लहानको नामाकरण र ऐतिहासिक तथ्य

इतिहास


कुनै पनि स्थानको नामाकरणका पछाडि विभिन्न ऐतिहासिक घटना र धार्मिक–सांस्कृतिक तथ्यहरु रहेका हुन्छन् । यसै सन्दर्भमा यस लहान नगरीको नामाकरण सम्बन्धमा पनि विभिन्न प्रकारका किम्वदन्ती, ऐतिहासिक एवं सामाजिक तथ्यहरुलाई नकार्न सकिन्दैन ।


किम्वदन्तीकै आधारमा एक थरीका अनुसार वि.सं. १९९० सालभन्दा अर्थात आज भन्दा झण्डै ८०–९० वर्ष अगाडि पहाडी क्षेत्रका जीविकोपार्जनको थलोको रुपमा रहेकोले भोजपुर, ओखलढुंगा, दिक्तेल, उदयपुरसम्मका कृषक एवं व्यापारीहरु आफ्ना सामान आलु, सुन्तला, कागती, तेजपात, चिराइतो, रिट्ठा, बतावरी एवं घ्यू आदि लिएर दैनिक उपयोगका सामानहरु खरिद गर्नका लागि पूर्वमा रहेको खुट्टीखोलाको किनारमा आई पुग्दथे । जहाँ पहाडबाट आएका सामानहरु खरिद गर्न वा वस्तु साटासाट गर्न तराईका सानातिना व्यापारी पनि त्यहाँ हाटबजार गर्न पुग्दथे । जसमा भाषिक समस्याका कारण कति पटक झैं झगडा समेत हुने गर्दथ्यो । यसै क्रममा उत्पन्न विवादबाट दुवै थरीका व्यापारीहरु बीच मल्ल युद्ध हुने अवस्था सृजना भयो र त्यसै क्रममा पहाडबाट आएका व्यापारी एवं कृषकहरुले आफ्नो रिसको झोक फेर्दै लोहान, लौहान भन्ने शब्द पटक पटक उच्चारण गर्दा पछि यो शब्द स्थानीय जनजिब्रोमा उच्चारित हुन पुग्यो र जसबाट यस क्षेत्रलाई लहान भन्न थालियो ।


तर अर्का थरीहरुको भनाइ अनुसार खुट्टी खोलाको किनारमा लाग्ने हाट गर्न आएका व्यापारीहरुलाई पहाडतिरबाट आएका मतवाली केटा लुटेराहरुले समूह बनाई लुटपाट गर्ने, दु :ख दिने आदि गर्दथे यो कुरा बराबर दोहोरी रहदा ती व्यापारीहरुले दक्षिणका एक चौधरी जमिन्दार वर्गका घरमा गुनासो गरेपछि ती शुरो एवं लडाकु स्वभावका जमिन्दार आफ्ना दलबल सहित त्यहाँ पुग्दा दुवैथरी बीच खुट्टी खोलाको बालुवामा जम्का भेट हुँदा उनीहरुले आ–आफ्ना भाषामा ( ‘गोद’, ‘पछार’ र ‘लौकुट’) भन्ने शब्दहरुलाई ‘बजार अर्थात गोद’, ‘पछार’, ‘लौहान अर्थात ‘लुहिर्काउ त’ भन्ने गरी लौहान+बजारबाट लहानबजार हुन गएको हो ।


तर ऐतिहासिक तथ्यलाई केलाएर हेर्दा लहानको सवैभन्दा पुरानो बस्ती लहान गोठ आजभन्दा करिव ४ सय वर्ष पुरानो सेन वंशी शासकहरुको पूर्वी विजय अभियानसँगै स्थापना भएको देखिन्छ । सेनवंश शासक लौहाङ्ग सेनले खेस्राहाका राजा लंकेश्वरलाई पराजित गरी यहाँ आफ्नो सैन्य दलको लागि हात्ती, घोडा राख्ने गोठको निर्माण गर्न लगाएको र बस्ती समेत बसाउन लगाएको देखिन आउँछ ।


लोहाङ्ग सेन को थिए ?


