बालविवाह विरुद्ध अभियानमा घुर्नी

-

लहान । विवाहबारे परिपक्व नभइकनै १४ वर्षको उमेर विवाह बन्धनमा बाधिन बाध्य भइन लहान नगरपालिका–१३ घलेटोलकी दलित घुर्नी मण्डल खत्वे । माइतिघर सप्तरी हरिपुरबाट घलेटोल अन्माएर पठाउँदा उनलाई त्यत्तिखेरसम्म दुलही बनेको हेक्कै भएन । पराया घरमा कलिलैं उमेरमा जब बुहार्तन सहनुप¥यो बल्ल उनलाई थाहा भयो विवाह भनेको यस्तो हुँदो रहेछ भन्ने । पराया घरमा जनवन (ज्याला मजदुरी)मा खटिनु, घरधन्दा अनि पति र सासु, जेठाजु खटपटनमा बस्नुपर्दा निरक्षर उनलाई समस्या भयो ।

 
त्यतिमैं घुर्नीको दिनचर्या बितेन जब १५ वर्षकैं उमेरमा छोरी मन्जुलाई लहान अस्पतालमा जन्माउन सकस प¥यो त्यो पीडा अहिलेपनि उनी भुल्न सक्दिनन् । मन्जुको जन्मसँगै छारे रोगले पनि उनलाई गाँज्यो । रोगले गाँजेपनि तीन वर्षपछि असार १० मा छोरा कौशल जन्माइन । छोरा कौशल १७ वर्षका छन् उनी कक्षा १० मा पढ्छन् । छोरी मन्जु जनसंख्या विषय लिएर स्नातक पढछिन् । मन्जुको २२ वर्षको उमेरमा धनुषा इक्राहीका रोशनसँग विवाह गरिदिइन ।


१४ वर्षको उमेर विवाह र १५ वर्षकै उमेरमा बच्चा जन्माई हिंसा भोगेकी तिनै ३४ वर्षीया घुर्नी मण्डलले टोलमा ७ वटा बालविवाह रोक्न सफल भइन् । मधेसी समाज, घरको बुहार्तन र गरीबिको कारण चाहेर पनि पहिला उनी स्वतन्त्र रुपमा हिडडुल गर्न सक्दिनथिन । तर जब उनी आफनै गाउँमा गठित महिला अधिकार मञ्चको सदस्य बनिन, त्यसपछि उनि सक्रिय रुपमा परिचालन हुन थालिन । 
‘सुरुमा दलित जनकल्याण युवा क्लवद्वारा सञ्चालित रिफलेक्ट कक्षामा सहभागी भए’ उनले भनिन् ‘त्यहा अक्षर चिन्न र महिला अधिकार, बालविवाहका बारेमा जानकारी भएपछि साहस बढ्यो ।’ घुर्नी भन्छिन्, ‘रिफ्लेक्ट कक्षा लिदैगर्दा आफ्नो विवाह पश्चात पराया घरमा आएर काम बिगार्दा सासु, ससुराले दिएको दु :ख सम्झेर आँखा रसायो, त्यही विगतले मलाई महिला अधिकारका लागि लड्ने प्रेरणा मिल्यो ।’
त्यही पुरानो हिंसा दुव्र्यवहारले गर्दा नै बालविवाह विरुद्ध लाग्ने प्रेरणा मिलेको उनले सुनाईन । ‘बालविवाह कानुनीरुपमा दण्डनीय र शारिरीक, मानसिक रुपमा पनि असर पर्ने थाहा भयो’ उनले भनिन् ‘त्यसपछि आफ्नै समुदायमा बालविवाह विरुद्ध अभियानमा सरिक हुन थाले ।’ 


विगत फर्केर सम्झिन नचाहने उनी भन्छिन् ‘सुरु सुरुमा घरको सासु नेपुर, जेठाजु र पति रामलखनले तालिम, भेलामा जान रोक्थे, तर विस्तारै घरमा सबैलाई सम्झाउँदै बुझाउँदै गएपछि कुरा बुझ्न थालेको र अहिले गाउँ टोलदेखि बाहिरी जिल्लाहरु जानु पर्दा समेत कसैले रोक्दैनन् ।’


बालविवाह गर्नु हुदैन भनेकै कारणले अहिले पनि गा“उमा धेरैले दुश्मनिको भावनाले हेर्ने गरेको र समाज भाड्ने, मेरो छोरीको विवाह भएन भने जिम्मा लिनुपर्छ र मेरी छोरी पोइल गयो भने तैले फर्काएर ल्याउनु पर्छ जस्ता कुतर्कको उनले सामना गर्नुपरेको छ । बालविवाहमा काम गर्दा धेरै चुनौतीको सामना गरेकी उनले समाज क्षणिकरुपमा रिसाएपनि छोरीचेली खुशी भएको देखेर चित्त बुझाउने गर्छिन । 


तालिम, गोष्ठि र बालविवाह विरुद्ध टोल स्तरीय अयिभानमा अन्य महिलाहरुलाई पनि समावेश गराएर यसबारे बुझाएपछि अहिले बालविवाह विरुद्ध आवाज उठाउने महिलाहरुको जमात नै तयार भएकोमा उनले गर्व गरिन । सुरुमा दोष देखाएपनि अहिले आएर घुर्निले रामो काम गरेको भनी प्रशंसा हुदा गर्व लाग्ने गरेको उनले सुनाइन ।


पहिला गाँउघरमा गृहिणीको रुपमा चिनिने घुर्नी मण्डलको परिचय फेरिएको छ । उनी जिल्लामैं सामाजिक अभियन्ताको रुपमा चिनिएकी छन् । अहिले उनी जिल्ला महिला अधिकार मञ्च, सिरहाको सदस्य समेत बन्न सफल भएकी छन् ।