हाम्रो  वडा दशैं र  कोरोना महामारी

तस्विर : गुगलबाट

नेपाली हिन्दुहरुको पर्वहरुमा ठुलो पर्व वडा दशै मनाउन हरेक वर्ष सरकारले नै हर्षाेल्लासका साथ मनाउन एक हप्ते विदा दिने चलन र कर्मचारीहरुलाई दशैमा खर्च गर्न एक महिनाको तलब उपलब्ध गराउँछ । बैदेशिक रोजगार तथा शिक्षाको लागी गएका नेपालीहरु कमाई बोकेर आफ्ना आफन्तजनहरुसँग बसेर खुशियाली मनाउन दशै भन्दा १०/१५ दिन अघि नै घर आउने चलन उहिले देखिकै हो । खेती किसानीहरुले आफ्ना  उत्पादनहरु बेचबिखन गरी दशैको तयारीमा रहँदै आएका छन । व्यापारीहरु पनि आफ्ना कमाई अनुसार धुमधाम मनाउन विशेष तयारीमा रहदै आएका पाउँछौ । 

दशैको वाहानामा आफन्तहरु, साथीहरुको भेटघाट गर्ने सुनौलो अबसर पनि मानिन्छ । आफ्ना  जेष्ठ सदस्यको हातबाट टीका थापी शुभ आशिर्वाद लिने चलन अनादिकाल देखि चल्दै आएको छ । आफ्नो गच्छे अनुसारको दशै पर्वले एक प्रकारले खुशि नै दिईरहेको छ । दशैमा आफुभन्दा ठुला मान्यजन, अग्रज तथा शुभ चिन्तक एवम मितेरी साईनो, ससुराली सबैतिर समयले भ्याएसम्म कोजाग्रत पुर्णिमाको दिन सम्म टीका थाप्न भ्याई नभ्याई हुने गर्दछ । 

सदा झै को दशै भन्दा यस वर्षको दशै अनौठो र भय सहितको हुने देखिन्छ । आफन्त नै पराई सरह व्यवहार गर्नु पर्ने, लत्तकपडाहरु खरिद गर्दा, मर मसला खरिद गर्दा, खसी बोका खरिद गर्दा देखि नै कोरोना संक्रमणको जोखिमको ख्याल गर्दै खुबै सतर्कता अपनाउनु पर्ने  र ल्याईएका दशैका हरेक सामानहरुमा चनाखो रहनु पर्ने बाध्यकारी अवस्था देखि विगतमा आफन्तहरुसँगको मनोरन्जनमा पनि शंकास्पद रहनु पर्ने, खानपिनमा पनि दूरि कायम राख्नु पर्ने, एक अर्काको घर दलानमा जान पनि डराउनु पर्ने अवस्थाहरु पनि देखिन्छ । हरेक दृष्टिकोणले यो वर्षको दशै अरु दशै भन्दा खल्लो रहने पक्का देखिन्छ । आफ्नै सन्तानहरु पनि बाहिरबाट आउन पनि सवारी साधनको अभाव, खर्चिलो, शंकास्पद र कोरोना बोकेर घर आउने हुन कि भनेर त्रसित रहनु पर्ने, आईहाले उठबस, खानपिन, सुताई सबै कठिनाईमा बित्ने देखिन्छ । 

एक अर्कामा दूरि कायममा रहनु पर्ने, चर्पी वाथरुम, भान्सा सबैमा अलग अलग भएर व्यवस्था मिलाउनु पर्ने खालको दशैले प्रवेश पाउने पक्का छ । यस्तो दशै हामीले कति बर्ष सम्म मनाउनु पर्ने हो ? अन्यौल छ ।  जे जस्तो पनि हामीले सामना गर्नै पर्ने भएको छ, दशैको टीका थाप्ने र मनोरन्जन गर्न बिगत झै पाईने छैन नै ।

तथापी, सुझबुझका साथ हाम्रो वडा दशैलाई बिदा गर्नु नै छ, दशैको नाममा कोरोना भाइरस एक अर्कामा नसरोस भन्ने हेक्का राख्दै संक्रमितलाई पनि विशेष सहानुभूति दिलाउँदै, पाहुनाहरुको सम्मानमा ठेस नपुग्ने गरि व्यवहार गर्नु पर्ने हुन्छ । भरसक आफन्तहरुले पनि यस बर्षको दशैलाई मनाउनै पर्छ भन्ने नठानी व्यवहार मिलाउनु नै उचित देखिन्छ । “जिउ रहे घिउ खानु“ भन्ने युक्तीलाई मनन गर्नु पर्ने अबस्था छ । के केटाकेटी, के युवा , के युवती , के महिला , के पुरुष सबैले सुझबुझ देखाएर अविभावकलाई सहयोग गर्नु नै उचित ठहर्छ । 

दशै मनाउन उत्सुकहरुले पनि अर्कालाई चोट नपुग्ने व्यवहार गर्नु पर्ने देखिन्छ । मेलाठेला, हाटबजार, सिनेमा, सर्कस, तास जुवा, पिङ्गको मज्जा लिन खोज्नेहरुले पनि कोरोना संक्रमणको महामारी सम्झेर एकअर्कामा व्यवहार गर्नु नै हुनेछ । खानपिनमा ख्याल गर्नु पर्ने, चिल्लोचाप्लो, मसालेदार खानालाई हतोत्साह गर्नु नै हुनेछ । 

अझ भन्ने हो भने को ठुलो, को सानो, के धनी, के गरिब सबैले सबैलाई आत्मसाथ हुने गरी भाईचाराको व्यवहार देखाएर यस बर्षको कोरोना महामारी वाला दशै सम्झेर दशैलाई बिदा गरौ, सबै निरोग बनौ, स्वस्थ रहौ र अरुलाई पनि सहयोग मिल्ने खालको व्यवहार देखाऔ । आफ्नो घर, समाज , सहर सफा राखौ, अर्काको दुखको घाउमा नुनचुक नलाग्ने व्यवहार गरौ सबैमा वडा दशै २०७७ सालको हार्दिक शुभ कामना छ । 

सबैको भलो होस, मंगल होस, कल्याण होस, सबैको जय होस । धन्यवाद