क्वारेन्टाइन सरसफाइमा ध्यान दिऔं

मानवको स्वास्थ्य नै धान हो । सरसफाइ मानव जीवनको पद्धती हो । सरसफाइले सामाजिक प्रतिष्ठा र जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । आधुनिक युगमा सरसफाइलाई मानव स्वास्थ्यसँगै विकासको सूचकको रुपमा मानिन्छ । त्यही भएर नेपालको संविधानले आधारभूत स्तरको खानेपानी र सरसफाई सुविधालाई नागरिकको आधारभूत अधिकारको रुपमा प्रत्याभूत गरेको छ । हालका दिनमा सरसफाइको दायरा फराकिलो भइ प्रतिष्ठा, स्वास्थ्य, विकास निर्माण, जनजीविका, सामाजिक सशक्तिकरण र समृद्धिको आधारस्तम्भको रुपमा विस्तारित भई सरसफाइलाई राष्ट्रिय विकासको अभिन्न अंगको रुपमा लिन थालिएको छ ।

‘सरसफाइ’ मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातावरणीय स्वच्छता कायम गर्ने कार्य हो । यसअन्तर्गत विशेषगरी मानव मलमुत्रको सुरक्षित बिसर्जनका लागि सेवा र सुविधाहरुको व्यवस्थापनलाई लिने गरिन्छ । स्वच्छता फोहोरमैला संकलन र फोहोर पानीको विसर्जन मार्फत स्वच्छता कायम गर्नुलाई बुझाउँछ । अर्थात स्वच्छता भन्नाले आपूm र वरिपरिको वातावरण सफा गरी रोगको विस्तार रोक्नु र बिरामी हुनबाट बच्न अपनाइने सम्पूण व्यवहारहरु हुन् । स्वच्छताले व्यक्ति र समुदायको स्वस्थ आनीबानी समेतलाई बुझाउँछ ।

विश्व अहिले कोरोना भाइरसको जोखिमबाट आक्रान्त छ । चिकित्सकहरुले यो भाइरसबाट जोगिन सरसफाइमा ध्यान दिन सुझाउँदै आएका छन् । हरेक मुलुकले सरसफाइलाई मुख्य प्राथमिकतामैं राखेको छ । सरसफाइमा राज्यले ठूलो धनराशि खर्चेको छ । पछिल्लो पटक कोभिड–१९ बाट जोगिन हरेक व्यक्ति व्यक्तिगत सरसफाइप्रति सजग बनेका छ । हिजोआज देख्नसकिन्छ केही हदसम्म भएपनि व्यक्तिमा हात धुने बानीको विकास भएको छ । सञ्चारमाध्यम लगायत हरेक स्थानीय तहदेखि संघसंस्थासम्म हात धुन, मास्कको प्रयोग गर्न जनचेतनामूलक प्रचार प्रसारमा जुटेका छन् ।


ती निकायले नाक सफा गरेपछि, खोकेपछि वा हाच्छयुँ गरेपछि अनिवार्यरुपमा हात धोऔं भन्ने प्रचार गरेका छन् । त्यसैगरी सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलहरुजस्ता सार्वजनिक स्थानहरुमा गएर फर्केपछ, नगद÷पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि, अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि, खाना खानु भन्दा अगाडि तथा खाइसकेपछि हात धुन सुझाउँदै आएका छन् ।

यसका अलावा सामान्य समय शौचालयको प्रयोग गरिसकेपछि, खाना खानुभन्दा अगाडि तथा खाईसकेपछि, फोहोर मैला छोएपछि, घरपालुवा वा अन्य जनावरहरुलाई छोएपछि, बालबालिकाको डाईपर फेरेपछि वा उनीहरुलाई शौच कार्य गराइसकेपछि, हात फोहोर भएको अवस्थामा साबुन पानीले हात धुन सचेतना गर्दै आएका छन् । यसबाट पनि हरेक व्यक्तिमा हात धुने बानी विकास भएको भन्न सकिन्छ । यत्ति मात्र होइन पछिल्लो पटक सरसफाइका लागि स्यानिटाइजरको प्रयोग हुन थालेको छ ।

चिकित्सकका अनुसार मानिसले सरसफाइमा ध्यान दिने हो भने ३० देखि ६० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ । न्यूनतम स्वास्थ्य मापदण्ड अपनाए रोग्न लाग्नबाट धेरै हदसम्म बच्न सकिने चिकित्सकको भनाइ छ । तर कोरोना भाइरस रोकथाम र न्यूनिकरणका लागि व्यवस्था गरिएका क्वारेन्टाइनमैं यी न्यूनतम सरसफाइमा ध्यान दिनसकेको पाइन्दैन । लहानस्थित पशुपति आदर्श मावि क्वारेन्टाइनमा बसेकाहरुले खाना बहिस्कार गर्नुले यो प्रमाणित गर्दछ ।

क्वारेन्टाइनमा बसेकाहरुले बुधबार क्वारेन्टाइन सरसफाइमा हेलचेक्य्राइ गरेको, नियमित स्वास्थ्य जाँच नगरेको भन्दै खाना नै बहिस्कार   गरे । यो राम्रो काम होइन । क्वारेन्टाइनको नाममा लहान नगरपालिकाले लाखौं रकम खर्चेको नगर सभाको पुस्तिकाबाट समेत देखिन्छ । त्यति रकम खर्चिदा पनि न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउनमा हेलचेक्य्राइ गरिनु दुःखद हो । तसर्थ मानवीय संवेदनामाथि खेलवाड नगरी सरसफाइ र नियमित स्वास्थ्य जाँच गरिनुपर्छ । राज्यको ढुकुटीको क्वारेन्टाइनको बहानामा  दुरुपयोग गरिनुहुन्न । यस मानवीय संकटको घडीमा सबै निकाय, तह, तप्का सजग हुन जरुरी छ । बेलैमा ध्यान पुगोस ।