गोलबजार नगरपालिकाले थाल्यो खेलग्राम निर्माण

-

सिरहा । गोलबजार नगरपालिकाले जिल्लामैं पहिलो पटक खेलकुद क्षेत्रको लागि खेलग्राम निर्माण थालेको छ । नगरपालिकाले २ नम्बर वडास्थित गुरुधाममा ५२ विघा क्षेत्रफलमा फैलिएको जग्गामा खेलग्राम निर्माण थालेको हो । 

७ विघा जग्गामा दक्षिण र उत्तरतिर दुई वटा प्यारापिट निर्माण गरिएको छ । यसवर्ष पूर्वाञ्चल खेलकुद विकास समितिको ३१ लाख रुपैयाँ लगानीमा प्यारापिट निर्माण गरिएको छ । त्यसैगरी दक्षिणतिरबाट संघीय सरकारको ६५ लाख रुपैयाँ लागत र नगरपालिकाको १५ लाख रुपैयाँको साझेदारीमा प्यारापिट निर्माण थालिएको छ । नगरपालिकाका खेलकुद प्रशिक्षक कसम लामाका अनुसार यसवर्ष ६५ लाख रुपैयाँ मध्ये ३४ लाख रुपैयाँ निकासा भएको थियो । ‘एक स्थानीय तह एक खेलग्राम’ योजना अन्तर्गत खेलग्राम निर्माण थालिएको नगरपालिकाले जनाएको छ । 

त्यसैगरी ९० लाख रुपैयाँ लागतमा गोलबजार नगरपालिका-४ स्थित कबर्डहल निर्माण गरिएको छ । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जिल्लामैं खेल क्षेत्रमा उदाहरणीय बनाउन ५२ विघा क्षेत्रफलमा क्रिकेट मैदान, स्वीमिङ, भलिबल कोर्ट निर्माण गर्न गुरुयोजना बनाएको जानकारी दिए । ‘जिल्लामै स्टेडियम छैन,’ उनले भने, ‘खेलकुदको विकासका लागि आपूmले खेल क्षेत्रमा गुरुयोजना बनाएर अघि बढेको हो ।’ नगरपालिकाका अनुसार एकै थलोमा सबै खेल क्षेत्र अटाउन खेलग्रामको पूर्वाधार सुरु गरिएको हो ।

यसैगरी लकडाउनकै बीचमा धनगढीमाई नगरपालिकाले खेलकुदका पूर्वाधार तयार गरेको छ । नगरपालिकाले धनगमाई नगरपालिका-३ स्थित ५० लाख रुपैयाँ लागतमा कर्बड हल निर्माण गरेको छ ।