा भनौ बाहिरको काममा मात्र सिमित हुन्छन । 

छोरीलाई मात्र चिया बना, खाना बना, कोठा मिला जस्ता विभिन्न कार्य गर्न किन भनि राखिन्छ वा यि सम्पूर्ण कामहरु महिलाहरुले मात्र गर्नुपर्छ भन्ने किसिमको मानसिकताको विकास किन गराइन्छ वालयकालदेखि नै ? तर छोराहरू लाई भने चिया खाएको एउटा जुठो  कप समेत  जुठेल सम्म लगेर राख्न सिकाइदैन  । तर छोरीहरूलाई भने भए भरको काम एक्लै गर्न सिकाइन्छ चाहे तयो घरको काम होस या त अफिस वा कुनै व्यवसायको ।

के यो गुम्सिएको असमानता हैन र ? 

यो घरभित्रै हुर्कदै गरेको असमानता, विभेद रुढिवादी परम्परा र कुविचार हैन र ? पक्कै पनि हो, यी सबै हाम्रो घरभित्रै रोपिएको विउँको उपजहरु हुन् । सानो उमेरदेखि नै छोरा मान्छेहरुलाई गल्ती गर्दा गल्तीको अनुभुति सम्म पनि गराईदैन् तर त्यही छोरीहरुलाई भने छोरी भएकै कारण विना गल्ती पनि शिर निहुरयाएर राख भनी सिकाइने गरिन्छ । 

एक किसिमले भन्ने हो भने मानसिक रुपले नै तालिम दिई तयार पार्ने गरिन्छ की छोरीहरुले बढी बोल्नुहुन्न  बाहिर बढी हिड्नुहुन्न्, ठूलावडा भनाउँदा केटा मान्छेहरुलाई जवाफ फर्काउनुहुन्न्, मुखमुखै लाग्नुहुन्न्, कुनै पनि कुराको प्रतिकार गर्नुहुन्न । यस्ता कुराहरू जबर्जस्ती छोरी मान्छेहरुको  मन मस्तिष्कमा ‘कोच्ने’ गरिन्छन् । फलस्वरुप अहिलेको २१ औं शताब्दीको विकसित युगमा आईसक्दा पनि प्रतिकार गर्नुको सट्टा घरभित्रै विभिन्न किसिमका घरेलुहिंसा मानसिक, शारीरिक यातना, विभेद, दुव्र्यव्यवहारको सिकार हुनु परिरहेको छ, छोरीहरुले र यो सबै समानताको नाममा घरभित्रै गरिने ब्याकमेल होइन र ? 

संस्कारको नाममा गरिने ब्याकमेल इज्जतको नाममा गरिने ब्याकमेल, नाम प्रतिष्ठा र सम्मानको नाममा गरिने ब्याकमेल, के यो सबै छोरी मान्छेहरुलाई परिधिभित्रै राख्नकै लागि सिर्जित गरिएको ‘ब्ल्याकमेल’का विभिन्न नमुनाहरु होइन र ? 

छोराहरूलाई जहिले पनि हरेक कुराको सामना गर्न र निडर भई लडन सिकाइनछ तर त्यसको ठिक विपरीत छोरीहरूलाई भने जहिले पनि सहन, सम्झौता गर्न, चुप लागेर सुन्न सिकाईन्छ तर  बोल्न सिकाईदैन, असमानता र विभेदको प्रतिकार गर्न सिकाइदैन र यो सबै हाम्रो आफ्नै घरभित्र हुर्किएको असमानता हो, जसलाई सामान्य आँखाले हेर्ने प्रवृत्तिको विकास भने अझै सम्म पनि भइसकेको छैन् । 

भ्रुण अवस्थादेखि मृत्युसम्म पनि पाइला पाइलामा विभिन्न अपमान, लाल्छना, हिंसाको सिकार बन्दै जीवन विताउन बाध्य पारिने एउटी छोरी मान्छेको जीवनलाई पनि सार्थक र अर्थपूर्ण बनाउनका लागि घरभित्रै रहेको अनसिन वा भनौ लुप्त असमानतालाई तिलाञ्जली दिंदै अगाडी बढ्न सक्यो भने घर, परिवार र समुदायभित्र हुर्किर्दै गएको असमानता पनि  विलिन हुने थियो होला तर  परिवर्तनको संवाहक बन्ने साहस भने अझै सम्म पनि डगमगाइ नै रहेको  छ यदाकदा हाम्रो समाजमा ।

तथापि  यस्ता मानसिकताको अन्त्येष्टि गर्न  घर परिवारले संस्कार, सम्मान र मानयताको नाममा घरका छोरीहरूलाई गर्ने ‘हिडन’ ब्ल्याकमेलको ‘द इन्ड’ भने गर्नै पर्छ ।