कोरोना र क्वारेन्टाइन खर्च

कोभिड–१९ को संक्रमण फैलिएसँगै ‘क्वारेन्टाइन’ शब्दको प्रयोग सबैको बोलिमा आउने गरेको छ । अर्थात ‘कोरोना’ र ‘क्वारेन्टाइन’ शब्द एकअर्काका पयार्य बनेको छ । अझ कोरोना समुदायमैं फैलिन थालेपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो छ ।
 
अंग्रेजी शब्द ‘क्वारेन्टाइन’ ल्याटिन भाषाको ‘क्वारेन्टा जिओर्नो’ बाट आएको हो । जसको अर्थ ‘चालिस दिन’ भन्ने हुन्छ । चौधौं शताब्दीतिर इटालीको भेनिसमा आउने जहाज तथा मानिसहरुलाई ४० दिन अलग्गै राख्न्थ्यिो । त्यत्तिखेर समुद्री यात्राका क्रममा प्लेगजस्ता कुनै महामारीको संक्रमण भए नभएको जाँच गरेर मात्रै उनीहरुलाई समुदायमा प्रवेश दिइन्थ्यो । अहिले सरुवा रोगको संक्रमण नफैलियोस भनेर मानिसलाई अलग्गै राख्ने अभ्यासलाई ‘क्वारेन्टाइन’ का नामले चिनिन्छ ।
 
मेडिसिननेट वेबसाइटका अनुसार मेडिकल साइन्सको भाषामा क्वेरान्टिनको अर्थ संक्रामक रोगको प्रसारलाई रोक्नको लागि कसैलाई केही समयको लागि अलग राख्न भन्ने हुन्छ । मानिसलाई हेर्दा लक्षणअनुसार संक्रमण नभएको तर संक्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइन व्यक्तिगत वा सामूहिक दवै किसिमको हुनसक्दछ । सिडिसिका अनुसार क्यारेन्टाइन भनेको सामान्यतया व्यक्ति वा व्यक्तिहरुको समूहबाट अलग गर्नु हो । यसले सम्भावित सरुवा रोगबाट बचाउँछ । यो कोरोना भाइरसको सन्दर्भमा १४ दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ ।

त्यसैगरी कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनैपनि लक्षण देखिएको छैन भनेपनि पछि गएर लक्षण देखिन सक्छ । रोग संक्रमण नभएपनि हुनसक्ने आशंकामा आफुले आफैलाई अलग राख्ने विधि नै सेल्फ क्वारेन्टाइन हो ।

यदि कुनै व्यक्तिमा संक्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ । नेपालमा कोरोना संक्रमण फैलिएसँगै यसबाट जोगिन संघ, प्रदेश र स्थानीय सरकारले क्वारेन्टाइन सञ्चालन गर्‍यो । कोरोना भाइरससँग सम्बन्धित क्वारेन्टाइनमा राखिने व्यक्ति, पालना गर्नुपर्ने विधि, हुनुपर्ने पूर्वाधार, त्यहाँ सेवारत रहनुपर्ने चिकित्सक र गर्नुपर्ने सबै सुरक्षित उपाय अपनाउने गरी काम गर्न २०७६ चैत १० गते सोमबार उच्चस्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गर्‍यो  । 

मापदण्डले सम्भव भएसम्म घनाबस्तीबाट टाढा, सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको हुनुपर्ने तोक्यो । त्यसैगरी क्वारेन्टाइनमा स्वास्थ्य सामग्रीसहित मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका, प्याराबमेडिक, ल्याव टेक्निसियन, फर्मासिष्ट, २४सैं घण्टा एम्बुलेन्स रहनुपर्ने मापदण्डले तोक्यो । सम्भव भएसम्म सिसिटिभि जडान गरी सुरक्षा व्यवस्था, खाना, शुद्ध पिउने पानीको व्यवस्था, फोहोर व्यवस्थापनका लागि दुई जना सफाई कर्मचारी सहित नुहाउने तथा कपडा धुनको लागी पानी, सफाईको सामानसहित क्वारेन्टाइन खाली भएपश्चात ७२ घण्टासम्म प्रयोगमा नल्याउने र डिसइन्फेक्सन पश्चात मात्र प्रयोग गर्ने मापदण्ड बनाइयो । 

तर त्यही मापदण्ड सिरहामा सञ्चालित क्वारेन्टाइनमा पुरा गरेको देखिएन । लहानस्थित पशुपति आदर्शमाविको क्वारेन्टाइनमा बसेकाहरुले खाना बहिस्कार गरेर विरोध जनाए । कारण, मापदण्डमा उल्लेख भएको न्यूनतम सरसफाई पनि नगरिएको र स्वास्थ्य जाँच नगरिएको भन्दै विरोधमा उत्रिनुपर्‍यो  । त्यत्तिमात्र होइन सिरहा सदरमुकाम क्वारेन्टाइनमा बसेकाहरुले खाना गुणस्तरहीन भएको भन्दै विरोध जनाए । यसले पनि क्वारेन्टाइनको व्यवस्थापन र अवस्था झल्काउँछ । क्वारेन्टाइन सञ्चालनमा सरकारी मापदण्ड कत्तिसम्म पुरा ग¥यो गरेन भन्ने स्पष्ट हुन्छ । तर त्यही क्वारेन्टाइनका लागि सञ्चालनका लागि नगरपालिका र गाउँपालिकाहरुले करोडौं खर्चेको फेहरिस्त सार्वजनिक गरेका छन् । 
 
कोरोना रोकथाम तथा नियन्त्रणमा सिरहाका १२ स्थानीय तहले हालसम्म झण्डै १९ करोडबढी खर्चेका छन् । सबैभन्दा बढी सिरहा नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयँ खर्चेका छन् । सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्चेका छन् । लहान नगरपालिकाले १ करोड ९८ लाख ४ हजार ७८ रुपैयाँ खर्च गरेको छ । जिल्लाका कल्याणपुर नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर र नबराजपुर गाउँपालिकाले तत्काल खर्च विवरण उपलब्ध गराउन सकेका छैनन् । जिल्लामा स्वास्थ्य कार्यालय सिरहा र अस्पतालले गरी कोरोना रोकथाम तथा नियन्त्रणमा २० करोड ९० लाख ४७ हजार ३५ रुपैयाँ खर्च भएको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्लामा स्थानीय तहले यत्तिधेरै धनराशी खर्चेको हिसाब सार्वजनिक गरिदा क्वारेन्टाइनको अवस्था भने बेहाल छ । न्यूतम सरकारी मापदण्ड पनि पूरा गरिएको छैन । यो दुःखदायी हो । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।