इतिहासमा प्रसिद्ध पाल्पाली राजा मुकुन्द सेन प्रथमका चार भाई छोरामा जेठा माणिक सेन जो यूवराज थिए । माहिला विनायक सेन, साहिला विछङ्ग सेन जसलाई मृगी सेन पनि भनिन्छ र सवैभन्दा कान्छा छोरा लोहाङ्ग सेन थिए । जेठा माणिक सेन सोझा र सरल प्रवृतिका देखिए तापनि लोहाङ्ग सेन भने वीर, लडाकु र जिवीविषु प्रवृतिका थिए । यिनै लोहाङ्ग सेनले वि.सं. १६० तीर पूर्वी विजय अभियान थालेको देखिन्छ । 


वृटिश इतिहासकार हेमिल्टनले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार लोहाङ्ग सेनले पूर्वी विजय अभियान कै क्रममा अघबारा नदी पार गरी महोत्तरीका राजा मोहन ठाकुरलाई पराजीत गरी करैयनका राजा भावर, खेसराहा (माणिक दहको उत्तर पट्टीको बस्ती) का राजा लंकेश्वरलाई विजय गरेपछि मात्र कोशी क्षेत्रका अन्य सानातीना राज्यहरुलाई विजय गरेको देखिन्छ । अत राजा लंकेश्वरको राज्य सीमा खेसराहा, महोत्तरीका मोहन ठाकुर र करैयनका राजा दुल्लव देवको राज्य बीचमा पर्ने भएकोले उनले यसै खेसराहालाई आफ्नो सामरिक केन्द्रको रुपमा विकास गरी त्यहाँ नजिकै रहेको जलाशय दहलाई जिर्णोद्धार गरी आफ्ना दाजु माणिक सेनको नाममा नामाकरण गरे । त्यहीबाट त्यस दहलाई माणिक दहको नामले हालसम्म जानिदै आएको छ ।


अर्कोतिर उनले खेसराहा राज्यको क्षेत्रमा नै पर्ने हालको लहानगोठको सेरोफेरोमा आफ्नो नाममा लोहाङ्ग गोठको बस्ती बसालेको देखिन्छ । यस कुराको पुष्टि उनले यसै क्षेत्रमा बसेर पूर्वी मोरंग विजय अभियानको लागि राजनीतिक अध्ययन गरेको र त्यहाँको कमजोर अवस्था देखिनासाथ अर्थात मोरंगका राजा विजय नारायणको निधन पश्चात नै ती क्षेत्रलाई विजय प्राप्त गरेको देखिन्छ ।


यसरी पूर्वी विजय अभियानको क्रममा बस्दा लोहाङ्ग सेनले आफ्ना सैन्य बल एवं हात्ती, घोडा एकत्रित गरी संगठन गर्न सुगम पर्ने पहाड र तराईको मध्यमा अवस्थित यस क्षेत्रमा बसालेको बस्ती लौहाङ्ग गोठबाट नै विस्तारै अपभ्रंश हुँदै यस क्षेत्रको नाम लहान रहन गरेको ऐतिहासिक तथ्यलाई इतिहासकार ज्ञानमणी नेपालले पनि सिरहा जिल्लाको लहान बस्ती यिनै लौहाङ्ग सेनको नामबाट रहन गएको भनेका छन् । अहिलेपनि लहानको पुरानो नाम र स्रेस्ताहरुमा यसलाई लहान गोठको नामबाट नै उल्लेख गरिएको पायन्छ । तसर्थ उपयुक्त दुवै किम्वदन्ती भन्दा अघि देखि नै यो क्षेत्र (ठाउँ) लौहाङ्ग सेनको बस्तीको रुपमा रहेको थियो भन्दा कुनै अतियुक्ति नहोला । ऐतिहासिक लहानको विकासमा सबै तह, तप्का अग्रसर हुन जरुरी छ ।

(मारवाडी सेवा समिति, लहानद्वारा प्रकाशित ‘आलोक’ स्मारिकबाट) 
(लेखक जेएस मुरारका क्याम्पस लहानका क्याम्पस प्रमुख हुन् ।)