कैदीबन्दीको स्वास्थ्यको ख्याल गरौं

सिरहा कारागार कोरोनाको जिल्लामैं ‘हटस्पट’ बन्ने खतरा बढेकोे छ । बुधबार र शुक्रबारको पीसीआर नतिजाले कारागार कतै कोरोना जोखिम केन्द्र त बन्दैन भन्ने सम्भावना बढाएको छ । दुई दिनको नतिजाले कारागारका ७८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १७ महिला र आश्रित दुई बालबालिकामा समेत कोरोना संक्रमण भएको छ । एकै थलोमा कोरोना संक्रमण दर उच्च हुनुले कारागारका कैदीबन्दीहरुको स्वास्थ्य असुरक्षालाई इंगित गर्छ । 

एकातिर १ सय ५० क्षमता भएको कारागारमा झण्डै चौगुना कैदीबन्दी कोचिएर राखिनुले त्यसै पनि कारागार व्यवस्थापन कस्तो छ भन्ने स्पष्ट हुन्छ । कारागारमा कैदीबन्दीको दिनचर्या कस्तो होला भन्ने जो सुकैले पनि अनुमान लगाउन सक्छन् । अर्कोतिर चौघेरा भित्र रहेका कैदीबन्दी अझ सुरक्षित हुनुपर्नेमा कोरोना संक्रमण भित्रिनु कारागार प्रशासनको लापरवाही नै हो भन्न सकिन्छ । चौघेराभित्र रहेका कैदीबन्दी सुरक्षित नहुनुले समुदाय कसरी सुरक्षित होलान र समुदायले सावधानी सजगता कसरी अपनाउँछन् भन्नेमा समस्या उत्पन्न गराएको छ । 

त्यसो त कारागारमा तीन वटा कक्ष क्वारेन्टाइन निर्माण गरिएको थियो । कारागार प्रशासनले कोरोना कहर सुरु भएसँगै कैदीबन्दी सँगको आफन्त र बाहिरी भेटघाटलाई बन्देज लगाएको थियो । कोरोना सावधानी अपनाउन कारागारमा २० लाख रुपैयाँ बजेट पनि निकासा भएको थियो । ती बजेटबाट कारागार प्रशासनले पर्याप्त सावधानी अपनाउन सामग्री खरिद गरि उपयोग गर्न सकिन्थ्यो । सामग्री खरिद गरिएपनि होलान । तर पनि कारागार प्रशासन कोरोना सचेतनामा चुकेको भन्नैपर्छ । 

कारागारभित्र त्यति ठूलो संख्यामा संक्रमित भइसक्दा पनि उनीहरुलाई आइशोलेसन गरिएको छैन् । सुरक्षा प्रबन्ध मिलाएर आइशोलेसन गरिनुपर्नेमा कारागारभित्रैको तीन वटा कक्षमा राखिएको छ । यसले अन्य कैदीबन्दीलाई संक्रमण नफैलिएला भन्न सकिन्न् । अर्कोतर्फ संक्रमण पुष्टि भएका उनीहरुको नियमित हेरचाहका लागि चिकित्सकको टोली खटाइएको छैन् । तत्काल चिकित्सकको टोली चौबिसै घण्टा खटाउन जरुरी छ । त्यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ । यसतर्फ सबै सरोकारवाल निकायको ध्यान पुगोस । कैदीबन्दीको स्वास्थ्यमाथि खेलबाड नहोस ।