हाम्रो ध्येय

नेपालीहरुमा राष्ट्रिय कांग्रेसको ध्येयका सम्बन्धमा अझैसम्म पनि भ्रम रहेको बुझिन्छ । वर्तमान शासन–पद्धतिद्वारा आफ्नो स्वार्थसिद्ध गर्न पाइरहेका हाम्रा विरोधीहरुले हामीमाथि लगाएको आक्षेपको म यहाँ जवाफ दिनु आवश्यक ठान्दिनँ । तर, धेरैजसो इमानदार मानिसहरु पनि हाम्रो ध्येयका बारेमा प्रस्ट घोषणा सुन्न चाहन्छन् । उनीहरुको भनाइ छ, हाम्रो उत्तरदायी शासनको लक्ष्य प्रस्ट भएन । नेपाली राष्ट्रिय कांग्रेसलाई होच्याएर र यसलाई समाप्त पारेर एउटा नयाँ संस्था स्थापित गर्न खोज्ने एक सज्जनले पनि हालै प्रकाशित आफ्नो एउटा पुस्तिकामा हाम्रो उत्तरदायी शासनको मागलाई अस्पष्ट ध्येय भनेर लेखेका छन् ।


मेरो यस लेखको उद्देश्य नेपाली राष्ट्रिय कांग्रेसको ध्येयलाई प्रस्ट पार्नु हो । राजनीतिक शब्दावलीमा विभिन्न राजनीतिक शब्द वा वाक्यका खास–खास अर्थ हुन्छन् । राजनीतिक साहित्यमा अलिकति पनि चासो राख्ने व्यक्तिले ती शब्द वा वाक्यलाई तिनै खास अर्थमा बुझ्दछन् । संसद् वा ‘पार्लियामेन्ट’ भन्ने बित्तिकै यो त्यस्तो सभा हो, जसमा जनताका प्रतिनिधिहरु भेला भएर ऐन–कानुन बनाउँछन् र देशको शासन त्यसैकोे आधारमा चल्दछ भन्ने प्रस्ट हुन्छ । त्यस्तै, उत्तरदायी शासनको पनि खास अर्थ छ । यसको अर्थ हुन्छ, आफ्नो शासनको निम्ति रैती दुनियाँप्रति शासक जिम्मेवार हुनु अर्थात्, राजाले जे मनमा आयो त्यही गर्न नपाऊन् र उनलाई प्रजाको सल्लाहबाट राज्य चलाउन कर लागोस् । रैती–दुनियाँले आफ्नो मनमुताबिक चुनेका प्रतिनिधिहरुद्वारा प्रजाको राय स्थिर हुन्छ । शासन त राजाको नाउँमा चल्दछ तर, ऐन–कानुन प्रजाका प्रतिनिधिहरुले बनाउँछन् र ती कानुनलाई कार्यान्वयन गर्नका लागि आफैँले चुनेर मन्त्रिमण्डल पनि बनाउँछन् । उत्तरदायी शासनको सैद्धान्तिक अर्थ यही हो । हुनसक्छ, व्यवहारमा सानोतिनो परिवर्तन गर्नु पर्ला र आफ्नो देशको इतिहास, प्रतिभा र परम्पराअनुसार माथि लेखिएको अर्थलाई आघात नपु¥याई केही घटबढ गर्नु पनि पर्ला । उत्तरदायी शासनको मुख्य पक्ष ‘शासनमाथि रैती र दुनियाँको इच्छाको अधिपत्य’ नै हो । त्यो अधिपत्यलाई कसरी स्थापित गर्ने वा यसलाई कुन रुपमा राख्ने भन्ने कुरा तपसिलमा आउँछन् । जब रैती–दुनियाँको शक्ति बढी सक्छ र वर्तमान शासक वर्गले उनीहरुको इच्छाको कदर गर्न कर लाग्नेछ, तब रैती–दुनियाँले ठाउँ–ठाउँबाट आफ्ना प्रतिनिधिहरु चुनेर एउटा सभा खडा गर्ने प्रथम काम हुनेछ । यस सभाको काम विधान बनाउनु हुनेछ । अर्थात्, जनताको इच्छा कुन तवरले शासनमा सर्वोपरि हुन्छ भन्ने त्यस सभाले निधो गर्नेछ र त्यस सभाकै निर्णयानुसार शासन प्रणाली पनि निर्धारित हुनेछ ।


हामीले आफ्नो घोषणामा महराजाधिराजको अधिनायकत्वमा उत्तरदायी शासन स्थापना गर्ने भनेका छौँ । उत्तरदायी शासनको सम्बन्धमा माथि नै व्याख्या भइसकेको छ । अब ‘महाराजाधिराजको अधिनायकत्व’ को अर्थ खुलाउन बाँकी रह्यो । हामी प्रस्ट रुपमा महाराजाधिराज राज्यको प्रधान भइरहनुहोस्, उहाँको नाउँमा राज्यको सारा काम चलोस् भन्ने चाहन्छौँ ।  तर, यसको अर्थ, उहाँलाई शासनमा आफ्नो इच्छानुसार हस्तक्षेप गर्ने अधिकार प्राप्त हुनेछ भन्ने होइन । प्रजाका प्रतिनिधिले चुनेको मन्त्रिमण्डललाई शासन गर्ने अधिकार हुनेछ र त्यो महाराजाधिराजकै वैधानिक मातहतमा रहनेछ । जहाँसम्म महाराजाधिराजकै अधिकारको प्रश्न छ, अहिलेको व्यवस्था र पछिको व्यवस्थामा केही फरक हुनेछैन । तर, अहिले उहाँले जसरी सम्मानित कैदीजस्तो हुनुपरेको छ, उत्तरदायी शासनमा भने उहाँलाई पूरा व्यक्तिगत स्वतन्त्रता रहनेछ र प्रत्येक तवरबाट बेलायतको बादशाहसरह नै स्वतन्त्रता रहनेछ । यस सम्बन्धमा प्राइमिनिस्टर (महाराज) मा रहेको शासनमा हस्तक्षेप गर्ने अधिकार प्रस्ट तवरले उहाँबाट झिकेर जनताका प्रतिनिधिहरुलाई प्राप्त हुन्छ भने केही कालदेखि चलिआएको हाम्रो परम्परानुसार प्राइमिनिस्टरलाई पनि महाराजाधिराजजस्तै सम्मानित तर, अधिकारविहीन पदमा रहन दिए केही फरक पर्दैन भन्ने कतिपयको भनाइ छ । एउटा व्यक्तिलाई राजा मान्न हामी तयार छौँ भने अर्को व्यक्तिलाई पनि प्राइमिनिस्टर मान्न तयार हुँदा केही हर्जा हुनेछैन । मुख्य कुरा महाराजाधिराज वा महाराज, दुवैजना रैती–दुनियाँको खटनमा रहनुहुन्छ कि रहनुहुन्न भन्ने हो । यदि उहाँहरु रैती–दुनियाँको खटनमा रहनुहुन्छ भने दुवै रहे पनि केही बिग्रिँदैन । तर, उहाँहरु रैती–दुनियाँको खटनमा रहनुहुन्न भने एउटा मात्र रहनु पनि राज्य र रैती–दुनियाँलाई बिगार्न पर्याप्त छ । तर, अहिले यी सब कुरा केवल सैद्धान्तिकमात्र हुन् । किनभने, मैले प्रारम्भमै भनिसकेको छु, हाम्रा दुईवटा मुख्य काम छन् :


(१)    रैती–दुनियाँलाई सङ्गठित गरेर शासक वर्गले उनीहरुको इच्छासामुन्ने झुक्नुपर्ने गरी शक्ति बढाउने ।
(२)    विधान–परिषद्को स्थापना गर्ने । नेपालको निम्ति कस्तो प्रकारको शासन प्रणाली तयार गर्ने भन्ने निर्णय गर्ने अधिकार यस विधान–परिषद्मा रहन्छ ।


हामी नेपाली राष्ट्रिय कांग्रेसका कार्यकर्ताहरुले पनि आफ्नो उद्देश्यलाई राम्ररी  बुझ्नुपर्छ । हामीहरु जनताको राज्य कायम गर्न खोजिरहेका छौँ । के हामी आफ्नो उद्देश्यको अर्थमा राम्ररी गमेका छौँ ? मलाई कहिलेकाहीँ सम्भवतः हामीले आफ्नो उद्देश्यलाई बुझेका छैनौँ जस्तो लाग्छ । हुनसक्छ, हामीमा वर्तमान शासकप्रति व्यक्तिगत विरोधी भावना मात्र छ वा हामी हाम्रो कुनै अहिंसामा ठेस लागेर प्रतिहिंसाको भाव लिएर जुर्मुराएका छौँ र हामीलाई वर्तमान शासकका ठाउँमा आफैँ पुग्ने अभिलाषाले उत्तेजित पारेको छ वा हामीलाई  युवावस्थामा देखिने प्रवृत्तिले प्रेरित गरेको छ । अन्यथा, हाम्रो राजनीतिक विचार प्राइमिनिस्टर व्यक्तिविशेषका गुण–दोषपट्टि फलानो यस्तो, चिलानो त्यस्तो, त्यो खराब, त्यो असल, फलानो यस्तो भन्नेतर्फ किन फर्किरहन्छ ? त्यसबाट छुटकारा पाएनौँ भने हामी यस प्रकारको मनोवृत्तिबाट व्यक्तिगत झगडामा अल्झिरहन्छौँ र शासन–प्रणाली परिवर्तन गर्ने हाम्रो महान् उद्देश्य त्यसै थन्किरहन्छ । हामीले शाही परिवारलाई विशेष महङ्खव दिनु छैन, हाम्रो लडाइँँ त त्यस शासन प्रबन्धसँग छ, जसले गर्दा एउटा व्यक्ति वा एउटा परिवारको स्वार्थका लागि एक करोड जनताको अहित भइरहेको छ । काठमाडौँको कुन दरबार बलियो हुन्छ र कुन कमजोरको हुन्छ, त्यसमा हाम्रो दिलचस्पी छैन । हामी जनता–जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन्, देशमा सडक, बाटोघाटो, अस्पताल लगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराहरुको अभाव नरहोस्, त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा छौँ ।

अक्टुबर, १९४८ (असोज, २००५)
स्रोत : युगवाणी अङ्क २